प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार केही दिनमा नै हुने बताउनुभएको छ । सत्ता मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गर्नुभयो । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन । मन्त्रिपरिषद्बारे टुङ्ग्याउन कठिन छैन । हामी सहमतिको नजिक छौँ ।’
उहाँले आफूले भन्नुपर्ने कुरा सबै भनिसकेको बताउँदै अब गर्न मात्र बाँकी रहेको जिकिर गर्नुभयो । डेलिभरी दिएरमात्र परिवर्तनको वैधता रहने उहाँले स्पष्ट पार्नुभयो । यसैबीच, देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले आफू अर्थतन्त्रलाई सहजीकरण गर्ने विषयमा केन्द्रित भएको पनि बताउनुभयो ।प्रधानमन्त्रीले भन्नुभयो, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंक बीचमा अप्ठ्यारो स्थिति थियो । मैले अर्थमन्त्री र गभर्नरलाई बोलाएर समस्या समाधानका लागि पहल गरेको छु । उहाँले निजी क्षेत्रमा अब केही हुन्छ भन्ने आत्मविश्वास जागेको पनि दाबी गर्नुभयो । ‘केन्द्रीय मुद्दामा सहमति जुटाएपछि बल्ल चुनौति छिचोलिन्छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।
