अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

तिहारमा मौसम सफा रहने

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते ५:१६ मा प्रकाशित

मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झन्डै डेढ हप्ता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताउनुभयो ।

वर्षाका कारण दशैँमा आफन्त मान्यजनकोमा टीका लगाउन जाने र विभिन्न गन्तव्यमा पुग्नेलाई निकै सास्ती दियो । पाकेको धानबालीमा पनि क्षति पुर्‍यायो । बाढी, पहिरो र डुबानका घटना पनि भए । त्यतिमात्रै होइन, शरद् ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकोमा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुग्यो । तिहार आउन एक हप्ता अघिदेखि नै देशैभरको मौसम सफा रहेको छ । आज मङ्गलवार तिहारको तेस्रो दिन गाईपूजा गरी मनाइएको छ । सोमवार बेलुकी लक्ष्मी पूजा गरी धुमधामका साथ मनाइयो ।

महाशाखाको पछिल्लो विवरणमा अहिले देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटफुट र हल्का वर्षा हुने सम्भावना छ तर सानो–सानो बादलको टुक्रा रहेकाले ठूलो प्रणाली देखिँदैन ।‘मनसुन पनि बाहिरियो, पश्चिमबाट पानी पार्ने प्रणाली आउनुपर्छ त्यो सम्भावना देखिँदैन स्थानीय वायु पनि सक्रिय छैन । त्यसैले तिहारमा मौसम सफा रहने देखिन्छ । चिसो क्रमिकरूपमा बढ्दैछ, बिहान–बेलुका बढी चिसो हुन्छ’, मौसमविद् पौडेलले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय