अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 02:35

नेपाली उपन्यासको नवीन क्षितिज: अर्को संसार

युवराज मैनाली २०७९ फागुन ६ गते २१:१५ मा प्रकाशित

बाजुराम पौडेलको साहित्यिक यात्राले लामो दूरी पार गरिसकेको छ । २०२५ देखि लेखनारम्भ गरेर २०३३ सालदेखि प्रकाशनमा देखिएका उनी साहित्यका विविध विधामा आफ्नो बलियो उपस्थिति देखाउँछन् । २०५१ मा ‘सिर्जना फस्टाउँनु पर्छ’ खण्डकाव्यबाट उनी कृतिकारका रूपमा उभिएका हुन् । यसपछिका झन्डै डेढदशकसम्म उनका कुनै कृति देखा पर्दैनन् तर यसबीच पनि फुटकर रचना भने विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरेका पाइन्छन् । साहित्य सिर्जना आफैमा गम्भीर विषय भएकाले यसमा गहिरो अध्ययन र दीर्घ साधना आवश्यक हुन्छ ।त्यसैले होला उनी यो डेढदशकसम्म अध्ययन र साधनामा आफूलाई समर्पित बनाउँदै परिपक्व बन्छन् । पन्ध्र वर्षपछि २०६५ मा ‘बाजुरामका कविताहरू’ कवितासंग्रह प्रकाशित हुन्छ । यस सिलसिलाले केही फेरो र फन्को लिएको आभास दिलाउँछ । उनी आफूमात्र सिर्जना गर्दैनन् प्रोत्साहन र उत्प्रेरणा जगाउने कार्यमा पनि योगदान दिन्छन् । २०६६ मा ‘सुरभि स्रष्टा परिचयकोष ’ को लेखन र स्वयं सम्पादन मार्फत् एकसय सत्तरी जना विविध विधाका स्रष्टाहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूका दुईदुईवटा रचना प्रकाशित गरेर नेपाली साहित्यको इतिहास लेखनमा नौलोपन दिन पनि पुग्छन् ।

तत्पश्चात् ‘शीत–स्वर्ण’ कविता संग्रह २०६८, ‘भन्ज्याङ र चौतारी’ आत्मवृत्तान्त २०६९, ‘शान्ताश्री’ महाकाव्य २०७३, ‘जियालो’ संयुक्त महाकाव्य २०७३, ‘उनी उर्मिला’ महाकाव्य २०७५, ‘निशा’ उपन्यास २०७६, ‘जूनकीरी’ बाल महाकाव्य २०७७, ‘छोडिएका पाइलाहरू’ निबन्धसंग्रह २०७७, ‘अर्को संसार’ उपन्यास २०७८ प्रकाशित भए पश्चात् ‘लुसाको फेरो’(२०७९) र ‘प्रभावती’ (२०७९) दुई उपन्यास पनि प्रकाशनमा आइसकेका छन् । यी प्रकाशित कृतिहरू र अन्य फुटकर लेखनले उनलाई ऊर्जाशील लेखक भन्दा फरक पर्दैन । उनका फुटकर कवितामा देशभक्ति, राष्ट्रियता, जातीय गौरवका भाव अभिव्यक्त भएका भेटिन्छन् । प्रकृति चित्रण सुन्दर किसिमले प्रयोग गर्नु बाजुरामको मुख्य विशेषता हो । ‘सिर्जना फस्टाउँनु पर्छ’ खण्डकाव्य क्रान्तिकारी परिवेशमा उभिएको छ । आफूलाई धोका दिएर परपुरुषसँग सम्बन्ध गाँसी पोइल गएकी श्रीमतीलाई आफ्ना बालबच्चाका लागि सामाजिक मर्यादाको लक्ष्मणरेखा नाँघ्दै पुनः श्रीमतीकै रूपमा स्वीकार गरिएको छ । ‘शान्ताश्री’ र ‘उनी उर्मिला’ महाकाव्य नारीप्रधान महाकाव्य हुन् ।

शान्ताश्री पति हराएर साहारा विहीन, विक्षिप्त र पीडित बनेकी शान्ताश्रीको संघर्षपूर्ण जीवन कथा हो भने उनी उर्मिला महाकाव्यमा आत्मोन्नतिका लागि संघर्ष र विद्रोहमा रहेकी एउटा नारीको कथा हो । यसमा नारी चेतनाको स्वर राम्ररी मुखरित भएको पाइन्छ । अर्को ‘जुनकीरी’ बाल महाकाव्य हो । नेपालको बार्ह वर्षे द्वन्द्वकालको पीडा र यथार्थतालाई विषय बनाइएको छ । महाकाव्य परम्परामा नेपालीमै यो पहिलो बालमहाकाव्य मानिन्छ । यी महाकाव्यमा जीवन अभियान हो, पलायन होइन भन्ने भाव प्रकट भएको पाइन्छ । बाजुरामको साहित्यिक उद्देश्य सुसंस्कृत समाज निर्माण हो । यसैले उनका साहित्यमा समस्या मात्र होइनन् उपायका पथ पनि अवलम्बन गरिएको देखिन्छ । ‘छोडिएका पाइलाहरू’ उनको निबन्ध संग्रह हो । यस संग्रहमा सरल शैली र मिठो प्रस्तुित पाइन्छ । काव्यात्मकताले यसलाई माधुर्य प्रदान गरेको छ । यसमा पनि कवि बाजुरामको प्रभाव स्पष्टै देख्न सकिन्छ । प्रकृति चित्रण, विषययोजन र भावविधानको उचित संयोजन यस निबन्धमा पाइन्छ ।

बाजुराम साहित्य सिर्जना मात्र गर्दैनन् प्रोत्साहन र उत्प्रेरणामा पनि उनको उल्लेख्य भूमिका रहेको छ । आख्यान साहित्यको विकास गर्ने उद्देश्यले ‘सुरभि साहित्य प्रतिष्ठान’ स्थापना गर्दै हरेक महिनाको तेस्रो शनिवार नियमित आख्यान वाचन गराएर आख्यानको विकासमा थप योगदान पु¥याइरहेका छन् । उनकै सम्पादकत्वमा ‘सुलेख’ साहित्यिक मासिक आख्यानप्रधान पत्रिका प्रकाशन भइरहेको छ । यसमा नयाँ, पुराना आख्यानकारहरूलाई निरन्तर प्रकाशन गरिरहेका छन् । ‘सुरभि साहित्य प्रतिष्ठान’मा अक्षयकोष स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको छ । उनी स्वयंबाट पनि अक्षयकोष स्थापना गरेर ‘सुरभि बाजुराम आख्यान साधना पुरस्कार’ हरेक वर्ष प्रदान गरिंँदै आएको छ । यस संस्थाबाट अहिलेसम्म दुई दर्जन प्रतिभाहरू पुरस्कृत र सम्मानित छन् भने राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका बाह्रजना व्यक्तित्वलाई सम्मान र अभिनन्दन समेत गरिएको छ । यसका साथै अन्य संस्थाहरूमा विभिन्न पदमा रहेर बाजुरामले प्रोत्साहकको भूमिका निर्वाह गरिरहेका छन् । उनको योगदानको उच्च मुल्याङ्कन गर्दै विभिन्न सङ्घ—संस्थाबाट उनी सम्मानित, पुरस्कृत र अभिनन्दितसमेत भएका छन् । यिनै बाजुरामको प्रस्तुत कृति ‘अर्को संसार’ छुट्टै विषयमा उभिएको नौलो उपन्यास हो । अहिले यसका बारेमा केही भन्न खोजिएको हो । यसको चर्चापूर्व उपन्यासका विषयमा केही भन्नु सान्दर्भिक देखिन्छ ।

