दुलहीजस्तै सिँगारियो दलित बस्ती । बस्तीका मनहरूमा पलाएको झिनो आशा,भोलिको सुन्दर सपनामा मलम लगाउन सफल समाजवाद, साम्यवाद, माक्र्सवाद र लेनिनवादका प्रखर विद्वानले समानता, समृद्घि र पहिचानको आशा भरोसा दिलाए । निर्वाचनमा अत्यधिक मतले विजयी भए ।
ठूलो र फराकिलो घर हुँदाहुँदै पनि पहिलो बैठक उनले जनताको लागि जनताकै चौतारोमा राखे । भोजको आयोजना गरियो । निकै आग्रह गरे पनि स्वास्थ्यको कारण खान मानेनन् ।
हरेक पटकका भोजभतेरमा तिनका बाहना गर्न सिपालु विद्वान नेताज्यूलाई जनताले परीक्षा लिने निर्णय गरे । बाहुन बस्तीमा भाडामै बाहुन ल्याएर भोज आयोजना गरेका दलितले भोज खुवाउन सफल भए । चुठ्न जाने बेलामा भान्सामा दलितका जमघट देखेका नेताले थाल पछार्दै भने–‘लौन नि बित्याँस पारे ।’ हतार हतार गाईको भकारोमा गई गौमूत्रले आफूलाई चोख्याउँदै थिए । समानता र समृद्घि दोबाटोमा लम्पसार परिरहेको थियो । अब भन्नोस् दलितका बस्तीमा भविष्यको सुन्दर चेहरा देखापर्ला ?