अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

संविधान रक्षाका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत- कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७९ पुष २६ गते ६:३१ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै सभापति देउवाले अध्यक्ष ओलीले संविधानको पूर्णकालिन संसद्को व्यवस्थाको विपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरामा जोड दिएको भन्दै खण्डन गर्नुभयो ।

‘प्रतिनिधिसभाको हिजो बसेको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका समेत नेताको सम्बोधनमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उहाँले संविधानको पूर्णकालिन संसदको व्यवस्थाको विपरित फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदार रुपमा दोहोर्‍याउनु भएको छ,’ देउवाले अघि भन्नुभयो, ‘संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्री सहित हामी एक ठाउँमा उभिएका थियौ। सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप विघटित संसदको पुर्नस्थापना गरेको थियो। आज फेरि बर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि पनि यो परीक्षणको घडी हो।’

देउवाले वर्तमान सरकार र प्रधानमन्त्री दाहाल संविधानका रक्षाको पक्षमा उभिने विश्वाससहित कांग्रेसले विश्वासको मत दिएको बताए । ‘संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वासका साथै मुलुकमा विद्यमान चुनौतीको सामाना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली कांग्रेसले मतदान गर्नेछ,’ सभापति देउवाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय