आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो ।बिहीबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहनुभएका सहसचिव प्रदीपकुमार कोईरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्येनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताउनु भयो ।
उहाँले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने र्यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताउनु भयो । सडक, खोला,नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताउनु भयो । सहसचिव कोईरालाले सम्भावित विपद्को आँकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पार्नुभयो । निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने बताउनु भयो ।
सहसचिव कोईरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्व सूचनाको आधारमा मौसमी प्रतिकुलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताउनु भयो ।