साहित्यका चार विधा कविता, आख्यान, नाटक र निबन्ध हुन् । कवितामा फुटकर कविता खण्डकाव्य र महाकाव्य पर्दछन् । नाटकमा नाटक र एकांकी अनि निबन्धमा प्रबन्ध, निबन्ध, नियात्रा, संस्मरण, जीवनी आदि पर्दछन् । आख्यानमा कथा, उपन्यास र लघुकथा रहेका छन् । आख्यान विधा अन्तर्गत पर्ने उपन्यास पछिल्लो विधा हो । अहिले यसले गद्य महाकाव्यको स्थान लिइसकेको छ । उपन्यासको विकास र विस्तार तीव्ररूपमा भएको पाइन्छ । पूर्वीय साहित्यमा कुनै न कुनै रूपमा रहेको भए पनि पश्चिमी साहित्यमा यसले विधागत रूपमा मान्यता पाएर विश्वव्यापी रूपमा फैलिसकेको छ । विभिन्न विद्वान्हरूले उपन्यासको परिभाषा गरेका छन् । उपन्यासकार विचारक र समालोचकहरूका मान्यता आ—आफ्ना छँदैछन् । सबै विद्वान्हरूको परिभाषालाई सारमा भन्नुपर्दा जीवनका सम्पूर्ण पक्षको चित्रण गरिएको विभिन्न भाग र परिच्छेदमा विभाजित आख्यानात्मक कृति हो उपन्यास । अर्को शब्दमा भन्दा व्यक्तिको जीवनका समग्र पक्षलाई कलात्मक अभिव्यक्तिका माध्यमद्वारा विभिन्न पात्र परिवेश र घटनालाई जोडेर आख्यानात्मक प्रस्तुतीकरण नै उपन्यास हो । एउटा सुन्दर उपन्यासमा देश, काल र समाजको यथार्थ बिम्ब उतारिएको हुन्छ । उपन्यासलाई विषय, प्रवृत्ति, शैली र आयामका आधारमा वर्गीकरण गर्न सकिन्छ । उपन्यासमा कथावस्तु, पात्र, परिवेश, संवाद,उद्देश्य दृष्टिविन्दु र भाषाशैलीमा अत्यन्त सचेत भएर ती तत्वहरूलाई उपयुक्त संयोजन गरिएमा मात्र उपन्यास सवल र सशक्त बन्न पुग्छ । उपन्यासले विश्व साहित्य जगत्मा व्यापकता र लोकप्रियता प्राप्त गरिसकेको पाइन्छ ।

नेपाली साहित्यमा भन्नुपर्दा ‘महाभारत’, ‘रामायण’, ‘स्वस्थानी व्रतकथा’, जस्ता बृहत् धार्मिक ग्रन्थहरू यसका आदिम ग्रन्थ मानिन्छन् । यसमा वर्णित कथा र समग्रता हेर्दा यिनीहरूलाई उपन्यासका आदिम स्वरूप मान्नुपर्ने हुन्छ । विभिन्न समयमा प्रयासहरू भए पनि उपन्यासमा रुद्रराज पाण्डेको उपन्यास ‘रुपमति’ ले आधुनिकता शुभारम्भको श्रेय पाएको छ । यसमा यथार्थ र आदर्शको सजीव चित्रण गरेको पाइन्छ । रुद्रराज पाण्डेपछि लैनसिंह वाङ्देलको उदयले यथार्थवादी उपन्यासमा राम्रो योगदान पु¥याएको छ । उनले एउटा धाराकै प्रतिनिधित्व गरेका छन् । हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ र ‘स्वास्नी मान्छे’ प्रगतिवादी धारामा देखिए भने शंकर कोइराला आञ्चलिकतामा प्रथम प्रयोक्ता बने । विश्वेश्वर प्रसाद कोइरालाले यौन मनोभूमिमा उपन्यास सिर्जना गरी एउटा वादकै नेतृत्व गरे । भवानी भिक्षु, विजयमल्ल, गोविन्द गोठाले, इन्द्रबहादुर राई, शिवकुरमा राई, केशवराज पिँडाली, रमेश विकल, पारिजात र ध्रुवचन्द्र गौतमका उपन्यास प्रयोगले नेपाली उपन्यास साहित्य समृद्ध बन्दै गयो । समयको प्रवाहसँगै अनेक प्रतिभाहरू उत्साही स्वर लिएर उपन्यासमा आइरहेका छन् । यसै परम्परामा बाजुराम पौडेल ‘निशा’ (२०७६) , ‘अर्को संसार’ (२०७८), लुसाकाो फेरो (२०७९) र प्रभावती (२०७९) लिएर नेपाली उपन्यासकारहरूका पङ्क्तिमा उभिन आइपुगेका छन् ।

