अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

माओवादी केन्द्रकाे चुनावी घाेषणापत्र सार्वजनिक : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, १६५ सिटको प्रतिनिधि सभा र ५५ सिटको राष्ट्रिय सभा

बिआरटीनेपाल २०७९ कार्तिक १४ गते ६:११ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले मङ्सिर ४ गते हुने चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साेमवार आयोजित कार्यक्रममा सार्वजनिक भएकाे घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डालाई प्राथमिकता दिएको छ । सङ्घमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

संसद् मुख्यरूपमा विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने माओवादीको प्रतिबद्धता छ । एक सय ६५ सिटको प्रतिनिधि सभा र ५५ सिटको राष्ट्रिय सभा भएको सङ्घीय संसद् र समग्रमा तीन सय ३० सिटको प्रदेश सभा हुने माओवादीको घोषणापत्रमा उल्लेख छ ।

आउँदो संसद् पनि विघटन हुँदैन भन्ने निश्चित नभइसकेको भन्दै माओवादीको प्रतिबद्धतापत्रमा राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा, कार्यान्वयन र सकारात्मक अभ्यासहित परिमार्जन गर्नुपर्ने उल्लेख छ । सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति माओवादी केन्द्र मात्रै भएको प्रतिबद्धतापत्रमा लेखिएको छ ।

नेकपा माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यसबाहेक सहरमा रहेका निम्न–मध्यम र मध्यम वर्गका लागि भनेर सरकार र निजी क्षेत्रको लगानीमा सुपथ मूल्यमा अवास परियोजना सञ्चालन गर्ने माओवादी घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय