अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 13:16

म अझै कछुवाको चालमा चलि रहेकै छु । मलाई हतारिएर पुग्नु छैन गन्तव्यमा

आचार्य प्रभा २०८० असार २० गते १८:२४ मा प्रकाशित

नलेखूँ भन्दा नि लेख्ने बानी । मलाई बोलेर समय बर्बाद गर्नुभन्दा लेखेर मनको कुरा फुकाउन सहज लाग्छ। त्यसैले लेख्ने अभीष्ट राख्दैछु । आजकल मलाई सबैले प्राय:निष्कृय ठान्नु हुन्छ लेखन क्षेत्रमा । के गर्ने ? मान्छेको समय, परिस्थिति र दैनिकीहरूमा बदलाव आएपछि समयले जे अह्राउँछ सोही अनुसार गर्न कर लाग्दो रहेछ । उसो त समय परिस्थिति अनुसार नचल्ने मान्छेको काम पनि छैन यो जमानामा । हो, यही अभिव्यक्तिलाई आत्मसात् गर्दै म पनि सोही अनुरूप चल्न रुचाउँछु र चल्छु पनि ।

हो म, अचेल विभिन्न स्थानहरूको कार्यक्रममा सहभागी भएर जमातमा तस्बिर खिचाउन असमर्थ भएकी छु । जब कोरोना अतिक्रमणको ज्यादती बढेको थियो त्यही समय देखी स-शरीर उपस्थिति भएर कार्यक्रम गर्ने परिपाटी नै बन्द भएको थियो । अहिले आएर बिस्तारै फेरि कार्यक्रमहरू हुँदै लेखकहरूको जमघट हुन थालेको छ । सबै जना उपस्थित भएर कार्यक्रम सम्पन्न गर्ने, पुरस्कार लिने, दिने, सम्मान थाप्ने, सम्मान गर्नेहरूको लर्को पनि चारैतिर देखिन थालेको छ ।

आफू त यसै पनि सात समुन्द्रपारिको देशमा त्यही पनि बसाइँ सर्ने क्रमहरूले नयाँ ठाउँमा आफू शून्यमा नै हराइन्छ । आफू परिचित हुनु भनेको अबको समयमा हूलहरूमा देखा पर्नु नै हो । सम्मानित हुनु र पद, प्रतिष्ठा पाउनु भनेको काम गरेर देखाउनु नै हो जो विगत चार/पाँच वर्षदेखि म असमर्थ छु । केवल आफ्नै ल्याप्टप भित्र मनका भावनाहरूलाई फुकाउँदै सन्तुष्टि लिन बाहेक अरू विकल्प छैन मेरो । आक्कलझुक्कल कुनै कुनै कार्यक्रममा जुम मार्फत भर्सक सम्झिएर बोलाई दिनु हुनेहरूको आग्रहलाई नकार्न मन लाग्दैन । साहित्यिक सङ्घ, संस्थाहरू र अन्लाईन साहित्यिक पेजहरू पनि थोरै छैनन् आजकल । भेटे जति र ईच्छा लागे जती सबैमा आफू जोडिँदै आई रहेकी पनि छु । त्यति मात्र नभएर आजकल त विधा नै पछिका पेजहरू छन् । प्राय:छन्द कविताका पेजहरू बाहेक अन्य विधाहरू मुक्तक, कथा, कविता, गजल, छेस्का, बाछिटा, लघुकथा आदिका पेजहरूमा पनि सहभागी हुँदै आई रहेकी छु तर साक्षात् स-शरीर भने कुनै पनि कार्यक्रममा सहभागी हुन असमर्थ भई रहेकी छु कारण विगत ६ वर्षदेखि म आफ्ना छोरीहरूका बालबच्चाहरूको रेखदेखमा व्यस्त छु किनकि आफ्ना परिवार र सन्तानप्रतिको जिम्मेवारी पनि म आफ्नो मुख्य कर्तव्य ठान्छु ।

आफ्नो व्यक्तिगत रहर र उद्देश्यमा मात्र होम्मिनु पनि मान्छेको कर्तव्यदेखि बाहिरको कुरा हुन आउँछ म यस्तै सोचमा सधैँ नै हुन्छु ।
हजुर, मैले किन यस्तो भावना यहाँ पोखेँ भने विगतमा मेरो लघुकथा सङ्ग्रह “विदुर पुरुष”को विमोचन समारोहमा अग्रज दाजु राधेश्याम लेकालीज्यु जो International Nepali Literary Society inls मा पास्ट प्रेसिडेन्ट र अन्य सङ्घ, संस्थामा पनि आबद्ध हुनुहुन्छ अनि निक्कै कृयाशिल व्यक्तित्वले मलाई अलिकति निराशा जनक भावमा भन्नु भयो । -“प्रभा आजकल अनेसासमा पनि त्यति कृयाशिल देखिन्नन् । किन निष्कृय भएकी हुन् ? पहिला लेखन क्षेत्रमा निक्कै सक्रिय देखिने मान्छे । अलिक कृयाशील बन्नु पर्‍यो । “भनेर सुझाव दिनु भयो । मलाई पनि वहाँको यस्तो अभिव्यक्तिले झस्कायो र मैले सहस्र मनन पनि गरेँ। वहाँको उक्त अभिव्यक्ति सत्य पनि हो र मैले वहाँलाई त्यतिबेलै जवाफ पनि दिएँ। -“दाजु चिन्ता नगर्नु होस्। म फेरि अमेरिका गएर उसरी नै लागी पर्नेछु । अनि हाँसेकोसाथ भनेँ म फेरि तहल्का मच्चाई हाल्छु नि ! किन चिन्ता गर्नु हुन्छ ?भनेर ।

तर आजको समयमा तहल्का मच्चाउनु भने भाइरल हुनु, विभिन्न सङ्घ, संस्थाको कार्यक्रममा देखा पर्नु, ग्रुपमा तस्बिर खिच्नु नै रहेछ । म विभिन्न सङ्घ, संस्थाको कार्यक्रममा जान असमर्थ छु यो समय । कारण म केही समय देखी कोलोराडोदेखी बाहिर भर्जिनियामा छु जो मेरोलागी नयाँ ठाउँ हो र यहाँका मित्रहरूसँग परिचय भए पनि म उनीहरू नजिक पुग्न असमर्थ छु । समयको परिबन्दको कारण र म घरकै काम कुरो र नानीहरूको स्याहार सुसारमा व्यस्त छु अचेल ।मैले यही कर्तव्यलाई नै आफ्नो प्राथमिकताभित्र राखेकी छु । कर्तव्यलाई पनि ध्यान दिएमा मात्र आफ्नो उद्देश्य पनि पुरा गर्न सकिन्छ शायद ।

तर यसो भन्दा भन्दै पनि म केही समय चोरेर लेख,रचना सृजनामा आफूलाई समर्पित गरी नै रहेकी हुन्छु ।जो विभिन्न अन्लाईन पत्रिकाहरू र पेजहरूको आग्रहमा पठाई रहेकी हुन्छु ।यो सामाजिक सञ्जालका पेजहरूमा पनि आफ्ना सृजनाहरू राख्न तत्पर नै छु ।

हो म,आफ्नो देशबाट पलायन भए झैँ छु । त्यो मेरो आफ्नो बाध्यता नै भन्छु तथापि म देश गएपिछे कुनै न कुनै विषयको विधाका सङ्ग्रह निकाल्न पनि विदेश बसेकै समयमा प्रयास गरी रहेकी हुन्छु ।र दुई /तीन वर्ष विदेश बसाई पश्चात् म स्वदेश टेक्नसाथ साहित्यिक कार्यक्रमहरूमा सरिक हुने,कार्यक्रम आयोजना गर्ने र लेखनमा रुचि राख्ने भाइ बहिनीहरूलाई सहयोग गर्न तत्पर नै हुन्छु सक्नेसम्म आफ्नो हैसियत अनुसार तर म राजधानीमा भने देखा पर्न सक्दिनँ कारण आफ्नो गाउँ,सहरमा पनि साहित्यिक,सांगीतक माहौल धेरै फस्टाएका छन् जो आफूले पनि सहभागी हुन आवश्यक हुन्छ नै अनि अन्य साहित्यिक माहौललाई पनि सहयोग गर्न आवश्यक पर्दछ। म विगत लामो समय देखी नै साहित्यिक माहौलबाट टाढा रहन सकेकी छैन। मानौं साहित्यिक माहौल,लेखन मेरो जीवनको दोस्रो प्राथमिकताभित्र पर्छ जसलाई त्याग्नु,बिर्सनु भनेको त मैले आफ्नो जीवनलाई निराश बनाउनु समान हो।

हुन त अहिलेको समय नै जुन विषय होस्,जे होस्,जहाँ होस् सबैले सबैलाई प्रदर्शन गर्नु र गराउनु नै आफ्नो र आफ्ना क्रियाकलापहरूको विज्ञापन गराउनु हो। यसो हुनुको माध्यम नै विभिन्न कार्यक्रमहरूमा सरिक भएर तस्बिर खिचाउनु र सामाजिक सञ्जालमा पोस्ट हुनु हो। तर म चाहिँ यसो हुनुमा मात्र साहित्य लेखनमा आफू समर्पित छु भन्ने कुरामा विश्वास राख्दिनँ। नेपथ्यमा बसेर लेखन गर्नु र अन्य साहित्यिक रचना पढ्नु नै लेखन क्षेत्र मा तल्लीन हुनु हो जस्तो लाग्छ र म यसै गर्ने गर्छु।

अँ…मैले किन यस्तो कुरा लेखी रहेकी छु भने म आफ्नो बाल्यकाल देखी नै लेखन क्षेत्रमा रमाउने मान्छे थिएँ र अहिले जीवनको उत्तरार्धसम्म पनि यसैलाई मैले जीवनको मुख्य उद्देश्य सम्झेकी छु यसर्थ साहित्य लेखन भन्ने कुरालाई म चटक्क माया मार्न कहिल्यै सक्दिनँ र मार्दिन पनि ।

मैले बारम्बार यही भाव दोहोर्‍याई रहँदा यहाँहरूलाई दिक्क पनि लाग्नु स्वाभाविक हो मैले यसो भनी रहनुको कारण मलाई कतिपय लेखन क्षेत्रमा लाग्नु हुने अथवा साहित्यका बौद्धिक व्यक्तित्वहरूले निक्कै पटक भनी सक्नु भएको छ ।-“तपाई आजकाल किन हराउनु भो लेखन क्षेत्रबाट ?”भनेर प्रश्न तेर्स्याउँदा मनमा अलिक खल्लोपना चाहिँ छाउँदो रहेछ ।जसले आफ्नो देशमा रहँदा र घरकी श्रीमती,बुहारी,आमा भएर कर्तव्य र बन्धनभित्र बाँच्नु पर्दा पनि लेखनलाई आफ्नो जीवनको मुख्य पाटो सम्झेर अनेकौँ हण्डर र दुख खपेर पनि आफू यसैमा समर्पित बनी रहेँ ।
एउटि नारी भएपछि अनेकौँ कुराहरूको रहर,इच्छा हुन्छ ती सबको पछि नलागी लेखन क्षेत्रमा नै समर्पित बनी रहेँ र विदेश भित्रिएपछि पनि डलर र घण्टाको वास्ता नगरी आफू साहित्यिक सङ्घ,संस्थासँग आबद्ध भएर साहित्यिक यात्रामा नै हिँडी रहेँ तर नेपथ्यमा भएको शङ्का गरिँदा आफ्नो चित्त काटिनु स्वाभाविक हो ।

हो, म दुनियाँ कार्यक्रममा उपस्थित भएर तस्बिरमा उभिन असमर्थ बनेँ र छु यो मेरो आफ्नै परिस्थितिको कारणले हो ।

जब म अमेरिका भित्रिएँ इस्वी सम्वत २००५ मा त्यो समय म एकोहोरिएकी थिएँ ।मलाई साहित्य लेखन भन्ने कुराले बिर्सी सकेको थियो किनकि विदेशमा पसेपछि पहिला आफ्नो जीवन यापनलाई प्राथमिकता दिनु पर्छ ।के गर्ने ? कसो गर्ने ? जीवनको गाडी कसरी अगाडि बढाउने ?भन्ने ध्यान धुन नै हुन्छ सबैमा । स्वदेशमा जस्तो पुर्ख्यौली सम्पत्ति खाएर आफ्नो उद्देश्यको बाटो ताक्न पाइन्न ।हो म पनि साहित्यिक पाटोबाट अलग रहेर आफ्नो बाँच्ने बाटो तिरै लागी रहेकी थिएँ ।

तर अजिङ्गरको आहारा दैवले जुराउँछ रे भने झैँ कोलोराडोबासी ज्ञानेन्द्र गदालजीसँग मेरो भेट् भयो ।जोसँग मेरो नेपालमा हुँदा चिनजान त परै जाओस् भेटघाटसम्म थिएन ।मलाई यति थाहा थियो ज्ञानेन्द्र गदालजी गीतकार हुनुहुन्छ भनेर ।तर मैले कुनै साहित्यिक माहौलमा वहाँलाई नेपालमा भेटेकी र सुनेकी थिइनँ ।वहाँसँगको भेटले मलाई साहित्यिक माहौलमा फेरि डोर्‍याई दियो ।त्यो समय वहाँ २००३ देखि नै अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष हुनु हुँदो रहेछ ।वहाँसँगको भेटमा वहाँले -“अहो! प्रभाजी तपाई त मलाई चाहिने मान्छे हुनुहुँदो रहेछ ।ल यो च्याप्टरको आजीवन सदस्यता लिई हाल्नु होस् त !”भनेर हामी बूढाबूढीलाई $२०० लिएर अनेसासको आजीवन सदस्य बनाई दिनु भो । त्यहाँ देखी फेरि मेरो साहित्यिक यात्रा सुरु भयो । मलाई पनि लेख्ने र साहित्यिक कार्यक्रमहरूमा जाने मौका मिल्यो । यस्तो वातावरण जुराउँनु हुने ज्ञानेन्द्र गदालज्युप्रती म सधैँ अनुगृहित छु ।

यस्तो साहित्यिक माहौलमा पसेपछि मलाई पनि जीवनमा कहिल्यै मौका नमिलेको एउटा कविता सङ्ग्रह निकाल्न रहर जाग्यो । हुन त लेखेका कविताहरूको चाङ्ग कति थिए थिए तर तिनीहरूले सजीवता पाउन सकेका थिएनन् ।

अनेसास जस्तो साहित्यिक संस्थाको माहौलमा पसेपछि मलाई पनि जीवनमा कहिल्यै नगरेको काम एउटा कविता सङ्ग्रह निकाल्न रहर जाग्यो । हुन त लेखेका कविताहरूको चाङ्ग कति थिए थिए तर तिनीहरूले सजीवता पाउन सकेका थिएनन् । आफू बाँच्नलाई काम पनि गर्नै पर्ने र आफ्नो रहर उद्देश्यका कामहरू पनि पुरा गर्ने यस्तै परिस्थितिमा इस्वी सन २००८ मा परदेशबाट नामको कविता सङ्ग्रह निकाल्ने अवसर जुर्‍यो। जसमा ज्ञानेन्द्र गदालजी अमेरिकाबाट र नेपालबाट दिदी लक्ष्मी उप्रेतीले सहयोग गर्नु भयो जसमा सुन्दर अनि भावपूर्ण अभिव्यक्ति पोखी दिनु भएर डा ताना शर्माज्यूले ठुलो गुण लगाउनु भो जुन वहाँको आफ्नै हस्तलिपीमा नै प्रकाशित भएको छ उक्त पुस्तकमा।त्यस्तै अन्य अग्रजहरूले पनि आ-आफ्ना अभिव्यक्तिहरू राखी दिनु भयो म वहाँहरुप्रती सधैँ आभारी छु।

यसरी म प्रवासमा बसेर पनि नेपाली साहित्यलाई पछ्याउँदै हिँडी नै रहेकी थिएँ। बर्षपिछे नै देशका मूर्धन्य साहित्यकारहरुको जन्म जयन्ती मनाउने र विभिन्न कार्यक्रमहरूमा पनि समयले साथ दिइन्जेल सहभागी हुन थालियो। यत्तिकै बिचमा अनेसास केन्द्र बिचका केही महानुभावहरूमा २०१० /२०११ ताका के विषयमा मनमुटाब भयो कुन्नि ? अनि चल्न थाल्यो इमेल मार्फत जुहारी। विशेष त्यो जुहारीमा एक जनाले आफ्नो असन्तुष्टि ओकल्न थालेपछि वहाँले केही केन्द्रका महानुभावहरूमाथि गाली गलौजहरुको उपहार दिन थाल्नु भयो। ती गालीगलौजहरूको प्रत्युत्तर केही समयसम्म प्रतिपक्षीले नदिएका पनि होइनन् सम्झाएर,धम्काएर कसरी साम्य हुन्छ ?प्रयास गरियो तर त्यो गालीको बेग रोकिन सकेन। हुन त को जुझ्छन् ?को दोहोरी खेल्छन् ?अन्यलाई केही सरोकारको विषय त भएन तर आफू पनि आजीवन सदस्य बनेकीले केही असर त पर्‍यो नै। कारण आफ्नो इमेल खोल्यो कि त्यही दोहोरीको खबरले टनाटन भरिएको हुने आफ्नो इमेल बक्स। कुनै महत्त्वपूर्ण खबर हेर्न बिहानै इमेल खोल्यो शुरुमै त्यस्तै दोहोरीको तथानाम शब्दहरू। अत्तिले पराकाष्ठा नाँघ्न थालेपछि मलाई मात्र होइन केही मानिसहरूलाई जो जो सदस्य बनेका छन् सबैलाई नै दिक्क लाग्न थाली सकेको थियो।तर वहाँ किन त्यसरी रुष्ट हुनु भयो ?त्यसको पछाडि आफ्नै कथा,व्यथा होला। चित्त बुझ्न नसक्नु स्वाभाविक हो। जब संस्थामा म,मेरो मात्रको हाबी हुन्छ त्यहाँ असन्तुष्टि पक्कै जन्मन्छन् तर रिसावेगले दोहोरी खेल्नाले चाहिँ सबैलाई नमज्जा नै भयो।

मलाई त मेरो सरोकारकै साहित्यिक संस्था भएकोले मैले सहनु र स्विकार्नु ठिकै थियो। तर मेरा छोरीहरूको इमेलदेखि मेरा श्रीमानको ईन्बक्स पनि भरिभराउ हुन थाल्यो। हामी आजित नै भई सकेका थियौँ। अत्ति भएपछि मेरा छोरीहरू पनि मसँग रिसाउन थाले। यसरी अनेसास केन्द्रकाहरु यस्तै नौटंकीमा व्यस्त देखिन थाले। कामभन्दा हल्ला र दोहोरी बढी हुन थालेकाले प्राय:हामी लेख्न चाहनेहरू पनि यो संस्थादेखि निरस बनी सकेका थियौँ। यसरी चल्दैथ्यो हामी यो साहित्यिक संस्थाभित्रको छाहारीमुनी। न निल्नु न ओकल्नु नै भयो हामीलाई त्यो समय अनेसास।हुन त पुरानो कुरा दोहोर्‍याएँ म माफी चाहन्छु । तर इतिहासको कथाले नै त बर्तमानलाई सहज बनाउने हो। चित्त दुखाई,नबुझाई हो भने लेखेर पोख्नु राम्रो हो तर साहित्यिक संस्थालाई दोषको भागीदार बनाएर मुद्दा मामिला बनाई पक्ष र विपक्ष बनेर लड्नु शर्मनाक कुरा थियो।

तर दुर्भाग्य ! यो काण्डमा म पनि मिस अण्डरस्ट्याण्डिङ्गको सिकार भएँ त्यो समय । मैले त्यतिका दुई वर्ष संस्थामा दिएको योगदान पानीमा मिले झैँ भयो। म निराश झैँ भएँ तथापि मैले अनेसास कोलोराडो च्याप्टरलाई उत्साह र प्रेरणा दिई नै रहेँ । कुनै दिन सत्यता बाहिर आउने छ भनी। म मौन नै बनेँ र आजसम्म म मौनतामा नै बसिरहेकी छु। यो चित्त बुझाइमा कि समय पक्कै आउने छ। कुनै दिन मेरो यो संस्थाप्रतिको सकारात्मक पक्षलाई सबैले मनन गर्ने छन् भनेर ।

त्यही बिचमै २०१० देखी ११ सम्मको कोलोराडो च्याप्टरको अध्यक्ष पदकोलागी आव्हान भयो । त्यसमा मेरो नाम पनि सिफारिस भएछ । मैले त पत्तो नै पाइनँ । एकचोटी नाम दर्ता भएर अन्लाईन मार्फत भोटिङ्ग सिस्टममा आफू परेको जानकारी पाएँ । मलाई इच्छा भने थिएन उक्त पद सम्हाल्ने । कारण हामी आफ्नै व्यवहारिक समस्यामा पनि जकडिएका थियौँ । मलाई त्यो समय लेख्ने इच्छाभन्दा पनि आफूमाथि आई परेका समस्याले सताई रहेको थियो । अँ त्यो समय अन्लाईन भोटिङमा बिस जनाले भोट दिने क्रममा उन्नाइस जनाले मलाई भोट हालेछन् । आफूले स्थान पाए पनि म नबस्ने नै निर्क्योल गरेँ मैले ।

कोलोराडोको अध्यक्ष पदमा कसैको पनि बस्ने सहमति नहुने जस्तो देखिएपछि कोलोराडोका एक ऊर्जावान्,समर्पित व्यक्तित्व पदम विश्वकर्मा भाइ जो हामी पारिवारिक ढङ्गले पनि नजिक थियौँ। वहाँले कोलोराडो च्याप्टरको अध्यक्ष पद सम्हालेर उक्त संस्थालाई पलायन हुन नदिने बिचार व्यक्त गर्नु भो। वहाँको बिचार पनि सम्मानजनक नै थियो। २००३ देखी २०१० सम्म त उक्त संस्था अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष ज्ञानेन्द्र
गदालज्यु नै हुनुहुन्थ्यो सायद। वहाँ केन्द्रमा जानु भो। यसरी कोलोराडो च्याप्टरको रिक्त भएको स्थानमा आफू बस्ने उद्देश्य र इच्छा वहाँले हामी कहाँ आएर बिसाउनु भो। मलाई अझ त्यो दिन याद छ। वहाँ हामीकहाँ आउनु भएर भन्नु भो। -“ल दिदी हजुरहरूले मलाई साथ दिनु पर्‍यो म अध्यक्ष पदमा बसेर संस्थालाई अगाडि बढाउने निर्णयमा छु। उपाध्यक्षमा केशव सर बसी दिनु हुन पनि म अनुरोध गर्दछु। “भन्नु भयो। हामीले हुँदैन हामीलाई पदमा नै बसेर काम गर्ने इच्छा छैन भन्दाभन्दै पनि पदम भाइको आग्रहको अगाडि केही लागेन र वहाँले हुन्छ भन्नु भो तर हाम्रो सर्त पनि यस्तो थियो। केशव सरले पदम भाइलाई भन्नु भो कि -“कुर्सी ओगटेर मात्र हुन्न काम पनि गर्नु पर्छ। म सधैँ उपस्थित हुन सक्दिनँ अर्काको काम गर्छु त्यही पनि रेष्टुरेण्टको बाह्र घण्टा नै ड्युटी हुन्छ भन्दा पनि बसी मात्र दिनु। मलाई पनि सपोर्ट हुन्छ सरले नभियाए पनि प्रभा दिदीले पनि सरको जिम्मेवारीको काम गर्दा हुन्छ नि। “भनेपछि अनेसास कोलोराडो च्याप्टरको खाली पदलाई पुरा गरेर अगाडि लैजान हामी सबै अग्रसर भयौँ ।

एक प्रकारले निदाई रहेको अनेसास कोलोराडो च्याप्टर पदम भाइको अग्रसरतामा ब्युँझियो। त्यसमा हामीले पनि झक्झकाउँन सघाउने कार्य गर्‍यौँ। साँच्चै पदम विश्वकर्मा भाइको अग्रसरताले उक्त च्याप्टरले मूर्त रूप लिन थाल्यो। हरेक अग्रज साहित्यकार, कविहरूको जन्मजयन्तिहरुमा विशेष कार्यक्रमहरू हुन थाले। हामीले भने जस्तै उपाध्यक्ष पदमा रहेर केशव आचार्यज्यूले समय पूर्ण रूपले दिन सक्नु भएन।कारण वहाँ रेष्टुरेन्टमा सेफको काम गर्नु हुन्थ्यो सो काम अन्य कामभन्दा धेरै जिम्मेवारी र समय पुरै दिनु पर्ने हुन्छ।

तर वहाँको अभावको क्षतिपूर्ति मैले पुरा गरेँ। म पदमा नरहे पनि मैले आफ्नो श्रीमानको जिम्माको काम सम्हालेँ। अरू अन्य पदमा को को हुनुहुन्थ्यो मलाई थाहा भएन। यसरी कोलोराडो च्याप्टरमा साहित्यिक रौनकता बढ्न थाल्यो। उसो त ज्ञानेन्द्र गदालजीले स्थापना गर्नु भएको अनेसास कोलोराडो च्याप्टर २००५ देखी नै आफ्नो साहित्यिक कार्यक्रमहरू लिएर अघि बढी रहेको थियो। त्योभन्दा अगाडि के कसरी चलेको थियो ?म त्योबारे अनभिज्ञ नै थिएँ वा छु। ज्ञानेन्द्रजीको समयमा पनि हामी स-परिवार नै कार्यक्रमहरूमा सरिक हुन्थ्यौं। तर जब ज्ञानेन्द्रजी केन्द्रमा लाग्नु भो अनि कोलोराडो च्याप्टरमा ब्रेक लाग्यो। मैले माथि उठान गरे अनुसार इमेलका दोहोरीको कारण नै सबैमा अनेसास प्रति निराशा छाउन थालेको कारणले कोलोराडो च्याप्टरमा शून्यता छाएको थियो तर यो शून्यतालाई पदम विश्वकर्मा भाइले त्यतिकै निराशामा बदल्न चाहनु भएन र वहाँ लागी पर्नु भो। हामीले पनि साथमा साथ,काँधमा काँध मिलाएर अगाडि बढ्यौँ। जहाँ र जेसुकैमा पनि एक्लोको त के लाग्छ र ? सही सोच र सही कार्यलाई सबैले साथ दिन सक्नु पर्छ नि !

यसरी नै अनेक कार्यक्रमहरू सम्पन्न गर्दै कोलोराडो च्याप्टरमा आफ्नो पदमा रहेर कार्य गर्ने (२०१० देखी २०१२) दुई बर्से कार्यकाल पनि पदम भाइको पुरा भयो । वहाँलाई अब चिन्ता भयो । कोलोराडो च्याप्टरलाई अब कसले सम्हाल्ने ? भनेर। वहाँले मलाई सम्झिनु भएछ। मैले त कुनै पनि पदमा रहेर साहित्यिक बागडोर नसमाउने भन्ने अडिग लिएर बसेकी थिए । कारण त उही हो त्यही इमेलकै दोहोरी । मन नै मरेको थियो । यो संस्थामा लाग्ने किनकि मैले त आफ्नो जीवनको तेह्रौँ/चौधौँ वर्षको उमेर देखी नै लेखन कार्यमा आफूलाई समर्पित गरी सकेकी थिएँ । मलाई सङ्घ संस्थाको पद, मान, सम्मान भन्दा लेखनप्रति विश्वास थियो। मैले नेपालमा हुँदा पनि कुनै सङ्घ,संस्थासँग आबद्ध भएर लेखनलाई अगाडि बढाईनँ । किनकि मैले नेपालमा पनि साहित्यिक संस्थामा राजनैतिक छाया र पद लोलुपताको खिचातानी देखेर अमेरिका पसेकी थिएँ । हुन त हरेक विषयमा एउटा छाता त चाहिन्छ नै ! तर त्यो छातालाई अडिग बनाएर ओढ्ने र ओढाउँनेहरुको सोच निष्पक्ष र निष्कलंक हुनु पर्छ भन्ने मेरो मान्यता छ। मैले पनि घरबाट नै कोठे साहित्यिक यात्रा भनेर एउटा अभियान चलाए । जुन चाहिँ (संस्था भनौँ या नभनौँ) नयाँ आउने लेखन क्षेत्रमा समर्पित हुन खोज्ने भाइ बहिनीहरूको आग्रहमा मैले उनीहरूको अभिभावक भएर डोहोर्याउँनलाई अर्थात् बाटो हिंड्नलाई मात्र उक्त छाहरी निर्माण गरेकी थिएँ जसमा धेरै भाइ,बहिनीहरू समेटिए। पछिबाट म भन्दा अग्रज गुरुहरू र अन्य दिग्गज व्यक्तित्वहरूको पनि आगमन हुन थाल्यो तर समय परिस्थितिवश म २०५४ /५५ सालतिर काठमाडौँ लागें आफ्नै व्यवहारिक कारणले केही समयसम्म त मेरा भाइ, बहिनीले सम्हाले सायद । तर अझै पनि लगभग २५ वर्ष बित्दा पनि म दमक गएकी बेला कोठे साहित्यिक यात्राको नाम लिएर धेरै भाइहरू मेरा अगाडि आउँछन् तर म उनीहरू कतिपयलाई ठम्याउन असमर्थ बन्छु कारण त्यो समय उनीहरू प्राय: टिन एजका थिए । अहिले त उनीहरूलाई नै उमेर, व्यवहारिकताले बुढ्यौलीतिर धकेली सकेछन् । एउटा सपना झैँ लाग्छ मलाई।

यसरी साहित्यकार बन्न नसके पनि र नेपालमा साहित्यको ठुल्ठुलो पगरी भिर्न नसके पनि साहित्यिक क्षेत्रमा मेरो समर्पण र धैर्यतालाई बुझ्ने केही मात्र छन् जो आक्कल झुक्कल म पाउने गर्छु, मलाई ढाडस दिनेहरूको रूपमा।

आज मैले किन पनि आफ्नो लेखन इतिहास कोट्ट्याउन खोजें भने मलाई कुनै ठाउँमा र केही कसैले भन्ने गर्छन्। “तपाई अचेल कता हराउनु भो ?लेख्न छाड्नु भो ? किन लेख्न छाड्नु भो ? “यस्ता यस्ता प्रश्नहरूले म निरस बन्छु। तर म नेपथ्यमा बिलाएकी नै छैन। म घरभित्रको चुल्होचौका गरेर पनि हर दिन सृजनामा रमाउने र सृजना गर्ने गर्छु जो सबैलाई सार्वजनिक गरी रहन जरुरी ठान्दिनँ र जसले साहित्यिक पत्र पत्रिका,अन्लाईन पत्रपत्रिकामा कहिल्यै आँखा पुर्‍याउँदैनन् शायद त्यस्ताहरुकोलागी त म नेपथ्यमै हुन्छु। तर म प्राय साहित्यपोष्टका केही विधाहरूमा कहिले कविता,कहिले लघुकथा,कहिले यौन कथा,कहिले कथा,कहिले गजल,कहिले मुक्तक र कहिले गैर आख्यानका गन्थन लिएर पनि झुल्किई रहेकी हुन्छु। अन्य अन्लाईन पत्रिकाहरूले पनि रचनाहरू मागेर प्रकाशित गरी रहेकै छन्। भिडमा उभिएर विज्ञापन गर्नु मात्र साहित्यमा लागी पर्नु हो जस्तो लाग्दैन मलाई। मौनतामा हराएर पनि साहित्य सृजना मज्जाले गर्न सकिन्छ। जो गरी रहेकी नै छु मैले।

अँ मेरो यहाँ आफ्नो साहित्यको राम कहानी पोख्नुको मुख्य कारण के थियो भने म अनेसासबाट विस्थापित किन भएँ या भएकी छुइन ?त्यसैलाई खण्डन गर्न मैले यो लेख सुरु गरेकी थिएँ। म अनेसासबाट पक्कै टाढिएकी छैन। मैले कोलोराडो च्याप्टरमा अध्यक्ष पदमा बसेर श-शरीर गरेका कामहरूले पनि बताउँछ कि म यो संस्थामा कति समर्पित थिएँ ? भनेर ।

हुन त मलाई पनि लाग्छ कि नेपालमा रहँदा होस् वा अमेरिका २००५ मा भित्रिए देखी लगभग दश वर्ष त निर्लिप्त लागियो अनेसास कोलोराडो च्याप्टरको साहित्यिक संलग्नतामा र विभिन्न पत्र-पत्रिकाहरूमा पनि छाई रहियो । तर जब हामी आफ्नो व्यवहारिक कारणले आफ्नै व्यस्ततामा बाँधियौँ र कोलोराडो छाडेर अन्य स्टेटहरू पनि जान पर्ने बाध्यता बन्यो तब मेरो लेखन कार्य पनि थोरै कम भएको हो कि जस्तो भयो र कोलोराडोको साहित्यिक कार्यक्रमहरूमा स-शरीर उपस्थित हुन सकिएन ता पनि २०१४ मा हामी न्यु योर्क अस्थाई नै सरेका थियौँ तर पनि मेरो अध्यक्ष पदको समय सकिएको थिएन। मैले पद छाडेर जान्छु भन्दा पनि हाम्रो कार्य समितिका भाइ,बहिनीहरू मान्नु भएन र म न्यु योर्क नै भए पनि मैले सामाजिक सञ्जाल या फोन मार्फत आफ्नो च्याप्टरको काम कर्तव्यमा चासो राखी रहेँ उपाध्यक्ष राजु सिटौला भाइसँग ।

सोही समयमा म न्यु योर्क भएकै बखत एक दिन अनायास हाम्रो देशका वरिष्ठ गीतकार/कवि/व्यापार व्यवसायमा नाम जमाई सक्नु भएका आदरणीय दाजु वसन्त चौधरीज्यूको म्यासेन्जरमा फोन आयो । म अचम्मित नहुने कुरै थिएन । मन धर्मर गर्दै फोन उठाएँ । मलाई अचम्म लाग्यो कहिले कल्पनामा पनि नसोचेको व्यक्तिबाट फोन आउँदा म नबर्स पनि भएँ । उठाएँ फोन वहाँसँग बोल्न पनि मलाई अप्ठ्यारो महसुस भई रहेको थियो । तर म छक्क परे वहाँ त यसरी बोल्नु भएको कि हामी वर्षौँ पुरानो भेटी रहने दाजु, बहिनी हौँ । साह्रै फर्साईलो अनि सहज मान्छे लाग्यो ।
वहाँले फोन गर्नुको कारण के रहेछ भने वहाँ न्यु योर्क अनेसास महिला केन्द्रीय सम्मेलनमा सम्मानित हुन आउँदै हुनुहुँदो रहेछ। म यो बारे अनभिज्ञ थिएँ। म आफ्नै परिस्थितिमा व्यस्त भएर होला मलाई आफू अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष भएर पनि अनेसास महिला सम्मेलन (शायद पहिलो होला ) हुँदै छ भन्ने थाहा थिएन हुन त हामी च्याप्टरको । यो कार्य केन्द्रले गर्ने थियो मैले जानकारी नपाउनु कुनै अचम्मको कुरा पनि थिएन। तर उक्त कार्यक्रमकी संयोजक बन्दना कोइराला बहिनीले मलाई सम्पर्क गरेर मसँग पनि केही सहयोग,सुझाव माग्नु भएको थियो। उक्त सहयोग कुनै कुराको नभएर एउटा सानो सहयोग थियो (त्यो रकमको पनि थिएन ) कुनै अर्को विषयको थियो जुन म यहाँ खुलाउन चाहन्नँ या जरुरी ठान्दिनँ पनि।

वसन्त चौधरी दाजुसँग त्यही कार्यक्रममा भेट भयो। म अडियन्सको रूपमा तल बसिरहेकी थिएँ। वहाँ सम्मानित बनेर स्टेजमा बस्नु भएको थियो अन्य महानुभावहरूसँग। मध्यान्तर भयो वहाँ खुत्रुक्क खुत्रुक्क उत्रेर म भएको ठाउँमा आउनु भो। हाम्रो फोनमा कुरा भए अनुसार वहाँको आग्रह के थियो भने अनेसास कोलोराडो च्याप्टरले वहाँको वसन्त काव्य यात्रा कार्यक्रम गर्दिनु पर्ने। मैले पनि आफू न्यु योर्क सरे पनि वहाँको बचन काट्न नसकी हुन्छ म हाम्रो कार्य समितिका पदाधिकारीहरूसँग सल्लाह गर्छु भनेकी थिएँ र उपाध्यक्ष राजु सिटौलासँग सल्लाह पनि भई सकेको थियो। मैले हुन्छ भनेँ वहाँलाई। अनि वहाँसँगै एक जना वरिष्ठ लेखक /कवि पनि आउनु भएको थियो। वहाँले भने हामीसँगै कार्यक्रम भरी बस्ने इच्छा प्रकट गर्नु भएको थियो। बस्नु पनि भयो न्युयोर्कको हाम्रो अपार्टमेन्टमा।

कार्यक्रम तय गरेर हामी बुढाबुढी न्युयोर्कबाट कोलोराडो उड्यौँ। कार्यक्रम हुने भयो हामीले वहाँको कार्यक्रममा $२०। ०० टिकट सिस्टम पनि राखेका थियौँ तर समयको अभाव र खटिने मान्छे अनि सहयोगी हातहरुको अभावले भने हामीले भने जस्तो टिकट बिक्री गर्न सकेनौँ तथापि कार्यक्रम राम्रोसँग गर्ने प्रतिबद्धता त थियो। उपाध्यक्ष राजु सिटौला भाइ त्यो समय काखे छोरा जो ७ /८ महिनाको हुँदो हो। अगाडि छातीमा छोरा भिरेर उक्त कार्यक्रमकोलागी हिउँ र ठन्डीको पर्बाह नगरी धेरै खटिनु भो। हल खोज्न उक्त कार्यक्रममा चाहिने सामाग्री जुटाउन। वसन्त दाइले भन्नु भएको थियो आफ्नो कार्यक्रममा सजावट, बत्तीहरु राम्रो होस् म लागेको पैसा दिन्छु भनेर। उपाध्यक्ष राजु भाइले सक्दो वहाँले भने जस्तै जुटाउने प्रयास गरेर गर्नु भो।

त्यो समयतिर कोलोराडोमा चिसो र हिउँको वर्षाले पराकाष्ठा नाघेको थियो। अत्ति नै चिसोको कारणले बाहिर निस्कने आँट् गर्न पनि असम्भव हुन्थ्यो तर पनि राजु भाइको अथक परिश्रम र हाम्रो टिमको प्रयासले उक्त कार्यक्रम सफल नै भयो तर भन्नै पर्दा हामीले अन्य कोहीबाट सहयोग सद्भाव भने पाएनौँ किनकि त्यति वरिष्ठ मान्छेको कार्यक्रम गर्दा हामीले पनि कोलोराडोका वरिष्ठ मानिसहरूसँग सल्लाह,सुझाव लिनु पर्ने रहेछ। हामी हरिलट्ठकहरू भने टिकट बेच्न,हल खोज्न र अन्य समान जुटाउँतिर लाग्यौँ।

हामीले सम्झ्यौँ यो हाम्रो कर्तव्य हो जबकि हामी च्याप्टरको कुर्सीमा आसीन छौँ भने किन हामीले नै दुख नगर्ने ?भनेर। तर सित्तैमा सल्लाह,सुझाव दिनेहरूको आदर बिर्सिएछौँ र त्यो कार्यक्रममा सानोतिनो समस्या र केही नमिठोपनको अनुभव पनि भोग्नु पर्‍यो तथापि कवि वसन्त चौधरीज्युले आफ्ना कविताहरू आनन्दले वाचन गर्नु भो।

कार्यक्रममा $२० डलरको टिकट भए पनि खानाको बन्दोबस्त पनि थियो। सबैले कार्यक्रम पश्चात् खानपिन गरे। मलाई त्यो समय खट्किएको कुरा के थियो भने कार्यक्रमको अन्तिममा जब कविको कविता वाचन पुरा भयो। वहाँ स्टेजबाट तल दर्शक दीर्घामा उत्रिनु भयो। मैले कार्यक्रम समापन गर्नलाई म स्टेजमा उत्रिएँ। मैले जब माइक हातमा लिएर कार्यक्रम समापन गर्न थालेँ कविज्यूलाई चारैतिर घेरेर हल्ला मच्चिन थाले। मैले माथिबाट कराएँ। -“तँपाईहरु हल्ला नगर्नु होस्। कार्यक्रमलाई समापन गर्न दिनु होस्। “भनेर म अलिक जर्किएर बोलेँ। मैले कार्यक्रम समापन गरी सक्दा नसक्दा कविज्यूलाई त मौरीको गोलाजस्तै भएर छोपेर अघि बाहिर निकाली सकेछन्। त्यत्रो कार्यक्रम गर्न न्युयोर्कबाट प्लेनको टिकट काटी काटी बुढाबुढी कोलोराडो आयौं। दश/बाह्र दिन बसेर कार्यक्रमकोलागी खटियो। तर अन्त्यमा जस्कोलागी कार्यक्रम गरियो वहाँसँग नै पो अन्तिम कुराकानी हुन नपाई मौरीको गोलाले झैँ बेह्रेर फोटो सेसन गर्नलाई हारालुछ हुँदै कति चाँडो बाहिर निकाली सकेछन्।

