गैर आवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष श्री रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आइसिसी सदस्य श्री प्रदीप न्यौपानेले संयुक्त रूपमा विश्व साईकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणको लागि साइकल हस्तान्तरण गर्नु भयो । उक्त साइकल सङ्घको पहल र एनसिसि चीनको सहयोगमा प्रदान गरिएको हो ।
आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले सङ्घले नेपालको पर्यटन प्रबर्धनमा गरेका कार्यहरूबारे जानकारी गराउनु भयो । उहांले नेपालका प्रभावशाली व्यक्तित्वहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेका बताउन भयो । विश्व साईकलयात्री महर्जनको मिशनलाई थप सहयोग गर्न एनसिसि चीनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै अब हुन लागेको यात्रा शुखमय र फलदायी होस भनेर कामना गर्नु भयो ।
सङ्घको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव प्रदीप न्यौपानेले आफ्नो मन्तव्य राख्दै यस पुनित कार्यको लागि एनसिसि चीन समक्ष प्रस्ताव आएको र यसलाई एनसिसि चीनले सकारात्मक रूपमा लिई नेपालको पर्यटन प्रबर्धनमा सहयोग गरेकोमा एनसिसि चीन प्रति हार्दिक आभार प्रकट गर्नु भयो । उहांले गैर आवासीय नेपाली सङ्घ र एनसिसि चीनको झन्डा सहित विश्व भ्रमण गर्न लागेकोमा विश्व साईकलयात्री महर्जनलाई सफल यात्राको लागि शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवर्द्धन समितिका सभापति श्री सोम सापकोटाले सङ्घले विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट नेपालको पर्यटन प्रबर्धनमा गरेका गतिविधिहरू बारे जानकारी गराउँदै विश्वसाईकल यात्री महर्जनले आफ्नो यात्राका दौरान नेपालको पर्यटन प्रबर्धनका साथै ग्लोबल वार्मिङबारे सन्देश फैल्याउने योजनाको प्रशंसा गर्दै उहाँको यात्राको लागि अग्रिम शुभकामना व्यक्त गर्नु भयो ।
सङ्घका सचिव श्री गोविन्द प्रसाद गौतमले नेपाल पर्यटन प्रवर्द्धन एनसिसि चीनले खेलेको भूमिका प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । यसरी नै विश्वसाईकल महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रबर्धनमा सहयोग गर्ने उद्देश्य लिएर सन् २०१३ मा चीनको ग्रेटवाल देखि साईकल यात्रा सुरु गरेर हाल सम्म १५ वटा मुलुकमा यात्रा गरेको र आगामी जनवरी १५ देखी एसियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी गराउनु भयो । अन्त्यमा उहांले गैर आवासीय नेपाली सङ्घको पहलमा एनसिसि चीनले साइकल उपलब्ध गराई सहयोग गरेको प्रति धन्यवाद प्रकट गर्नु भयो ।
अन्त्यमा यस कार्यक्रमका सभापति एवं एनसिसि चीनका अध्यक्ष रोहित अग्रवालले नेपालको पर्यटन प्रबर्धनका साथै जलवायु परिवर्तनको मुद्दा लिएर भ्रमण आयोजना गर्न लागेको प्रति केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यात्राको शुभकामना व्यक्त गर्दै चीन भ्रमणको निम्तो समेत दिनु भयो ।
यस कार्यक्रमको सञ्चालन सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीले गर्नु भएको थियो । उहांले नेपालमा देखा परेको Global Warming को असर र नेपालको पर्यटन बारे जानकारी गराउन यो भ्रमण सफल रहोस् भनी शुभकामना व्यक्त गर्नु भयो ।
यस कार्यक्रममा एनसिसि चीनका उपाध्यक्ष निर्मल चौलागाई, महिला संयोजक पुण्यवति सुवेदीका साथै अन्य कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, एनसिसि पपुवान्युगिनीका महिला संयोजक दुर्गा भवानी भट्ट लगायतका गैर आवासीय नेपाली अभियन्ताहरूको सहभागिता रहेको थियो । 