अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 04:45

साहित्यकार प्रकाश श्रेष्ठका दुई कृति: “सुन्तलीटार कथासङ्ग्रह र शान्ति उपन्यास “एक अध्ययन, विश्लेषण

रश्मि भट्ट २०७९ फागुन ८ गते १२:५१ मा प्रकाशित

नेपाली साहित्यमा कलम चलाउने अनगिन्ती साहित्यकारहरु मध्ये धेरैको पहिलो रोजाइ विधागत हिसाबले कविता, कथा, गीत, मुक्तक अनि उपन्यास र खण्डकाव्य, महाकाव्य नै हो । त्यस्तै गरी पछि उदाएका अनगिन्ती विधामा पनि लेखकको रुची बढ्दै गएको छ । कवि, कथाकार, उपन्यासकार ,समष्टिमा साहित्यकार प्रकाश श्रेष्ठको “भने मैले पहिले नै कथा र उपन्यास पढ्ने मौका पाएकी छु । “सुन्तलीटार” नामक कृति जम्मा जम्मी दश कथाहरूको सँग्रह हो । तसर्थ, यसलाई पढ्न अति लामो समय लगाउनु पर्दैन । बस् पढेको समय ध्यान दिन सके पुग्छ । सरल, सहज भाषा शैलीमा लेखिएको सुन्तलीटारका दसैँ कथाहरूमा धेरैजसो नेपाली, ग्रामीण, सहरिया सबै परिवेशको विषयवस्तु, घटना, पात्र तथा चरित्र प्रस्तुत गरिएको छ । त्यो पनि काल्पनिक उडान नभरी यथार्थ धरातलमा बसेर लेखिएका यी कथाहरू सामाजिक, यथार्थवादी कथा हुनुको साथै प्रेम, मानवता, देशमै बसेर केही गर्नुपर्ने, मानव सत्य र असल व्यवहारको हुनुपर्ने कुरामा जोड दिइएको छ । कु-पात्र कु-प्रथा तथा कु-चरित्रको अन्ततः हार नै देखाइएको छ । वास्तविक जीवनमा पनि यस्ताहरूको हार हुनै पर्छ, सत्यको जीत भए मात्र सबैलाई राम्रो रमाइलो लाग्छ । सत्य मानिस र सत्य व्यवहारको समाजमा वर्चस्व रहोस् भन्ने कथाकारको उद्देश्य छ । रूप, यौवन, जवानी तथा धनको घमणडले मानिस कुन अवस्थामा पुग्छ भन्ने कुरा अभिमानी कथा र रूपा पात्रले स्पष्ट पारेको छ ।

त्यस्तै अधुरो प्रेमले पुरा हुन नसकेको एक जोडीको प्रेम ,सुन्तलीटारले विकास सेवा, सहयोगी भाव र सत्कर्मले कसरी बिजोग गाउँको रूप फेरिएर सुन्तलीटर रहन गएको देखाइएको छ भने प्रायश्चित कथाले छोरा मात्र पाउने चाहने हाम्रो समाजलाई आँखा देखाएको छ । छोरीको महता जनाएको छ । सम्बन्ध, प्रतीक्षा,पश्चात्ताप, मिलन,जीवन ,समर्पण आदि कथाहरूले पनि शीर्षक अनुसार विषयवस्तु घटनाक्रमको राम्रो शृङ्खला बुनेर शीर्षकलाई सार्थक गरेका छन् ।कथाको आवरण चित्र ,देखि लिएर एक दुई अक्षर बाहेक भाषा शैली सम्पादनमा पनि दोष लगाउने ठाउँ छैन । कथाहरूको छुट्टै आनन्द लिन पाठकहरूले एक पटक आफै कथाहरू राम्रोसँग पढ्नुपर्छ । सक्दो धेरै पुस्तकहरू पढ्नुपर्छ। समालोचना वा कसैले वर्णन गरेको छोटो मीठो सानो आलेखले मात्र कदापि पुग्न सक्दैन । असल पुस्तकहरू समय भएसम्म जति पढ्यो उति हाम्रो दिमागमा ज्ञान चक्षु भरिँदै जाने हो । यसले लाभ बाहेक हानी हुने कुरै छैन ।

