अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४
| Colorodo: 13:39
कविता
क्षितिज पारीको मौनतामा बसेर तिमिले
अन्याय, अत्याचार र भ्रष्टाचार फैलायो
आफनैहरुको बिचमा पनि
प्रजातन्त्रको लागि भन्दै
क्रान्तिको बीज रोप्यौ
आमाको सिउँदो पुछियो
भाउजूको पोते चुँडियो
पति र पुत्र वियोगको पीडाले आमा
पति वियोगको पीडाले भाउजू
बाबाको अभावले छोरी
सबैको जीवनहरू हराएको छ यहाँ
आर्त र दर्दका पुकारले
जीवनले बाच्न बिर्सेको छ यहाँ
जीवन किन यहाँ यति सस्तो भयो?
रगत कसको लागी बग्यो?
मानव चोला अमूल्य भन्छन्
माटोको माया अमिट हुन्छ
हैन र… ?
जवाफ छैन तिमीसँग
सरोकार भएन अब हामीसँग
नेता भयौ
कानुन निर्माता बन्यौ
भ्रष्टहरूलाई बढवा दिँदै
भ्रष्टाचारीको कुशासन चलायौ
पद पैसा र प्रतिष्ठाको लागि
देशको इज्जतको पनि ख्याल गरेनौ
यसैले,
माफ गर मलाई
तिम्रो मन र मुटुसँग
मैले मितेरी तोडेको छु
अब तिम्रो सङ्घारबाट
मैले पाइला मोडेको छु !