नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताउनुभएको छ । मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उहाँले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताउनुभएको हो ।
उहाँले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले देशले खोजेको नेतृत्व काँग्रेसले प्रश्तुत गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताउनुभयो । उहाँले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको बताउनुभयो ।
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । देउवाको प्रश्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ भने समर्थकमा पूर्णबहादुर खड्का हुनुहुन्छ । महामन्त्री थापाको प्रश्तावकमा भने डा. शेखर कोईराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ हुनुहुन्छ ।