यसरी यो “सुन्तलीटार” नामक कथासङ्ग्रह सबैले पढ्नुपर्ने, पढेर फाइदा पुग्ने, कथाभित्रका पात्रहरूलाई बुझेर असल बन्न कोसिस गर्नुपर्ने देखिन्छ । हामी असल बन्यौ भने हामी मात्र नभएर हाम्रो घर, परिवार समाज, देश पनि सभ्य र राम्रो हुन्छ । सबै कथाहरूको खास सन्देश वास्तवमा यही नै हो । मानवता हो, देश प्रेम हो । लेखनको विषयवस्तु आजको नयाँ हु भन्ने पाठकहरूलाई पुरानै ढाँचाको लाग्न सक्ला तर यो जीवनगतमा सधै सधै चाहिने तत्त्व हो । कथाकार यसमा अडिक रहेर कलम चलाउनु भएकोमा आभार व्यक्त गर्न चाहन्छु ।

यसै गरी “शान्ति “उपन्यास शीर्षकले नै हामीलाई मीठो आभास दिन्छ । छोटो, मीठो, राम्रो, महत्त्वपूर्ण दुई अक्षरको शीर्षक आकर्षक छ, पढूँ, पढूँ लाग्छ । आज विश्वमा हराएको नै शान्ति हो, अमन चयन हो । यही नभएर नै हामी सबै मनुष्यहरू दुःख भोगी रहेका छौँ । शान्ति उपन्यास नाम जस्तै पढ्न आनन्द आउने खालको छ, भलै उपन्यास वियोगान्तमा गएर टुङ्गिएको छ । शान्ति उपन्यासकी प्रमुख पात्र शान्ति र उप प्रमुख पात्र सुलभ हुन् । नमात्तिएको, नआत्तिएको, हाम्रो समाज संस्कारले पचाउने सभ्य प्रेममा आधारित यो उपन्यास एकदमै पठनीय छ । सुरुदेखि शान्ति पात्रमा आधारित उपन्यास अन्त्यमा गएर पनि शान्तिकै वियोगमा टुङ्गिएको छ तर पनि उपन्यासकी पात्र पनि शान्ति र शान्तपुर्वक सधै कर्ममा हिँडिरहेका छन् । यस अर्थमा शीर्षक पनि बेजोड रूपले सार्थक छ। उपन्यासको मुख्य सिद्धान्त प्रेम ,मानवता सद्भाव र देश प्रेममा अडेको छ । एक असल लेखकले आफ्ना कृतिहरूमा यो भन्दा बढी अरू कति प्रकाश पार्ने ? चाहिने अनिवार्य तत्त्व भनेको नै यही त हो । बरु अरू अनावश्यक, अतिरञ्जनात्मक कुराहरू त समावेश नगरे पनि हुन्छ ।

शान्तिलाई बास बस्ने क्रममा, घरमा एक्लै भेटिनु, सुलभलाई एक्ली नारी शान्तिसँग बास बस्न अप्ठ्यारो लाग्नु तर शान्तिले नडराई स्वीकृति दिनु, भोलिपल्ट हस्पिटल गएका आमा बाबु नै एक्सिडेनटमा परेर मर्नु, एक्ली छोरी शान्ति सहारा विहीन र शोकाकुल अवस्थामा पुग्नु, यस्तो अवस्थामा एक्लै र दुःखी देख्न नचाहे पनि एक बटुवा, कुनै नाता नपर्ने सुलभले सझाएर आउनु । बिर्सिसक्दा पनि, केही वर्ष पछिको भूकम्पले शान्ति फेरी असहाय भई हिँडेको अवस्थामा भेटी सुलभले सहारा र आश्रय दिनु, एक्ली निःसहाय रूप र यौवनले भरिपूर्ण नारीलाई सेवा र सहयोग बाहेक कुनै पनि गिद्धे नजर नलगाउनु नै सुलभ नामका सुपात्रको उदाहरण हो । उनले शान्तिलाई जीवनको सुरुदेखि अन्तसम्म एकनासले सुख सहयोग दिई रहेको र मरेपछि पनि उनको नामका सबै आर्थिक उनकै नाममा ट्रस्ट खोलेर, सेवामा लगाएर गाउँको नाम नै शान्ति राखिदिनाले सुपात्र मात्र नभएर सुलभ महान् पनि छन् र उनलाई यसो गर्न सघाउने सबै पात्र सत्चरित्र भित्र पर्छन् ।

