नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ। बैंकले शुक्रबार बिहान त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ।
‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ,’केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा भनेको छ।
बैंकका अनुसार मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाउको छ।