प्रहरीले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने तयारीमा रहेका समूहमाथि निगरानी बढाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रहरीले सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाउको छ । निर्वाचन बहिष्कारको निर्णय सार्वजनिक गरेका समूहले हिंसात्मक गतिविधि गर्नसक्ने सम्भावनलाई ध्यानमा राखी प्रहरीले त्यस्ता समूहमाथि निगरानी बढाएको छ । शंकास्पद समूहका १ सय ७२ जनालाई प्रहरीले नियन्त्रण लिएकोमा १ सय ५५ जनालाई हाजिरी जमानतमा रिहा गरेको प्रहरीले जनाएको छ । विष्फोटक सामाग्रीसहित पक्राउ १७ जनाविरुद्ध भने मुद्दा दर्ता गर्ने तयारी भइरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
विभिन्न ३१ वटा समूहले आसन्न चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिष्कार समूहले शान्तिपूर्ण गतिविधि गर्ने भनेपनि प्रहरी ती समूहसँग आवद्ध व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ । निर्वाचनबारे भ्रम फैलाउने र शान्ति सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि गरे तत्काल नियन्त्रण गर्ने गरी पूर्वतयारीमा रहन प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटलाई परिपत्र गरेको छ । देशभरका २२ हजार ५ सय ३४ मतदान केन्द्रको सुरक्षामा चारवटै सुरक्षा निकायबाट झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन भएका छन् ।
निर्वाचनमा सुरक्षाको दृष्टिले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिममा वर्गीकरण गरिएको छ देशभरका ३ हजार ३ सय २२ मतदान स्थल अति संवेदनशील, ३ हजार ९ सय ८८ संवेदनशील तथा ३ हजार ३ सय ६१ मतदान स्थल सुरक्षाको दृष्टिले सामान्य रुपमा वर्गीकरण गरिएको नेपाल प्रहरीका प्रवक्ता राईले बताउनुभयो ।जिल्ला प्रहरी प्रमुख मातहत रहने गरी प्रहरी मुख्यालयले सिपाहीदेखि प्रहरी नायब उपरीक्षक सम्मलाई निर्वाचन सुरक्षाका लागि केन्द्रबाट परिचालन गरेको छ ।