उक्त कार्यक्रमबाट कोहीबाट रकमको सहयोग नभएपछि टिकेटको मात्र पैसा नपुग्ने भएकाले मैले मेरा तीन वटी छोरीहरू र मेरो भतिज शम्भु आचार्यबाट पनि $ २००. ०० को दरले सहयोग उठाएकी थिएँ। जसरीतसरी कार्यक्रम उतार्यौं हामीले। हाम्रो च्याप्टरका हामी सबैले नै आ-आफ्ना तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्‍यौँ। मलाई त अझ मेरा घर परिवारका सबैले पूर्ण सहयोग गरे पनि।
उसो त अग्रज दाजु कवि वसन्त चौधरीज्युले हाम्रो परिवारलाई पनि कार्यक्रम हुनु अगावै हामीलाई प्राथमिकता दुनु भएकै थियो। न्युयोर्कमा पनि
एउटा राम्रो रेस्टुराँमा बोलाएर साँझको भोजन गराउनु भएर निक्कै बेर हामीसँग भलाकुसारी गर्नु भो। उसरी नै कोलोराडोमा पनि आफू बसेको होटेल म्यारीएटमा बोलाउनु भएर साँझको खाना खाएर हामी बिदा भएका थियौँ।

वहाँले नेपाल आउँदा जसरी पनि वहाँलाई भेट्नु भन्ने बाचा पनि गराउनु भएको थियो। वहाँको शालीनता,शौहाद्रता र अल्पभाषी बोलीले लाग्यो साँच्चै धनाढ्य, व्यवसायी वसन्त चौधरी त्यसै कवि /लेखक भएका होइन रहेछन् भन्ने हामीलाई महसुस भयो। अब नेपाल गएपछि त यहाँभन्दा काठमाण्डौमा सबै व्यस्त हुन्छन्। कसलाई पो भेट्न सकिन्छ र ?फोन गर्‍यो हत्तपत्त कसैको फोन पनि उठ्दैन। उही विशेष काम भएमा मात्र।

अँ म अनेसास कोलोराडो च्याप्टरले आयोजना गरेको वसन्त चौधरी काव्य यात्राको कुरा गर्दै थिएँ। कार्यक्रम समापनको उद्घोष गरेर म स्टेजबाट उत्रिएर हेर्छु त कविज्यू बेपत्ता। लगेछन् मौरीका गोलाले छोपेर खै!कता हो ?वहाँसँग पाल्नु भएको महानुभाव अर्का कविज्यू त न्यु योर्क हाम्रो अपार्ट मेण्ट बाट छुटे पछि त हामी नजिकिन नै गाह्रो भयो।

कविज्यूलाई मौरीको गोलाले घेरेर लगेपछि कहाँ जानु भयो ? कता के भयो ? मलाई थाहा भएन तर हामी घरका र च्याप्टरका सदस्यहरू अचम्मित नै भयौँ। महिनौँदेखि कार्यक्रमको लागी दिमागी, शारीरिक, फाईनान्सेली हिसाबले पनि हामीले कति होमवर्क गरेका थियौँ। तर मुख्य कार्यक्रमका पाहुना नै हराउँदा अचम्मित नहुने कुरै भएन नि ! तर पनि हामीले चित्त बुझायौँ त्यस्तै हो वरिष्ठ व्यक्तित्वहरू सधैँ व्यस्त हुन्छन् र उनीहरूलाई मौरीका गोलाले छोप्नु, बेपत्ता पार्नु कुन आश्चर्य हो र ? हामी धैर्यतासाथ बस्यौँ तर मनमा आश्चर्यको तरङ्ग भने तैरी रह्यो ।

कार्यक्रमको भोलीपल्ट वहाँ स्वदेश फर्किन एयरपोर्ट पुग्नु भएछ र मलाई सम्झिनु भएछ। दिउँसो फोन आयो। हेरेँ हाम्रो विशिष्ट पाहुनाको नै रहेछ। वहाँलाई पनि त्यो स्थिति सृजना हुँदा मनमा खिन्नता त लागेछ। तर त्यस्तो परिस्थिति उब्जाउने वहाँको योजना र बिचार होइन रहेछ। प्रारब्धको अगाडि कसको के लाग्छ र ?मैले फोन उठाएँ। म स्पष्ट र हक्की मान्छे । मैले हेल्लो भन्नासाथ आफ्नो कुरा राख्न सुरु गरेँ । -“हेल्लो दाजु ,के हो ?हजुर त कार्यक्रम नसिद्धी बाटो लाग्नु भएछ त्यस्तो परिस्थितिको सृजना कसरी भयो ?यत्रो कार्यक्रम गरेपछि मुख्य आयोजकसँग बिदाबारी त भइन्छ नि ! हामी त सबै अचम्मित बन्यौँ। “मैले यति भनेपछि वहाँले आफ्नो बाध्यताबारे बोल्नु भो वास्तवमा वहाँ पनि परिबन्द फस्नु भएछ वहाँको कुरा अनुसार। कार्यक्रम सुरु हुनुभन्दा अगाडि कसैबाट उत्सुकता न सहयोग तर कार्यक्रम पश्चात् त सबैले फोटो सेसन गर्न पनि भियाएछन् पछि सामाजिक सञ्जालमा प्रशस्त हेर्न पाइयो ।

अहिलेको जस्तो सामाजिक सञ्जाल त्यति प्रशस्त नचलाउने भएकोले र त्यति अन्लाईन पत्रपत्रिकासँग नजिक नभइएकोले पत्रपत्रिकामा खासै खबरहरू पनि छापिएन तर वहाँहरू मार्फत चाहिँ पुरै खबरहरू छापिएछन् ।

जे होस् कार्यक्रम समापन गरियो। आफ्नो च्याप्टरको धन्न नाक राखियो। किनकि त्यो समय मौसम पनि अत्ति ठण्डा,हिउँको साम्राज्य फैलिएको थियो कोलोराडोमा । बाहिर त निस्की नसक्नु चिसो थियो तथापि अध्यक्ष राजु सिटौलाको त्यो समयको समर्पण म जीवन भरी बिर्सन सक्दिन । छ, सात महिनाको दुधे बालक छातीमा च्यापेर राजु भाइ धेरै खटिनु भएको थियो त्यो बेला।हामी दुई बुढाबुढी भने टिकट बेच्न व्यस्त भयौँ । जे होस् छोटो समयमा कार्यक्रमको तयारी भएको थियो । त्यो समय यस्तो अवस्था आई पर्‍यो कि मैले हाम्रो च्याप्टरका कार्यकारिणी समितिका सदस्यहरूलाई समेत कविज्युसँग राम्रो परिचय गर्ने मौका पाइनँ। कार्यक्रम पश्चात् कविज्यूलाई अरिंगालको गोलाले कता लगे लगे ?यत्तिका वर्षसम्म पनि म अन्योलमै छु। तर वसन्त चौधरी दाजुले थोरै बाध्यता र करकापबारे चाहिँ फोनमै भन्नु भयो ।

खैर जे होस्। नेपालका धनाढ्य तथा एक कुशल गीतकार अनि कवि वसन्त चौधरी दाजुसँग नजिकबाट बोल्ने मौका मिल्यो। वहाँसँगको सामिप्यतामा मैले वसन्त चौधरी एक शालीन व्यक्तित्व र भावनात्मक गुणले परिपूर्ण मान्छेको रूपमा पाएँ। वहाँसँग फोनमा कुरा भए पश्चात् वहाँ बिदा हुनु भयो। मैले त ठानें वहाँसँग आउनु हुने कवि पनि सँगै फर्किनु भो होला भनेर। तर त्यही दिनमा वहाँले पनि कल गर्नु भो। -” म तँपाईलाई भेट्न भोली आउँछु। “भनेर। मैले हुन्छ भनेँ। भोली पल्ट निक्कै बाटो हेर्दा पनि वहाँ आउनु भएन। मैले पनि ठिकै छ नि !आउनु होला। आखिरी हामीले घण्टा हान्न जानु थिएन। दुईचार दिन कोलोराडो नै बस्ने भनेर बुढाबुढी त्यति कार्यक्रमकोलागी मात्र आएका थियौँ ।