त्यस्तै शान्ति पनि एक शीतल शान्त, सत्चरित्र, कर्मठ नारी हुन्, उनले अनेकौँ सघर्ष गरेर आफ्नो परिवार मात्र नभै विदेशमा राम्रो जागिर हुँदा पनि पति सुलभकै सहारामा देशमै फर्केर असल कार्य गर्न खोज्दा गोली खाएर मारिन पुगेकी छन् । आफू मरे पनि आफ्ना प्रयोग हुन सक्ने अंगले अर्कोलाई बचाउ गरिदिने बाचा अनुसार उनको मिर्गौलाले उनलाई नै गोली हानेको भनिएको व्यक्ति जीवित हुन पुगेको छ । यो उनको महान् त्याग हो खास उपन्यासको सार संक्षेप पनि यही हो । विदेश आएपछिको कामको अति व्यस्तताले र आफ्नो रोगलाई लुकाउँदै काम गर्ने अवस्थाले एक समय परिवार भताभुङ्ग हुने परिस्थितिलाई पनि सुलभले समालेर भत्कन दिएका छैनन् । यसरी उपन्यास वियोगान्त जस्तोबाट सुरु भएर वियोगान्तमै टुङ्गिएको छ, तापनि जीवनभर जे जति गरिएको छ शान्ति पूर्वक गरिएको छ । कसैलाई पनि दुःख आघात नपुर्‍याई सुख शान्ति र प्रेम छर्न, देशको भलो गर्न खोजिएको छ । एक असल प्रेमी प्रेमिका, विवाह, आमाको आदर, पढाइ, करियर, विदेश जान नचाहने, गएर पनि फर्केर आएर स्वदेशमै काम गरेर देशकै माटोमा मर्नै, सबैमा असल प्रेम, कर्म, मावता र सद्भाव सिकाउने उपन्यास अव्वल छ ।

आजकाल यस्ता असल उपन्यासहरू एकदमै कम पढिने, पुराना, रूढीगत आदर्श ठानिने गर्न थालिएको छ । भल्गर, यौन जन्य विषयवस्तु, अश्लील भाषा शैलीका उपन्यास धेरै पढिने गर्छ पाठक मञ्चबाट, तर पनि हामी असल लेखक कविहरूले हिम्मत र साहस गरेर थोरै भए पनि अमृत बर्षाईरहनुपर्छ । सकारात्मकता र असल चेतना नै प्रवाह गरिरहनुपर्दछ । हल्ला र भाइरल प्रचारको पछि दगुर्नु हुन्न । अनि मात्र हामी उनीहरू भन्दा फरक हुन सक्छौ । उपन्यास विषयवस्तु, भाषा शैली, पात्र चरीत्रतथा देश काल परिस्थिति, शीर्षक सबै कुराबाट परिपूर्ण हुँदा हुँदै पनि डायरीको जस्तै गरी अङ्क, अङ्क र थोरै थोरै पेजमा नराख्न पाएको भए हुन्थ्यो र शान्ति जस्तो सत्पात्रको वियोग नदेखाउन पाएको भयो हुन्थ्यो जस्तो लाग्छ । कतिन्जेल सज्जनहरू अकालमा मरिरहने? उनीहरू आफ्नै कालमा भर्न पाउन्, हुनत: हाम्रो देशको अवस्था नै यस्तो छ, कहिल्यै सुधार हुँदैन जसको शासन आए पनि असललाई बाच्न र कर्म गर्न ठाऊॅ छैन । लेखकले देखाउन खोजेको मुख्य कुरा यो पनि होला । उपन्यासले एउटा नेपाली मध्यम वर्गीय तर शिक्षा र चेतनाले भरिपूर्ण परिवार देश, विदेश हुँदै फेरी कसरी स्वदेशमै सेवा गर्दै मट्टीमा बिलाउँछन् भनेर देखाएको छ । हाम्रो देशमा शान्ति र शान्तिको जस्तै धेरै परिवार होलान् भन्ने अनुमान गर्न सकिन्छ तर शान्तिको जस्तो हालत हुने अवस्था सिर्जना भई रहे देश विकास गर्न चाहने धेरै जना विदेशमै बसिरहनेछन् । अकालमा कोही मर्न चाहँदैनन् । यी सबै कुरा उपन्यासमा छर्लङ्ग छ । साहित्यकार प्रकाश श्रेष्ठको कविता सङ्ग्रह पनि छिटै बजारमा आउॅदैछ । क्रमशः क्रमशः वहाँको कृतिहरू आइरहुन्, हामी पाठकहरू पढ्न पाइरहुॅ । जीवन उमेरको अङ्कले कहिल्यै बुढो हुँदैन, बुढो त हाम्रो मन हो, मन सक्रिय रहेसम्म र आफ्नो सबै काम आफै गर्न सक्दासम्म मानिसलाई बुढो भनिनु पधि हुँदैन भन्ने सही, सक्रिय र सकारात्मक धारणा राख्नुहुने साहित्यकार प्रकाश श्रेष्ठज्यूलाई मेरो पनि यी दुई कृतिको लागि बधाई र आगामी कृतिहरूको लागि शुभकामना व्यक्त गर्दछु । अहिलेलाई यति नै ।