अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 13:37

कराइरहन्छ ! कराइरहन्छ !!

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० असार २ गते ११:१९ मा प्रकाशित

दिन भन्दैन
रात भन्दैन
साँझ भन्दैन
बिहान भन्दैन
रोएको होकि गाएको ?
खाए पनि कराउँछ
नखाए पनि कराउँछ
बोको पाए पनि कराउँछ
बोको नपाए पनि कराउँछ
सधैँ म्याँ…म्याँ……
यो बाख्रो !

टाट्नामा सिंग ठोकिरहन्छ
टाट्नै टोकिरहन्छ
टाँडमा खुट्टा ठोकिरहन्छ
टाउको बटारिरहन्छ
कान फड्कारिरहन्छ
नाक बजाइरहन्छ
पुच्छर हल्लाउँदै / फन्फनिँदै
मल छरिरहन्छ
जल चढाइरहन्छ
चुप लाग्दैन एकैछिन- कराइरहन्छ
सधैँ म्याँ…म्याँ…
यो बाख्रो !

पेटमा चुर्ना परेर होकि ?
चिउमा किर्ना चरेर हो ?
जुम्राले टोकेर होकि ?
लिखा, भुसुना र झिँगाले डसेर हो ?
मडारिन्छ/ उचालिन्छ/ पछारिन्छ
चिच्याइरहन्छ सधैँ – म्याँ…म्याँ…
यो बाख्रो !

किलामा बाँध्यो – किलै उखेल्छ
दाम्लाले कस्यो – दाम्लै बटारेर चुँडाल्छ
चर्न फुकायो – भिरतिर दगुर्छ
चौरमा मुख गाड्दैन
डाली डाली खोज्छ
आँखा झिमिक्क पार्न दिँदैन
भेटे अँगेरीका मुन्टा लुछ्छ
बाँको भेट्यो कि कोपरिहाल्छ !
अजिबको यो बाख्रो !

औषधि निल्दै निल्दैन
हातले धकेल्यो- हातै टोक्छ
बल गर्दा सिंग तेर्स्याउँछ
झनै चिच्याउँछ – कानै फुट्ने गरी
म्याँ…म्याँ…म्याँ…!!
यो बाख्रो !

जन्तुहरूमा पनि कुनै त
कस्ता अचम्मका हुँदारहेछन् !
बोटका ऐजेरुजस्ता !
लहराका ऐरेलुजस्ता !
कुनै उपचारले निको नहुने
सधैँ कन्याइरहनुपर्ने
जिउका दाद र लुत्तोजस्ता !!
—————-
गोरखा, लप्सीबोट ; हाल : काठमाडौँ- ६ , सरस्वतीनगर ।