अँ निक्कै बेरपछि वहाँ स्वयं त आउनु भएन एक जना नानी जो आचार्य थरकी नै हुन् र उनी पनि दमककै स्व:कवि जीवन आचार्यकी छोरी थिइन् उनी आइन्। “-मलाई फलाना अङ्कलले पठाऊँ भएको भनेर। म त छक्क परे किन आफू नआएर अरू कसैलाई पठाउनु भएको होला ? भनेर। जे भए पनि कार्यक्रमको प्रस्तोता कविलाई त बाध्यता पर्‍यो वहाँ उम्कन पाउनु भएन। तर वहाँको प्रतिनिधिले त आयोजकलाई भेट त दिनु पर्ने। तर त्यसो भएन । त्यो नानीले एउटा खाम झिकेर दिइन् । -“अङ्कलले पठाउनु भएको। “भनेर। मैले सम्झेँ जे होस् कार्यक्रमको खर्च वसन्त दाजुले पठाउनु भएको रहेछ भनेर थापेँ।

एकै छिन बसेर त्यो नानी बिदा भइन्। मैले खाम खोलेर हेरेँ $३०० रहेछ। म अक्क न बक्क परे । कार्यक्रममा लगभग $१००० भन्दा बढी नै खर्च भएको थियो। सबै काम राजु भाइद्वारा भएकोले मलाई हर हिसाबको त्यति यकिन भएन तर पनि हामीले वहाँबाट त्यति मात्र अपेक्षा गरेको भने थिएनौँ । जे होस् मैले अगाडि पनि भनी सकेकी थिएँ लगभग $ ७०० जस्तो मेरा केटाकेटीबाट पनि सहयोग लिएकी थिए ।  टिकट जति बिक्री भयो खाना पिनामा खर्च भयो । जम्मा जम्मी हामीले खानाको बाहेक $१००० जम्मा गरेछौँ । त्यसमा हलको,साउन्ड सिस्टम,ब्यानरहरू अन्य सामाग्रीहरू गरेर के कति पुग्यो वा पुगेन ?सबै राजु भाइको जिम्मामा थियो। नपुगे पनि राजु भाइले के कसो गर्नु भो ? म न्यु योर्क फर्की हालेँ।

जे होस् एक देशकै प्रसिद्ध गीतकार तथा कवि अनि एक उच्च स्तरका व्यवसायीको काव्यिक यात्रा कार्यक्रम गर्न पाएर हामी धन्य भयौँ।कार्यक्रम के कस्तो भयो ?चित्त बुझ्यो वा बुझेन ?त्यो बारे भने हामीले वहाँ र वहाँकै प्रतिनिधिसँग सोध्नसम्म समय नपाउनुले मन भने खल्लो छ अझै।

यसरी मेरो अध्यक्षतामा अनेसास कोलोराडो च्याप्टरमा निक्कै कार्यहरू गरेजस्तो लाग्छ। त्यो समयमा आफूमा पनि उक्त संस्थामा समर्पित हुने निक्कै उत्साह र ऊर्जा थियो अनि आफू बेरोजगार भएको कारणले पनि समय दिन सकी रहेकी थिएँ। तर जे होस् जो आए पनि जसले अध्यक्षताको पद ग्रहण गरे पनि राजु भाइले उक्त च्याप्टरको कार्य एक्लै खटिएर नै सफल पर्दै आउनु भएको मेरो बुझाई छ। म गलत नहुँला पक्कै किनकि मेरो अध्यक्षतामा वहाँ उपाध्यक्ष हुँदा वहाँले कामको सम्पूर्ण भार जिम्मा लिनु भएको थियो ।

उस्तैको हो भने मिडियाभरि राजु भाइको तस्बिर कति छाउँने थियो तर वहाँ त्यस्तो आफूलाई प्रचार प्रसार गरेर अगाडि आउन चाहाने व्यक्ति नभएकाले जसले नजिकबाट राजु सिटौलालाई चिन्यो उसैले मात्र चिन्यो। त्यसैले म भने राजुप्रती अत्ति नै अनुगृहित छु । मेरो अध्यक्षतामा जति पनि कार्यक्रमहरू भए वहाँको ठुलो सहयोग छ । अन्य भाइ, बहिनीले पनि आफ्नो तर्फबाट गरे। त्यस्तै विदेशको ठाउँ काम नगरी बाँच्ने उपाय हुन्न । जसले जति समय दिन सक्यो त्यो पनि काफी नै हुन्छ । यसरी अनेसास कोलोराडो च्याप्टरमा लगभग दुई वर्ष व्यस्त नै भइयो ।

स-शरीर उपस्थित भएर धेरै कार्यक्रमहरू गरियो । नेपालबाट कोलोराडो आउनु हुने कविज्युहरुको स्वागत/सम्मान कार्यक्रमहरू पनि सिफारिस आएसम्म गरियो। यसरी नै दुई वर्ष अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष पदमा संलग्न भएर काम गर्न पाउनु पनि आफ्नो रोजगारी माया मारेर बस्नुलाई म सम्झिन्छु। मैले रोजगारीलाईभन्दा कोलोराडो साहित्यिक परिवेशलाई ज्यादा प्राथमिकता दिएँ भन्नमा म हिच्किचाउँदिनँ। भएको पनि यस्तै हो। तर पनि आफूले ज्यादा विज्ञापन नगर्दा र आफ्नो सपोर्टर नहुँदा ओझेलमा नै रहनु कसैकोलागि काम नै नगरे जस्तो लागे पनि म आफू अध्यक्ष पदमा हुँदा हाम्रो कार्य समितिले गरेका कार्य समितिका सम्झनामा भएका केही कार्यक्रमहरू यहाँ प्रस्तुत गर्न चाहन्छु ।

नोभेम्बर २०१२ – नोभेम्बर २०१४
२० नोभेम्बर २०१२; १०३ औ लक्ष्मी जयन्ती तथा नवगठित कार्यकारिणी समितिलाई कार्यभार हस्तान्तरण
१७ फेब्रुअरी २०१३; सरस्वती पूजा
२१ अप्रिल २०१३; साहित्यकार भरतमणि जंगमसँगको भेटघाट तथा सम्मान कार्यक्रम
१७ जुलाई २०१३; २०० औ भानु जयन्ती, वरिष्ठ कवि तुलसी दिवसको सम्मान तथा “अनुभव र अनुभूति” कृतिको विमोचन
२४ अगस्त २०१३; वरिष्ठ लेखक एवं आख्यानकार ध्रुवचन्द्र गौतमको सम्मान कार्यक्रम सम्पन्न
९ नोभेम्बर २०१३; १०४ औ लक्ष्मी जयन्ती तथा ‘म कसलाई प्रेम गरुँ’ (गोपालजी नेपालीकृत) पुस्तक विमोचन कार्यक्रम
११ जनवरी २०१४; साहित्यकार भेटघाट तथा सम्मान युयुत्सु आरडी शर्मा
८ फेब्रुअरी २०१४; सरस्वती पूजा तथा गीतकार ज्ञानेन्द्र गदालको कृतिहरू ‘झरीपछिको आकाश’ (गीत सङ्ग्रह) र ‘सम्झनाका छालहरु’ (अडियो सिडी) को विमोचन कार्यक्रम
८ मार्च २०१४, विश्व काव्य यात्रा वसन्त चौधरी
१५ जून २०१४; साहित्यकार भेटघाट तथा सम्मान विजयध्वज थापा
२१ जून २०१४; मनु ब्राजाकी एकल गजल वाचन कार्यक्रम
२० जुलाई २०१४; भानु जयन्ती तथा समालोचक खगेन्द्र संग्रौलासँगको साक्षात्कार कार्यक्रम
२ अगस्त २०१४; छन्द कवि रमेश खकुरेलसँगको साक्षात्कार कार्यक्रम
१९ अगस्ट देखि ३१ अगस्ट २०१४; एन्मा नासिया साहित्यिक कार्यक्रम
६ सेप्टेम्बर २०१४; चलचित्र झोलाको प्रदर्शन
१५ नोभेम्बर २०१४; १०५ औ लक्ष्मी जयन्ती तथा नवनिर्वाचित अनेसास, कोलोराडो च्याप्टर कार्यकारी समितिलाई पदभार हस्तान्तरणको कार्यक्रम

