प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । प्रचण्ड र ओलीबीच करिब डेढ घण्टासम्म छलफल भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको छ ।
प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले दुई नेताबीच समसामयिक राजनीतिक विषयमाथि छलफल भएको जानकारी दिनुभयो । सात दल र तीन स्वतन्त्र सांसदको सहयोगमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै थप मन्त्रिमण्डल विस्तार गर्ने रणनीति अपनाउनुभएको छ। प्रचण्ड र ओलीबीच मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबन्डालगायत विषयमा छलफल भएको छ ।
बिहीबारमात्रै गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाएको थियो भने गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । सो समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्नसमेत म्यान्डेट दिएको छ ।