अन्य विधामा पूर्वीय मूल्य, मान्यता र सिद्धान्तलाई अवलम्बन गर्दै बाजुराम काव्य सिर्जना गर्न पुग्छन् । उनका काव्यमा छन्द, रस र अलङ्कारको राम्रो संयोजन भएको पाइन्छ । साहित्य दर्पणमात्र होइन, केवल समस्याको उत्खननले मात्र साहित्यकारको दायित्व पूरा हुँदैन । समाधानका पथावलम्बन पनि आवश्यक पर्छ । यस कुरालाई स्रष्टा बाजुरामले राम्ररी बुझेका छन् र सोही सिद्धान्तमा उनका लेखनी अघि बढिरहेका पनि छन् । बाजुरामको उद्देश्य माथि भनिएजस्तै सुसंस्कृत समाजको परिकल्पना नै हो । बाजुरामले काव्य साहित्य जस्तै उपन्यासमा पनि उही भाव व्यक्त गरिरहेका छन् । ‘निशा’ पहिलो उपन्यासमा सामाजिक यथार्थताको बिम्ब पाइन्छ । सामाजिक कुरीतिको रूपमा रहेको सौतेनी व्यवहार र यस्ता कुरीतिलाई हटाउने सन्देश प्रवाह भएको छ । कथानक निर्माणमा सांगठनिक स्वरूप मजवुत रहेको देखिन्छ । नयाँ पुस्तामा पश्चिमी जगत्प्रतिको आकर्षण देखाउँदै पूर्वीय र पश्चिमी सभ्यताको सम्मिलन देखाइएको छ । उपन्यासमा देशभक्ति र राष्ट्रियताको आवाज बुलन्द रूपमा देखा पर्दछ । पात्रको उपस्थिति स्वभाविक रूपमा भेटिन्छ । यहाँ अल्पकालीन पात्रहरूको पनि उपयुक्त उपस्थिति देखिन्छ । आजभन्दा पचास वर्षअघिको नेपाली समाज र संस्कृतिको चित्रण उपन्यासले स्पष्ट झल्काएको छ ।

बाजुरामको दोस्रो उपन्यास ‘अर्को संसार’ नेपालको तराई क्षेत्रमा पर्ने बारा जिल्लाको निजगढको चारकोशे जंगलबाट सुरु भएको छ । यो उपन्यास पुराणमा वर्णित पाताललोकसम्म पुग्छ र पुनः स्वदेश प्रत्यागमन गराउँदै टुंगिन्छ । निजगढको जङ्गलबाट एउटा अजंङ्गको प्राणीले नायक (‘म ‘ पात्र हाब्रो )लाई अपहरण गर्छ । साँझको समयमा एउटी सुन्दरी जङ्गलतर्फ आउन लाग्दा नायकले नआउँन संकेत गर्छ । यसको कत्ति पनि वास्ता नगरी सुन्दरी जङ्गलतर्फ नै अघि बढ्छिन् । देखिंदै अल्पिँदै गरेकी ती सुन्दरी त्यसै अलप हुन्छिन् । सुन्दरी कुनै हिंसक जनावरको शिकार हुने चिन्तामा डुवेको ‘म’ पात्र युवतीलाई त्यसतर्फ जाँदा खतराहुने सङ्केत गर्दागर्दै जङ्गलको बीचभागतिर पुग्छ । अन्धकार रात परिसकेकोले ऊ फर्कन सक्दैन, रूख चढेर रात विताउँन खोज्छ । आँखा लाग्दै गरेको अर्धनिद्राको अवस्थामा एक्कासी अजङ्गको प्राणीको अपहरणमा पर्छ । अनेक अनुनय विनयका वावजुद ऊ मुक्त हुन सक्दैनन् । अनेक चिन्ताले उसलाई सताइरहन्छ ।‘ मार्न लैजान्छस् कि ‘ भन्दा होइन भन्ने संकेत पाउँछ । उसलाई त्यस प्राणीले माया र सुरक्षा दिंदै जान्छ । उसलाई हाव्रो भनेर सम्बोधन गर्छ । हाव्रो पनि उसलाई अभिभावकको रूपमा स्वीकार्छ । अनेक कठिनाइ र अप्ठ्यारा पारगर्दै सुरुङ र ओढारमा वास बसाउँदै उसलाई योग्य बनाउँदै लगिन्छ । खानपिन स्वास्थ्य र सुरक्षाको प्रबन्ध पनि मिलाइन्छ । तन्त्र मन्त्रको ज्ञानले उसलाई निर्र्भीक बनाउँदै त्यसलोकको वातावरण अनुकूल तयार पारिन्छ ।

पाताललोकमा नागलोकबाट आक्रमणको भय रहन्छ । नागलोकका राजाको आक्रमणबाट बच्न गोरक्षनाथको देशको मान्छे भन्दै हाव्रोलाई सेनापतित्व सुम्पिएर लोककै अहंम् भूमिका निर्वाह गराइन्छ । हाव्रोबाट भयभीत आक्रमणकारी देश त्यसैमा समाहित हुन्छ । राज्यको शासन व्यवस्था अमनचयन कायम राख्न र समाहित भएका थप राज्यहरूलाई समेत राम्ररी राख्नका लागि हाव्रोलाई राजा चयन गरिन्छ । नुल्जालाई कार्यकारी अधिकार प्रदान गरिन्छ । हाव्रोको नुल्जासँग विवाह पनि सुसम्पन्न हुन्छ । राज्यको सुखभोगले पनि हाव्रोलाई सन्तुष्टि मिल्दैन उसलाई आफ्नो देशको मायाले चिमोटी रहन्छ र सताइरहन्छ । रानी नुल्जालाई राज्याधिकार सुम्पिँदै उसको अभिभावकका सहयोगमा देशमा प्रत्यागमन हुन्छ । देश फर्कने क्रममा निजगढको जङ्गलमा देखिएकी सुन्दरी नुल्जा भएको हाव्रोले अभिभावकबाट थाहा पाउँछ । रहस्यको पर्दा उघारिन्छ ।आमाप्रतिको उसको भावना ” आमाको त्यस विदीर्ण छातीको उद्गारसँगै बोलिरहेका मुहारका चौबीस मुजामा नेपालको नक्सा देखिन छाडेको रहेनछ । नागबेलीमा उजेलिँदै गरेका उनका मुहारका ती धर्साहरूलाई मेरो दुवै हातले आदरपूर्वक स्पर्श गर्दै मैले भने ” आमा ! म अर्काे संसारबाट फर्किएको छ र मेरो देश नेपाललाई आफ्नै देश बनाउने प्रण गर्दछु ।“ (पृ .१००)ले मातभूमिृस्नेहको उदाहरण दिन्छ । पति विहीन, पुत्र विहीन र साहारा विहीन उसकी आमा मृत्युलाई पर्खिरहेकी हुन्छिन् । देशको अव्यवस्था, अस्वस्थता र कुप्रवृत्तिप्रति चिन्तित बन्दै ‘ म ’ पात्रलाई उसकी आमाले नेपाललाई असुरक्षा, अव्यवस्थाजस्ता कुराबाट बचाएर पुर्खाको गौरव बचाउँनू भन्ने अन्तिम इच्छा प्रकट गर्दै महायात्रामा प्रस्थान गर्छिन् । ‘म ’ पात्र हाव्रो आमाको भनाइलाई पूर्ण रूपमा मान्दै देशका लागि समर्पित हुने प्रतिवद्धता व्यक्त गर्छ ।

