प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही मन्त्रीहरुलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । शीतल निवासमा आयोजित एक बिशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित ८ जना मन्त्रीले सपथ ग्रहण गरेका हुन् ।
नयाँ सरकारमा माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना मन्त्री बनेका हुन्। माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उपप्रधानमन्त्रीमा रवि लामिछाने, जनमत पार्टीबाट उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानले सपथ लिएका छन्। त्यस्तै एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राईले पनि मन्त्रीका रूपमा सपथ लिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो । यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसद छन्। राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुने भएका छन् ।
