प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराउनुभएको छ । बुधबार संसद् सचिवालयमा उहाँले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराउनुभएको हो। घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ ।
झापा-२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिनुभएको थियो । अहिले उहाँ एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ । सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति रहेको छ । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा थिए ।
सभामुख पदको बिहीबार हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्ने संघीय संसद् सचिवालयको कार्यतालिका छ ।