तत्कालीन समयको देशको परिदृश्यमा उपन्यास अघिबढ्छ । नेपालको राजनीतिक क्रान्ति र विद्रोहको भावना पवित्र र बेग्लै थिए तर परिवर्तन केवल परिवर्तन मात्र रह्यो । परिवर्तनले जनताको भाग्यमा कुनै परिवर्तन ल्याउन सकेन । पात्र फेरिए पनि प्रवृत्ति नफेरिएकोप्रति उपन्यासमा चिन्ता प्रकट भएको छ । जुल्फिकर अलि भुट्टोको फाँसीबाट भएको विद्यार्थी आन्दोलन, त्यसपछिको जनमत सङ्ंग्रह, २०४६ को जनआन्दोलन, माओवादी विद्रोह, र २०६३ सालको संयुक्त आन्दोलनबाट गणतन्त्र स्थापित भए पनि जनभावनाको कदर हुन नसकेको स्पष्ट उल्लेख पाइन्छ । देशको ऐतिहासिक प्रसङ्ंग ल्याएर काँगडा टिस्टासम्म फैलिएको वृहत्तर नेपाल मेची महाकालीमा सीमित भएकोमा उपन्यासकार अत्यन्त दुःखित देखिन्छन् । देशप्रेम र राष्ट्रियताको उद्बोधन उपन्यासको मूल उद्देश्य हो । राज्य सञ्चालकहरूले जनतको कदर गर्नुपर्ने सन्देश उपन्यासको अर्को विशेषता हो । ज्ञानविज्ञानको समुचित प्रयोग विश्वशान्तिका लागि हुनुपर्ने भाव उपन्यासमा रहेको छ । विज्ञानलाई पृथ्वीको गर्भसम्मको अन्वेषणको आग्रह गरिएकोछ । ब्रह्माण्डका यावत् प्राणी र अन्य प्राकृतिक वस्तुहरूको अस्तित्व रक्षाका लागि उपन्यासले आग्रह गरेको छ । प्राणीहरूका बीच आत्मीयता हुनु नै पर्छ । उपन्यासको यही मूल भनाइ रहेको छ । यसमा रहस्यमय प्रेमको उत्कर्ष नमुना देखाइएको पाइन्छ । हाव्रो र नुल्जाको प्रेम रहस्यै रहस्यमा रहन्छ र अन्तिममा मात्र रहस्यको पर्दा खुल्छ । शासन सत्तामा लिप्तरहने प्रवृत्तिलाई उपन्यासले विरोध गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न सुझाइएको छ ।

यस उपन्यासमा प्राचीन संस्कृति र तन्त्रज्ञानको चित्रण राम्ररी गराएर स्वभाविक रूपमा औपन्यासिक सौन्दर्य कायम गराइएको छ । नेपालको चार दशकको राजनीतिक परिदृष्य आएका छन् । उपन्यासभरि नायकको मनभरी देशैदेश दुखेको वर्णन छ । रहस्यपूर्ण परिदृश्यको सम्योजना र स्वैरकाल्पनिकता यसको अर्को उल्लेख्य पक्ष हो । थोरै पात्र र घटनामा एउटा सानो उपन्यासमा यत्तिका महत्वपूर्ण विषय देखाउन सक्नु उपन्यासकारको स्वीकार योग्य सीप पनि हो । पात्रको चारित्रिक स्वभाविकता उपन्यासकारको अर्को विशेषता हो । अभिभावक, नुल्जा र हाव्रो आ—आफ्नो ठाउँमा भूमिका निर्वाह गर्न सफल रहेका छन् । त्यहाँ प्रयुक्त भाषा उपयुक्त किसिमले भएको छ । हाव्रो, लम्फिला काम्लो, घ्याग्रो घुङ, साल्जो, खारा जस्ता शब्द त्यस समाजको लगि उपयुक्त लाग्छ । छिमेकी शक्तिशाली राष्ट्रहरू भन्दा कमजोर नबन्नका लागि अभियान आरम्भको आग्रह छ । उत्तर र दक्षिणबाट सीमा मिचिएको र यसमा नेपाल मूकदर्शक रहेकोप्रति उपन्यासले चिन्ता व्यक्त गरेको छ । यस्तो काल्पनिकतामा बेजोड उडान रहेको उपन्यास नेपालमा मात्र सीमित नभएर विश्व परिवेशमै बृहत्तर रूपमा लैजान सक्दा उपन्यासको उचाइ र गरिमामा अझ वृद्धि हुनसक्थ्यो । बाजुराम स्वयं पनि स्थापित र सफल कवि हुन् । उपन्यासलाई अझ काव्यात्मक र कलात्मकताको लेपनले आभूषित गर्न सकेको भए यो उपन्यास नेपाली उपन्यास मै उत्कृष्टको लहरमा निकै माथि जान सक्थ्यो भन्ने लाग्दछ ।