मासिक कवि गोष्ठी ‘साहित्य संगम’
३० डिसेम्बर २०१२ केशव आचार्य तथा प्रभा आचार्य, डेन्वर, कोलोराडो
३० मार्च २०१३ कपिल सुवेदी तथा देवी आचार्य, अरोरा, कोलोराडो
२९ जून २०१३ राजेन्द्र सिग्देल तथा सलोना सिग्देल, सेन्टेनियल, कोलोराडो
२९ सेप्टेम्बर २०१३ भूपेन्द्र महत तथा इनु सिजापति, बाउल्डर, कोलोराडो
२२ डिसेम्बर २०१३ विष्णु बस्नेत तथा अपर्णा बस्नेत, वेष्टमिनिस्टर, कोलोराडो
३० मार्च २०१४ भोला शिवाकोटी, अरोरा, कोलोराडो
२० सेप्टेम्बर २०१४ केशव आचार्य तथा प्रभा आचार्य, डेन्वर, कोलोराडो

अहिले पनि म आफू पदमा नरहे पनि कोलोराडोका जुम कार्यक्रमहरूमा जहाँ भए पनि सहभागी जनाउने गर्छु। अहिले समय,परिस्थितिको कारणले म कोलोराडोमा छैन ता पनि त्यहाँको साहित्यिक माहौल र हाम्रो विश्वव्यापी संस्था अनेसास (कोलोराडो च्याप्टरलाई )हृदय देखी नै माया गर्छु। बस् संस्था होइन संस्थाभित्रका केही हल्लीखल्ली र पदलोलुपताको नियत देखी मात्र टाढा हुन खोजेकी हूँ र अझै पनि कोलोराडो च्याप्टरको संरक्षकको रूपमा र अनेसास केन्द्रीय महिला समितिमा समेत म सदस्यको रूपमा आबद्ध छु।

हजुर मैले यतिका बर्षकाबाद पनि किन आफ्नो अनेसासप्रतिको समर्पण र सद्भावलाई यहाँ पोख्न चाहें भने। नेपालमा विगत छ /सात महिना अगाडि मेरो लघुकथा सङ्ग्रह “विदुर पुरुष”विमोचनको क्रममा अतिथिको रूपमा पाल्नु भएको आदरणीय दाजु राधेश्याम लेकालीज्युले अलिकति मप्रति गुनासो व्यक्त गरे झैँ महसुस भयो मलाई। वहाँले आफूले बोल्ने क्रममा भन्नु भयो। -“प्रभा धेरै अगाडि देखी धेरै विधामा लेख्दै आई रहेकी बहिनी आजकल अलिक सुस्ताए जस्ती छिन्। लेख्नु पर्‍यो अझ संस्थाप्रति माया गर्नु पर्‍यो। “भन्ने भाव प्रकट गर्नु भो। वहाँले यसो भन्नु सही पनि हो। किनकि वहाँ पनि हरेक संस्थामा आबद्ध भएर साहित्यिक माहौललाई टेवा दिई रहनु भएको छ र अनेसासमा पनि वहाँ मेरुदण्ड नै भएर कार्य गरी रहनु भएको छ। आफूले आशा गरेका कलमकर्मिको लेखन र संस्थामा लगाव नदेख्दा यसो भन्नु सभाविक हो। मलाई पनि खुसी लागेको छ आफूभन्दा अग्रजले आफूमाथि आशा र भरोसा गर्नु भएकोमा। बस् कुरा यत्ति हो। उ बेला स-शरीर लागी परेर कार्यक्रम गरिन्थ्यो तर
सोसियल मिडियामा त्यति छाईन्नथ्यो र कतै विज्ञापन हुन्थ्यो अहिले जस्तो। अहिले सोसियल मिडियामा हरेक पलपलमा सबै छाउँछन् र काम देखिन्छ। तर म भने नेपथ्यमा रहेर साहित्य सृजना गर्नु र सङ्घ,संस्थामा समर्पित हुनु भनेको विज्ञापनको भर पर्नुमा विश्वास राख्दिनँ।
समर्पण र कार्यशीलता नै हर क्षेत्रको बलियो आधार हो न’कि कसैलाई देखाउनुको होडबाजीमा लाग्नु।

अन्त्यमा म यही भन्छु अनेसास कोलोराडो च्याप्टरले २०१४ मा धेरै कार्यहरू सम्पन्न गरेको आधारमा उत्कृष्ट च्याप्टरको सम्मान पनि केन्द्रले वाशिङ्गन डिसिको कार्यक्रममा हस्तान्तरण गरेको थियो। अझै पनि कोलोराडो च्याप्टरका हरेक क्रियाकलापहरू उत्साहकासाथ भई रहेका छन्। हरेक महिना जुम मार्फत साहित्यिक कार्यक्रमहरू भई रहेका छन् जे होस् अनेसास कोलोराडो च्याप्टर जीवन्त र अजर,अमर रहने छ। गीतकार तथा साहित्यकार ज्ञानेन्द्र गदालज्युले रोप्नु भएको अनेसास कोलोराडो च्याप्टर विभिन्न अग्रज,बौद्धिक व्यक्तित्वहरू डा विजय राज शर्मा लगायत (अन्य यहाँ सबैको नाम इंगित गर्न सकिन्न)ज्युहरुको संरकक्षत्वमा अनि कोलोराडोकै एक शालीन अनि समाज सेवी साहित्य साधक पदम बिश्वकर्माज्युको समर्पण र प्रयासले कोलोराडो च्याप्टरले अझ अगाडि बढ्ने अवसर पाइरहेको छ। भनौँ कोलोराडोबासीले अनेसासलाई धेरै माया गरेर अँगाली रहेका छन्। मलाई पनि कुनै एक समयमा म अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष पदमा थिएँ भनेर कुनै पनि नेपालको राष्ट्रिय मिडियाहरुमा भन्न पाउँदा गर्वित महसुस हुन्छ। त्यो मेरो सौभाग्यकै समय थियो भन्न म रुचाउँछु।

यदि मैले यो भावनात्मक र सारगर्भित लेख लेखेर कसैको अपमान भएमा वा कसैको नाम छुटाएकीमा म आत्मादेखी नै क्षमा प्रार्थी छु। मैले आफ्नो कार्यकालको विवरण दिनु यस मानेमा पनि उचित थियो कि मैले मेरै कार्यकारी समितिका सदस्यहरूलाई पनि आफ्नो हिसाब किताबबाट विमुख राख्नुमा मेरो स्वार्थ ठहरिन्थ्यो । म अध्यक्ष पदमा रहेर कार्य समितिमा रही आफ्नो च्याप्टरलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने र समर्पित हुने सबै भाइ बहिनीहरूप्रति अनुगृहित छु।

विगतमा म पश्चातका समयहरूमा जो जो अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष भएर कार्य गर्नु भयो सबैको कार्यकाल सफल नै भएको हुनु पर्छ। कारण म स्वदेशतिर लागें लगभग ६ /७ वर्षसम्म त्यो समय म यो संस्थाबाट अनभिज्ञ नै रहेँ भनौँ। त्यस्पस्चात राजु सिटौलाको अध्यक्षतामा दुई काल बिति रहेछ। राजु भाइ एक समर्पित र शालीन व्यक्तित्व भएका कारणले अनेसास कोलोराडो च्याप्टरले सफलतामा द्रुत गति लिई रहेको छ। राजु भाइसँग जोडिएका छन् विगतका केही समय देखी ऊर्जावान् युवा भाइ किरण अधिकारी जो हँसमुख र समर्पित व्यक्तित्वका धनी छन्। उनको समर्पण र संस्थाप्रतिको लगावलाई पनि मान्नै पर्छ।

यसरी हामी सबैको होस्टेमा हैंशे गरेर चलेको साहित्यिक संस्था अनेसास विश्वभरि व्यापकरुपमा फैलिएको छ। अझ यो संस्था व्यापक रूपमा
अगाडि बढ्ने छ। अन्त्यमा मलाई ओझेल ठान्नु हुनेहरूलाई म यही भन्न चाहन्छु कि,पुरस्कार र सम्मानले मात्र चिनिनु मेरो लक्ष होइन। म विगत चालिस वर्षदेखि कछुवाको चालमा साहित्य सृजनामा हिँडी रहेकी छु। म धेरै विधामा कलम चलाउने भएको कारणले पनि होला। म एक विधाको मात्र स्थापित कलम बनेर चिनिन नसकेकी। साहित्यमा विविधता हुनै पर्छ लेखिनै पर्छ जस्तो लाग्छ। अन्त्यमा म भन्न चाहन्छु। म बाँचेकै छु लेखनकी प्रतिमूर्ति बनेर।

++++++++++
कोलोराडो (अमेरिका)