निर्वाचनको पूर्वसन्ध्यामा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन नेपाल आउनुभएको छ । अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० को २० औं महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङ थप ५ वर्षका लागि दोहोरिएपछि बेइजिङबाट भएको यो पहिलो औपचारिक भ्रमण हो ।शुक्रबार बेलुकी आइपुगेका चीनका राष्ट्रिय सांस्कृति सम्पदा प्रशासनका निर्देशकसमेत रहेका उपमन्त्री ली ५ दिन नेपालमा रहनुहुने छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्न नेपाल आउनुभएको हो ।
परराष्ट्र र संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दूतावासलाई उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले भ्रमण सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै मिति तय गरेको थियो । २०७२ को भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।
पूर्वराजदूत तथा नेपाल–चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई उक्त भ्रमणलाई नेपालको निर्वाचनसँग जोडेर हेर्न नहुने बताउँछन् । चिनियाँ उपमन्त्री लीको भ्रमण निर्वाचनमा नभइ दुई मुलुकबीचको सम्बन्धमा केन्द्रित हुने बताउनुहुन्छ । ‘चीनले नेपालको पुनर्निर्माणमा पहिलेदेखि नै सहयोग गर्दै आएको छ, त्यसमाथि पनि चीनमा सीपीसीको २० औं महाधिवेशनपछि बेइजिङबाट नेपालमा यसरी भ्रमण हुन लागेको हो,’ उहाँले भन्नुभयो, ‘यसलाई चिनियाँहरूले नियमित भेटवार्ताका रूपमा लिएका छन् । यो भ्रमणले निर्वाचनमा कुनै असर गर्दैन ।’
२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा मंसिर १० र २१ मा भएको थियो । त्यसबेला दुई कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रलाई मिलेर निर्वाचनमा जानका लागि चीनले ‘सहजीकरण’ को भूमिका खेलेको थियो । त्यसपछि एमाले र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका तत्कालीन उपप्रमुख कुचो यचौ नेपाल आउनुभएको थियो । पार्टीभित्र विवाद भएपछि नेकपा पहिलेकै स्थानमा आइपुग्यो । र, अहिले एमाले र माओवादी दुई पार्टी निर्वाचनमा जाँदा दुई फरक पक्षमा उभिएका छन् ।
