अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 02:42

आज एकैदिन सरकारी निकायको तर्फबाट १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी भुक्तानी

बिआरटीनेपाल २०८० असार २४ गते ६:५५ मा प्रकाशित

चालु आर्थिक वर्षको सबैखाले भुक्तानी गर्ने आज अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले यस वर्षको सम्पूर्ण सरकारी भुक्तानीका लागि असार २४ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । भुक्तानी दिने अन्तिम दिन आज १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबार सबैगरी (चालुगत,पुँजीगत र वित्तीय व्यवस्थापन) कुल १६ अर्ब २३ करोड २२ लाख रुपैयाँ भुक्तानी भएको हो । योसँगै यस वर्षको बजेट खर्च १३ खर्ब ३३ अर्ब ७ लाख ४२ हजार अर्थात् कुल विनियोजित बजेटको ७४.३१ प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

यद्यपि बजेट कार्यान्वयन गर्ने स्रोतको अभावमा सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत घटाएर १५ खर्ब ८८ अर्बमा झारेको थियो । आइतबार मात्र सबै सरकारी निकायको तर्फबाट ५ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बराबरको भुक्तानी हुँदैगर्दा विकास खर्च कुल १ खर्ब ९० अर्ब ४ करोड ५९ लाख रुपैयाँमात्र भएको छ । यो चालु आर्थिक वर्षका लागि छुट्याइएको पुँजीगत खर्चको ४९.९६ प्रतिशत हो । सरकारले यस वर्ष लक्षित राजस्वको उद्देश्य समेत पुरा गर्न सकेन । चालु आर्थिक वर्षभित्र सरकारले लक्ष्यको ६२.७६ प्रतिशत अर्थात् ८ खर्ब ८० अर्ब ६३ करोड ११ लाख रुपैयाँमात्र संकलन गर्न सक्यो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो ।

प्रतिक्रिया