अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास

बिआरटीनेपाल २०७९ पुष १४ गते ४:१२ मा प्रकाशित

नेपाल र भारतबीचकाे संयुक्त सैनिक अभ्यास समापन भएकाे छ । रुपन्देहीको सालझण्डीमा रहेकाे नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ गतेदेखि सञ्चालन भएकाे नेपाल–भारत संयुक्त सैनिक अभ्यास आज बिहीवार समापन भएकाे हाे । नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले एक विशेष कार्यक्रमका बीच समापन गर्नुभएको छ ।

विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवादजस्ता विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ जना सकलदर्जा सहभागी रहेका थिए । समापन समारोहमा बलाधिकृत रथी राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकलाई बधाई दिँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीहरूलाई प्रभावकारी ढङ्गले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सहभागी दुवै देशका सैनिकलाई प्रमाणपत्रसमेत प्रदान गर्नुभएको थियो ।

समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्य पश्चिम पृतनाका पृतनापति उपरथी याम प्रसाद ढकाल, नं. ३ बाहिनीपति एवम् संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेम बहादुर पुन, नं. २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यस संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा आधारभूत सैनिक सीपको विकास र आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय