नेपालका थप दुई वटा जलविद्युत् आयोजनाको बिजुली किन्न भारतले सहमति जनाएको छ । भारत सरकारले २४ दशमलव २५ मेगावाटको काबेली बी एक र १९ दशमलव ४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली किन्न सहमति जनाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।भारतले यसअघि आठ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय १० मेगावाट बिजुली किनिरहेको थियो । थप दुई वटा आयोजनाको बिजुली किन्न भारत सहमत भएसँगै नेपालले अब १० वटा आयोजनाबाट उत्पादित ४ सय ५३ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को प्रतिस्पर्धी बजारमा बिक्री गर्न सक्नेछ ।
गएको जेठ १९ गतेदेखि पुसको ३ गतेसम्म विद्युत् प्रधिकरणले भारतमा बिजुली बिक्रि गरेर ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालले बर्खामा मात्रै बढी भएको बिजुली भारतमा बिक्री गर्दै आएको छ । तर भारतले सीमित आयोजनाको मात्रै बिजुली किन्दा बर्खामा सयौँ मेगावाट बिजुली खेर भएको थियो । हिउँद लागेसँगै भने नेपालले भारतबाटै बिजुली किन्न सुरु गरिसकेको छ ।