नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ । झापाको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित कार्की नेकपा (एमाले)का स्थायी कमिटी सदस्य र प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ । उहाँले प्रदेशसभाको दोस्रो कार्यकालका लागि बहुमतसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो। दाबी पेश गर्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेका कार्कीलाई मुख्यमन्त्री बन्न सत्तारुढ गठबन्धनमा आवद्ध ४ दलका ६० जना सांसद (प्रदेशसभा सदस्य)को समर्थन छ ।
प्रदेशमा एमाले,नेकपा ,राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा)सहितको सत्तारुढ गठबन्धन छ । एमालेसहित सत्ता साझेदार दलहरु माओवादी,राप्रपा र जसपाको संसदीय दलका नेताको हस्तक्षरसहितको दावी पत्र कार्कीले प्रदेश प्रमुखलाई बुझाउनुभएको छ । ‘हामी हस्ताक्षरकर्ता दलहरुको प्रतिनिधित्व प्रदेशसभा सदस्य संख्या कूल प्रदेशसभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँ (हिक्मत)लाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्ति गरिदिनु हुन अनुरोध छ, गठबन्धनका तर्फबाट प्रदेश प्रमुखलाई बुझाएको दावीपत्रमा उल्लेख गरिएको छ ।
दावीपत्र पेश भएसँगै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रक्रिया अघि बढाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख खापुङले गत पुस १७ गते एक साताको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान भएको थियो ।
एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्ता गठबन्धनमा आवद्ध पार्टीका संसदीय दलका नेताको हस्ताक्षर र बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री नियुक्तिका लागि तोकिएको समयभित्रै प्रदेश प्रमुखसमक्ष दावी पेश गरिएको जानकारी दिनुभयो ।
