प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतवार देशभर मतदान जारी छ । कलाकारहरूले समेत आ–आफ्नो तोकिएको मतदान केन्द्रबाट मतदान गरेका छन् ।कतिपय कलाकार विभिन्न कारणवश मतदान गर्नबाट वञ्चित हुने देखिएपनि धेरै कलाकारहरूले मतदान गरेका छन् । दिउँसो १ः३० बजेसम्ममा थुप्रै कलाकारहरूले मतदान गरिसकेका छन् । अभिनेता राजेश हमालले काठमाडौं लैनचौरस्थित जननाथ स्मृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँले बिहान ११ बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।मतदानपश्चात उहाँले ५ वर्षपछि आफू राजनीतिमा आउने समेत उद्घोष गर्नुभएको छ ।
अभिनेत्री करिश्मा मानन्धरले पनि मतदान गर्नुभएको छ । उहाँले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका–३ वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभएको हो । पति विनोद मानन्धरसँग मतदान गर्न पुग्नुभएकी मानन्धरले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताउँदै आगामी चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गर्नुभयो ।अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले काठमाडौं क्षेत्र नम्बर-२ स्थित गुहेश्वरी मावि केन्द्रबाट मतदान गर्नुभयो । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर मतदान गर्नुभएको छ । अभिनेत्री संचिता लुइँटेलले काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
निर्देशक एवं अभिनेता निश्चल बस्नेतले पनि मतदान गर्नुभएको छ । अभिनेत्री स्वस्तिमा खड्काले पनि मतदान गर्नुभएको छ । मतदानपश्चात एक तस्वीर फेसबूकमा शेयर गर्दै उहाँले परिवर्तनका लागि मतदान गरेको उल्लेख गर्नुभएको छ ।हास्य अभिनेता निर्मल शर्मा ‘गैडा’ले काठमाडौं क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रबाट मतदानगर्नुभएको छ । मतदानपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेता शर्माले पनि अब आफू सक्रिय राजनीतिमा लाग्ने बताउनुभयो ।
हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले सर्लाहीबाट मतदान गर्नुभयो । उहाँले बरहथवा नगरपालिका–१५ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।चलचित्र निर्देशक एवं अभिनेता नवल खड्काले खोटाङबाट मतदान गर्नुभयो । चलचित्र निर्देशक मनोज पण्डितले पनि मतदान गर्नुभएको छ । काभ्रे–२ मा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले सोही क्षेत्रको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । अभिनेता मनोज गजुरेलले सूर्यविनायक–२ बालकोटको बालविनायक मतदान केन्द्रबाट मतदान गर्नुभयो । गायकप्रमोद खरेलले गृहजिल्ला झापाबाट मतदान गर्नुभयो । तर, केही कलाकारहरू भने विभिन्न कारणवश मतदान गर्नबाट वञ्चित भएका छन् ।
