नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाएका छन् । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका ५ सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए । पर्यटन प्रवद्र्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको रेवाल पोखराले जनाएको छ ।
महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्याली निकालिएको थियो । रेवानका होलीका क्रममा देशको संस्कृतिको बारेमा जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको रेवानले जनाएको छ ।