जापान सरकारले राजधानी टोकियो सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य १० लाख येन दिने भएको छ । ग्रामीण भेगका घरहरू खाली हुने क्रम बढेपछि सरकारले टोकियो सहर छाडेर ग्रामीण भेगमा जानेहरूलाई १० लाख येन अर्थात् झन्डै सात हजार डलर दिने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।सहरी क्षेत्र छाडेर ग्रामीण भेगमा जाने परिवारका कम्तीमा एक जना सदस्यले रोजगार गर्नुपर्ने वा ग्रामीण क्षेत्रमा आफ्नो व्यवसाय सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ । ग्रामीण क्षेत्रमा बसाइँ सर्ने परिवार कम्तीमा आउँदो पाँच वर्ष सहरी क्षेत्रमा बसाइँ सर्न पाउने छैन ।
सरकारी तथ्याङ्कअनुसार जापानमा रहेका ८० लाखभन्दा धेरै घरमध्ये झन्डै १३ प्रतिशत खाली छन् । खाली घर सबै ग्रामीण क्षेत्रका हुन् । ग्रामीण क्षेत्रमा मानिस बस्ने घरमा पनि एउटा घरमा एक/दुई जनामात्रै रहेका बीबीसीले जनाएको छ । जापानमा जनसङ्ख्या घटिरहेको र मानिसहरू सुविधा खोज्दै सहरमा जाँदा ग्रामीण बस्तीहरू खाली हुने क्रम बढेको हो ।
ग्रामीण क्षेत्रमा राेजगार र उच्च शिक्षाकाे पर्याप्त अवसर छैन । यही कारण युवा पिढी राजधानी टाेकियाे र ओसाकाजस्ता ठूला सहरतर्फ आकर्षित भएका छन् । सन् २०१० मा १३ करोड रहेको जापानको जनसङ्ख्या सन् २०६० मा आठ करोडमा झर्ने अनुमान रहेको छ ।