अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 11:03

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर जहाज अवतरण

बिआरटीनेपाल २०८० असार ६ गते ६:२८ मा प्रकाशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ । सञ्चालनमा आएको ६ महिनापछि चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विदेशी वायुसेवाले गरेको यो पहिलो उडानसमेत हो । सिचुवान एयरलायन्सको विमानले पोखरामा असार ८ र ९ गते नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलका लागि चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई चार्टर उडानबाट ल्याएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जना यात्रु बुधबार चीनबाट सिधै पोखरा उत्रिनुभएको हो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दिपा गुरुङ, उदयबहादुर बोहोरा, हरिशंकर चौधरी र जीवन परियार पनि त्यही विमानबाट अवतरण गर्नुभएको छ । सिचुवान एयरलाइन्सको विमान बुधबार नै पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भई काठमाडौंबाट नियमित उडानमार्फत छेन्दु फर्किने तालिका रहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो जेट विमान यसअघि २०२३ जनवरी १ तारिखका दिन हिमालय एयरलायन्सको अवतरण भएको थियो । हिमालयले पहिलो डेमो उडानमा एयरबस ए–३२० विमान काठमाडौंबाट उडाई पोखरामा अवतरण गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू