अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

राष्ट्रपतिको निर्वाचनलाई विचार गरेर विश्वासको मत दिएका हौं : शेखर कोइराला

बिआरटीनेपाल २०७९ पुष २८ गते ५:२६ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको प्रष्ट पार्नुभएको छ । विराटनगरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सबै सांसदहरूले मत हाल्न पाउने अधिकार भएकाले आफूहरूले पनि उम्मेदवारी दिने बताउँदै यी सबै कुरालाई मध्यनजर गरेर आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिएको बताउनुभयो ।

‘अरु निर्वाचनहरू बाँकी नै छन् । सभामुख‚ उपसभामुखको निर्वाचनबाहेकका निर्वाचनमा पनि हामी उम्मेदवारी दिन्छौं‚’ उहाँले भन्नुभयो‚ ‘राष्ट्रपति‚ उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सांसदले भोट हाल्नुहुन्छ । यो सबैलाई विचार गरेर हामीले सरकारलाई विश्वासको मत दिएका हौं ।’ कोईरालाले कांग्रेसले सरकारको गुण र दोषका आधारमा प्रश्न उठाउने र समर्थन गर्ने भन्दै प्रतिपक्षी भूमिकामै रहने बताउनुभयो । ‘प्रतिपक्षको बेन्चमा बस्छौं । गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्छौं तर सरकारमा जाँदैनौं‚’ उहाँले भन्नुभयो ।

संवैधानिक निकायमा शक्ति बाँडफाँटको विषयमा अहिले कुनै कुरा नभएको भन्दै उहाँले विश्वासको मतका लागि सरकारसँग भएको ‘बार्गेनिङ’ बारे आफूलाई थाहा नभएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय