अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतीय नेताहरुले पैसा दिने गरेको आरोप लगाएको छ ।अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै हिन्दु राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको उल्लेख गरिएको हो ।अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको भनिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट अन्तर्गत नेपालको सन्दर्भमा छुट्टै १३ पृष्ठको प्रतिवेदन प्रकाशन गरेको छ । यो रिपोर्ट बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना संकलन गरेको अमेरिकी विदेश मन्त्रालयले दावी गरेको छ ।
प्रतिवेदनमा नेपाल धर्म निरपेक्ष राज्य भनिए पनि वास्तविकता त्यस्तो नरहेको आरोप पनि लगाइएको छ । नेपालको संविधानले नै धर्म परिवर्तनलाई निषेध गरेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदनमा भारतको सत्तारुढ भारतीय जनता पार्टी सम्बद्ध समूहहरुले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राज्यको वकालत गर्न पैसा दिने गरेको दावी गरिएको छ । अमेरिकाालगायत पश्चिमा देशहरुले नेपालमा ईसाइकरणका लागि गरिरहेको लगानीप्रति भने अमेरिकी प्रतिवेदन मौन छ । यता, भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनप्रति आपत्ति जनाउँदै प्रतिवेदनलाई भ्रामक भनेको छ ।