पृथ्वीका गर्भका कथाहरू धेरैवटा बन्न सक्थे र त्यसलाई पनि बृहत्तर रूपमा उतारेको भए सुनमा सुगन्ध बन्न पुग्थ्यो । उपन्यासको प्रारम्भ र मध्यभाग जुन प्रवाह बोकेर अघि बढ्दछ त्यति नभई अन्त्यतिरको प्रवाहमा शिथिलता पाइन्छ । राजा, रानी, अभिभावक र सेना नायकलाई पनि हाव्रो जस्तै त्यहाँ प्रचलित शब्दबाट सम्बोधन भएको भए अझ स्वभाविकता थपिन्थ्यो भन्नेसम्मका पाठकको तिक्तताको पोखाइ र चाहना स्वाभाविक मानिन्छ ।

यसो हो तापनि उपन्यासकारको औपन्यासिक प्रवृत्ति र प्रवाहका सन्दर्भमा भने ‘ अर्काे संसार ’उपन्यास बेग्लै रूपमा पाइन्छ । यस अघि प्रकाशित सामाजिक यथार्थ, राष्ट्र्रियता, संस्कृति, अन्धपरम्परा, स्वाधीनता र गरिमा तथा समाज परिवर्तनका चेत र जागरणका दोभान बनेको ‘निशा’ (२०७६) को भन्दा भिन्न कथानक, परिवेश र उद्देश्यमा निर्मित ‘अर्काे संसार’ (२०७८) ले भिन्न बाटो लिएको प्रष्ट भएकै छ । यसभन्दा पछि प्रकाशित बाजुराम पौडेलको उपन्यास ‘लुसाको फेरो’ (२०७९) विशुद्ध ग्रामीण सामाजको सचित्र दर्पणका रूपमा रहेको छ भने ‘प्रभावती’ (२०७९) पौराणिक विषयवस्तुमा तयार भएकोले उपन्यास अर्कै प्रवृत्तिमा देखिन्छ । यसरी उनका प्रकाशित चारवटा उपन्यासले विभिन्नताको सिर्जना गरेको पाइनु उपन्यासकारको प्रतिभाको सराहनाको आधार मान्नु पर्दछ । समष्टिगतरूपमा बाजुरामका उपन्यासले टपक्क टिपेका नारी चरित्रहरूले गाउँ र बस्ती मात्र होइन सम्पूर्ण भूगोलको संरक्षणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दछन् । उनका सबैजसो उपन्यासमा सामाजिक रूपान्तरणका लागि नारीचेतना र सशक्तीकरणको अहम् भूमिका रहन्छ भन्ने मूलभुत आदर्श प्रतिबिम्बित भएको पाइन्छ ।

सारमा भन्नुपर्दा रहस्यात्मकता, राष्ट्रियता, मनोवैज्ञानिकता, द्वन्द्वात्मकता, धर्मसंस्कृति, इतिहास र प्रेमप्रणयलाई उपयुक्त संयोजन मिलाएर उपन्यास बनेको छ र उपन्यासकार सशक्त बन्दै कवि व्यक्तित्वमा उपन्यासकार व्यक्तित्व समेत थप्न सफल रहेका छन् । उपन्यासको शीर्षक सार्थक बनेको छ । प्रकृतिका स्वाभाविक र मनोरम वर्णन पाइन्छ । यो उपन्यासलाई नेपाली उपन्यासकै खास प्राप्तिको रूपमा लिन सकिन्छ भन्दा कुनै अत्युक्ति हुनेछैन ।

सन्दर्भ ग्रन्थ:
१. प्रधान कृष्णचन्द्र ‘नेपाली उपन्यास र उपन्यासकार’ तेस्रो संस्करण साझा प्रकाशन २०५२ ।
२. मैनाली युवराज ‘केही प्रतिभा केही प्रवृत्ति’ पहिलो संस्करण भानु प्रकाशन २०४२ ।
३. राई इन्द्रबहादुर ‘नेपाली उपन्यासका आधारहरू’ नेपाली साहित्य परिषद् प्रथम प्रकाशन २०३१ ।
४. लुइटेल खगेन्द्र प्रसाद ‘नेपाली उपन्यासको इतिहास’ प्रथम संस्करण नेपाल प्रज्ञा प्रतिष्ठान २०६९ ।

धुमबाराही, काठमाडौं