दश बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीन दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठमा रहेकाे क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतवार हिजाे औपचारिकरुपमा सम्पन्न भएको हो ।नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक/अर्को देशमा प्रवर्द्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ।
त्यस्तै महाभारत कालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ।आउँदाे महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टालाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षौँभरि दुवै देशमा विभित्र साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक/अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाउनुभयो । आउँदाे दिनमा थप व्यवस्थित र वृहत् कार्यक्रम गर्ने उहाँको भनाइ थियो । ‘भौतिक विकासलाई मात्रै हामीले विकासका रुपमा लिने गरेका छौँ’, मेयर कोइरालाले भन्नुभयो, ‘भौतिकसँगै भाषा, साहित्य, कला र संस्कृतिको पनि विकास हुनुपर्छ । त्यसो भयो भने मात्रै समृद्धि र संस्कारयुक्त समाज निर्माण हुन्छ ।’
नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक तीन सय ५० वटाभन्दा बढी साहित्यकारको सहभागिता रहेको थियो । महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा र कविगोष्ठीसमेत भएको थियो । महोत्सवमा दुई सय ५० वटाभन्दा बढीले सिर्जना वाचन गरेका थिए।