देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । मुख्य दलका शीर्ष नेता, अरु नेता र उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मतदान गरिसकेपछि पत्रकारसँगको कुराकानीमा सबै दलका नेता र उम्मेदवारले आफू र आफ्नै पार्टीको जित हुने दावी गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका- १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएकाे छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रौटहट क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहनुभएका उहाँले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल इलामको सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभुत विद्यालयमा मतदान गर्नुभएको छ ।
