अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 08:28

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण हिमालको सफल आरोहण

बिआरटीनेपाल २०८० वैशाख ३ गते ६:३४ मा प्रकाशित

कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ । इलाइट एक्सपिडिसनमार्फत उहाँले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो ।अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ ।

पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गर्नुभएको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । “विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ”, उहाँले भन्नुभयो, “आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ ।

पेसाले चिकित्सक रहनु भएकी थानी कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि २०७९ फागुन २२ गते थानी म्याग्दीमा आउनुभएको थियो । कतारको राजपरिवारको सदस्यबाट भएको अन्नपूर्ण हिमाल आरोहणले यस क्षेत्रको पर्यटन प्रर्वद्धन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू