चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात भएको छ । अर्थमन्त्री भएको बेला जनार्दन शर्माले सिमेन्ट निर्यातमा प्रोत्साहनको नीति लिएपछि सिमेन्टको निर्यात उत्साहजनकरूपले बढेको हो । भन्सार विभागका अनुसार साउनदेखि जेठसम्मका ११ महिनामा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँको सिमेन्ट र क्लिङ्कर निकासी भएको छ । माघको मसान्तसम्म जम्मा १६ करोड ७० लाख रुपैयाँको सिमेन्ट निर्यात भएकोमा चार महिनामै ५१ करोड रुपैयाँको सिमेन्ट निकासी भएको विभागको तथ्याङ्कले देखाएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा वार्षिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने तथा निर्यातमा आठ प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था गरेको थियो । निर्यात गर्न सम्बन्धित देशबाट गुणस्तर चिह्न लिनुपर्ने हुन्छ । अहिलेसम्म तानसेन र अर्घाखाँची ब्रान्डले भारतबाट गुणस्तर चिह्न लिएका छन् । पहिलो पटक गएको असार महिनामा भारतमा पाल्पा सिमेन्ट निर्यात भएको थियो । नेपालमा ६० वटाभन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् ।