प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बन्नुभएको छ। हाल पाँचौँ पटक प्रधानमन्त्री रहनुभएका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पर्याएर प्रधानमन्त्री बन्ने दाउमा हुनुहुन्छ । बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत ल्याउँदा अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मत पाउनुभयो ।
०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सार्नुभएको थियो। दलको नेता भएकै कारण उहाँ ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बन्नुभएको थियो। पार्टीभित्रको समीकरणमा तत्कालीन सभापति कोइराला र नेता कृष्णप्रसाद भट्टराईको द्वन्द्व र माओवादी द्वन्द्व व्यवस्थापनमा असफल भएको आरोपका कारण देउवाले दोस्रो र तेस्रो पटकसमेत प्रधानमन्त्री बन्ने मौका पाउनुभयो ।
०६२र६३ को परिवर्तनयता पनि देउवा दुई पटक प्रधानमन्त्री भइसन्ुभएको छ। ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचनमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपनि पराजित भएका देउवा ०७२ मा पार्टीको सभापति निर्वाचित भएपछि भने निरन्तर सभापति र दलको नेता हुनुहुन्छ। ०७४ मा देउवाले संस्थापनइतर समूहका प्रकाशमान सिंहलाई पराजित गर्नुभएको थियो ।
वैधानिक सभापतिय प्रणालीमा चलिरहेको कांग्रेसमा संगठन र शक्ति सभापतिसँग हुन्छ । पछिल्लो तीन दशक निरन्तर शक्तिमा रहेर पार्टीमा संगठन गरेका देउवाले यसपटक १४औँ महाधिवेशनपछिको केन्द्रीय समितिमा ८० प्रतिशत बहुमत हासिल गर्नुभएको छ । उहाँले निर्वाचनमा टिकट वितरण पनि त्यहीअनुसार गर्नुभएको थियो ।
