लघुकथा
सुजाताले छक्क पर्दै भनी रहेकी थिई । -“मलाई त अचम्म लागी रहेको छ। त्यो राज सरकी श्रीमतीलाई क्या हाई सन्चो छ ? बिहान बेलुकी टिकटकमा लाइभ बसेर गफ चुटी रहन्छिन् । नाचेको र गाएको भिडिओ अपलोड भएको भकै। फेरि भिडिओ पिछी लुगा फेर्दै हुन्छिन्। चिन्ता, सुर्ता, बितेको, बगेको केही छैन। कति बिन्दास जिन्दगी ? कसरी पुगेको होला नि ? श्रीमानको जागिर छउन्जेल हाम्रोभन्दा निरीह अवस्था थियो। अहिले हामीलाई खान,लाउन धौ,धौ छ। पिर,चिन्ता उस्तै छ ।”
मालाले हाँस्दै भनी । -“अनि किन नपुगोस् ?हाई सन्चो पनि किन नहोस् ? अहिले त उनी कहाँ? हाम्रो अवस्था कहाँ ? समयको खेल हो। कैले कसको पालो,कहिले कसको पालो। अब हाम्रो पालो सकियो नि!सुजाता । ”
मालाको कुराले सुजाता ट्वाल्ल परी । -“यिनले के भनेकी होला ? कसरी उन्को स्तर एक्कासि हाम्रोभन्दा राम्रो भयो ?”
सुजाता छक्क परेकी देखेर मालाले भनी । -“तिमी किन छक्क पर्छ्यौ ? त्यति पनि बुझ्दिनौ ? हाम्रोभन्दा उनीहरूको स्तर सुधार हुनुमा उन्को श्रीमानले जिन्दगी भरी स्कुलमा घोक्रो सुकाएर पढाएको फाइदा अहिले लिंदैछन् नि !”
-“त्यो कसरी त?” सुजाताले फेरि प्रश्न तेर्साई ।
-“लौ ! त्यति पनि थाहा छैन ? लाटी । त्यो सरकारी जागिरको कमाल हो । आधा जिन्दगीसम्म सरकारको सेवा गर्यो । अहिले त्यसैको बदलामा सरकारी जागिरेहरूले पेन्सन गज्जबले पाउँदै छन् । ” मालाले भनी ।
सुजाता बल्ल झस्किई र सोच्न थाली । विगतमा आफ्नो श्रीमान् ठुलै व्यापारी ठानेर धाक लगाएकी र उसले एक दिन उनै सरलाई होञ्च्याएर भनेकी थिई । -“सर यो सरकारी जागिरले कहिलेसम्म पुग्छ ? लुटी ल्यायो भुटी खायो भने झैँ । कहिले तलब आउला ? र मिठो खाउँला भनेर पर्खिनु पर्ने । बरु हाम्राले जस्तै व्यापार, व्यवसाय गर्दा त पैसाको मुख पनि गज्जबले देख्न पाइन्छ । कुनै कुराको अभाव कहिल्यै हुन्न ।”
सुजाता एकोहोरिई रहेकी देखेर मालाले भनी -” सरकारी जागिरलाई हामी निम्न स्तरको कमाई ठान्थ्यौँ नि ! आज त्यसैको परिणाम भोग्दैछौं हामी । यथार्थ यही हो । ”
+__+__ +__+__+
रचना -वैशाख २९ /२०८०
आचार्य प्रभा (अमेरिका)