नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र सङ्घीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको दाबी गर्नुभएकाे छ । आज शुक्रवार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयतालगायतका परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको हो । उहाँले आफूहरू लोकतन्त्रप्रति समर्पित योद्धा भएको जिकिर गर्दै गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘यो गठबन्धन स्वाभाविक थियो । प्राकृतिक थियो । किनभने हामी लोकतन्त्रप्रति समर्पित योद्धा हौँ । हामी गणतन्त्रको रक्षा गर्ने मूल शक्ति हौँ । हामी सङ्घीयता मान्ने पार्टी हौँ । यो गठबन्धन पवित्र उद्देश्यका लागि बनेको हो । जनताप्रतिको जिम्मेवारी बोधका साथ हामी अगाडि बढेका छौँ ।’ अध्यक्ष नेपालले प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरूसँग साँठगाँठ गरिरहेको आराेप पनि लगाउनुभयाे । सत्तारूढ गठबन्धन नागरिकप्रति जिम्मेवारीबोधका साथ अगाडि बढेको उहाँकाे भनाइ थियाे ।
