सन् १९९१ को डिसेम्बरमा पेरिसबाट फर्केपछि हामीलाई डेरा खोज्न परेन । सानेपास्थित पैतृक जग्गामा घर बनाएर बस्न थाल्यौँ । त्यति बेला राजधानीबाट सात—आठ किलोमिटर मात्र परको गाउँ पनि यातायातको असुविधा कारणले टाढा भइरहेको थियो । पढाई तथा रात, बिहान र बिदाको दिनमासमेत काम पर्ने भएकोले सहरमा एउटा सानो कोठा भाडामा लिएर बस्न विवशजस्तै थिएँ । यसो गर्नुमा परिवारलाई कुनै आपत्ति पनि थिएन । हामीहरूको खाँचो घरमा जुन बेला भए पनि यातायातको सहयोग बिना नै हामी घर पुग्न सक्थ्यौँ । आफ्नो वृत्ति विकासका निमित्त समय अनुसार प्रयास गर्नु नराम्रो पनि थिएन । देश विकास भनौँ वा बाटोघाटो र यातायातको सुविधाले मानिसको रहन—सहन तथा जीवनशैलीमा कति धेरै फरक पार्ने रहेछ भन्ने कुरालाई अहिले मनन गर्दा मलाई अचम्मजस्तो पनि लागिरहेको छ । विगत १६ वर्षदेखि म हरेक दिन ४० माइलको (६४ कि.मि) दूरी घरबाटै आवत—जावत गरिरहेकै छु । टाढाको आभास भएको छैन ।
नेपाल फर्केपछि मलाई राहदानी शाखामा खटाइयो । राहदानी हातले नै लेख्नु पर्थ्यो । अक्षर राम्रा भयो भने संसारका मानिसले सजिलैसँग बुभ्mन सक्थे । अक्षर नराम्रो भयो र अन्य देशका मानिसले पढ्न सकेन भने वा गलत नाम वा जन्म मिति लेखियो भने त नेपाली नागरिकलाई असुविधा हुने भयो । त्यसैले अक्षर राम्रा भएका तथा स्मार्ट कर्मचारीलाई राहदानी लेख्न लगाउँदा राम्रो हुनु स्वाभाविकै हो । मेरो अक्षर राम्रा थिएन तैपनि मलाई राहदानी शाखामै खटाइयो । त्यति बेला मसँगै काम गर्ने राम्रा अक्षर लेख्ने मित्रहरू भनौँ वा भाइहरूमा शरद पौडेल, जीतबहादुर कार्की, गणेश अधिकारी, लोकबहादुर थापा, सूर्यबहादुर थापा आदिको नाम सम्झनामा छन् ।
त्यो बेला सबै नेपाली नागरिकहरूको लागि राहदानी बनाउने एउटै मात्र कार्यालय परराष्ट्र मन्त्रालय थियो । त्यो कामको जिम्मा परराष्ट्र मन्त्रालयको राहदानी शाखाले लिएको थियो । सधैँ भीड खेप्नु पर्थ्यो । जनतालाई कति कष्ट, दर्द र पीडा थियो होला । हाल ७७ जिल्लाबाट राहदानी वितरण गर्दा जनताले कति सुख सुविधा पाएका होलान् म अनुमान लगाउन सक्छु । परराष्ट्र मन्त्रालयका कर्मचारीले जनतासँग आफ्नो दक्षता, विवेक र योग्यता देखाउने यही एउटा अवसर थियो । अन्य कामका लागि कुनै पनि कर्मचारीले नेपाली नागरिकहरूसँग कामकाजका सिलसिलामा सम्पर्कमा आउनै पदैन । राजनैतिक नेताहरूको प्रेसर आइरहने र बेलाबखतमा आर्थिक प्रलोभनमा फसेर जागिर नै खतरामा पर्न सक्ने डरले सकेसम्म कर्मचारीहरू उक्त शाखामा जान नमान्ने । त्यसमा पनि पुराना र वरिष्ठ कर्मचारीको त नामै लिन नपाइने । त्यसैले उक्त शाखामा कर्मचारी खटाउंदा सबैभन्दा पहिला नयाँ कर्मचारीलाई पठाइन्थ्यो । त्यसपछि— (१) जबरजस्ती सजाय दिने किसिमको शैलीमा, (२) ६ महिना त्यहाँ बसेर काम ग¥यो भने राम्रो पोस्टिङको लागि सिफरिस गरी दिने प्रलोभन । यस्ता विषयहरू समय अनुसार कहिले काम लाग्थे कहिले लाग्दैन थियो । सरकारी कर्मचारीले यो काम गर्छु त्यो काम गर्दिन भन्ने लचकता बिरलै व्यक्तिले पाएका हुन्छन् ।
तिनीहरू कि त राम भक्त हनुमान भएका हुन्छन् कि त अरूको छत्रछाया पाएका हुन्छन् । यिनै अप्ठ्यारा परिस्थितिले गर्दा ६÷६ महिनामा रोटेशनको चलन पनि थियो । जुनसुकै कर्मचारीलाई पनि त्यहाँ पठाउने बेलामा ६ महिनाको लागि मात्रै भनेर पठाउने शैली थियो । सन् १९९२ जनवरीतिरको कुरा हो । पेरिसबाट फर्केपछि मलाई ६ महिनाको लागि राहदानी शाखामा खटाइयो र मेरो म्याद तीन पटक थपियो । तत्कालीन शिष्टाचार महापाल केशवराज झाले मलाई उम्कनै दिनु भएन । अझ यसौ भनौँ उहाँको बचनलाई मैले टार्नै सकिन । १८ महिनासम्म मैले घरको कुनै पनि काम गर्न भ्याइन । बिहान अफिस जानेबेलामा श्रीमतीले दिएको कामको जिम्मा बेलुका घर फर्कँदा सबै बिर्सने । घर फर्कँदा सधैँ खाली हात । त्यसपछि श्रीमती आँफैले सबै काम सम्हाल्न थालिन । जीवन यस्तो व्यस्त रह्यो की पेरिसमा प्रयोग गरेर राम्रो हालतमा रहेका सबै सामानहरू नेपालमा प्रयोग गर्नु पर्छ भनेर ल्याएका थियौँ । ती सरसामानहरू बिस्तारै झिक्दै प्रयोग गर्दै जाउला भनेर बस्दाबस्दै ल्हासाको पोस्टिङ खाली भएर हामी मध्ये एक जनालाई पठाउनु पर्ने अवस्था देखियो । मभन्दा वरिष्ठहरूले त्यहाँ जान इन्कार गरेपछि त्यो अप्ठेरो अवसरले मेरो मुख ताक्यो । मलाई ल्हासाको दुइटा कुराले मोहित बनाएको थियो । पहिलो पोतला दरबार दोस्रो अमेरिकी डलर ।
शिष्टाचार महापालको शाखामा काम गरिरहेका बेला एउटा चिनिया भोजमा एक जना चिनिया कूटनीतिज्ञले कपडामा बनेको पोतला दरबारको तस्बिर मलार्ई उपहारमा दिएका थिए । त्यो तस्बिर हाम्रो घरको भित्तामा अझै झुन्डिरहेको छ । जमिनदेखि माथि बिस्तारै साँगुरिँदै गएर १३ तल्लासम्म पुगेको सेतो चुनोट र झ्यालहरूमा बगरन्डी रङ्ग पोतिएको त्यो दरबारको बनावटले तस्बिर हात परेको दिनदेखि दरबार हेर्ने लालसाले मभित्र जन्म लिएको थियो । अगाडिपट्टिको पटाङ्गिनीमा बसेर बादल नभएको दिनमा त्यो दरबार हेर्दा दरबारको टुप्पोले नीलो आकाशलाई छोएजस्तो देखिन्छ । त्यो मनमोहक दृश्य हेर्न म लालायित थिएँ । यसका अतिरिक्त ल्हासाका सम्बन्धमा अन्य कुराहरुपनि मेरो मानसपटलमा ओइरो लागेका थिए । ती विषयहरूमा ऐतिहासिक रूपमा नेपाल र तिब्बतबिच पटक—पटकको लडाई तथा मैत्री सम्बन्ध, युद्धमा हारेपछि नेपाललाई तिब्बतले तिरो तिर्ने प्रचलन, नुनको व्यापार—व्यवसाय र आजका दिनसम्मपनि तिब्बतले बडादशैको अवसरमा नेपाललाई भेडा—च्याङ्ग्राको आपूर्तिमा मद्दत पुर्याइरहेको कसरी होला, अर्ध मरुभूमि भएका कारणले कस्तो आर्जनले तिरो भर्न सफल भयो होला, तिब्बतीहरूको आयस्रोत के होला, “ल्हासमा सुन छ आफ्नो कान बुच्चै” उखान किन बन्यो होला आदि इत्यादि जिज्ञासाहरूले मेरो कौतुहलता बढाइरहेको थियो । त्यसमा पनि विशेष गरेर नेपाली राजकुमारी भृकुटीलाई त्यो कलिलो उमेरमै त्यहांँका शासक स्रोङ्चोङ गोम्पोसंग विवाह गरेर पठाएपछि ती राजकुमारीले उनको कलकलाउँदै बैश तथा सिङ्गो जीवन कसरी सम्हालिन होला । एक महिना घरबाट विशेष काममा घरपरिवार छोडेर बाहिर जाँदा आजको युगमै हामीलाई नियाँस्रो लाग्छ ।
हजार पटक फोन वा मेसेन्जरमा जोडिने प्रयास गर्छौ । कतिलाई त्यतिले पनि चित्त नबुझेर वा खानपानमा लत नबसेर ‘होम सिक’ भो भनेर कामै छोडेर घर फर्कने अझै कति छन् कति । त्यो बेला फोनको आविष्कार भएकै थिएन, चिठ्ठी पत्रहरूको चलन आइसकेको थिएन की? सिपाही वा दूतको माध्यमले हिँडेरै पुर्याउने प्रचलन थियो होला । मेसेन्जरबाट फोटो पठाउने कल्पनाका लागि मार्क जुकरबर्ग अर्कै जुनीमा थिए होलान् । भोटे राजाको बेहुली बनेर घरबाट बाहिर निस्केपछि शायद त्यो आँगनमा उनको पाइला फेरि परेन होला । १२ हजार फिटभन्दा बढीको उच्चाईमा रहेको अर्धमरुभूमिमा नदेखेको मानिस, एक पटक नसुनेका, नबोलेको भाषा भाषीको नयाँ समाजमा गएर कसरी जीवन बिताइन होला । के तिनलाई माइतीघर, आमाबा, दाजुभाइ दिदीबहिनीहरूको याद आएन होला । कति पीडा र दर्द भयो होला । उनका आँखाबाट आँसुको बाढी आयो होला की आएन । पीडा र दर्दको पहाड सहेर पनि भृकुटीले जीवन जिइन ।
त्यो पीडाको केही अशँको अनुमान हामी अहिले पनि लगाउन सक्छौ । बिचरी भृकुटीको शरीर तिनै पीडा र दर्दकाबीच तिब्बती धरामा विलीन भयो । भृकुटीको अवसानको खबर शायद नेपाली जनताले थाहा पनि पाएनन् होला । उनको जीवनको त्यो उराठ लाग्दो बलिदानका निमित्त नेपालले धन्न राष्ट्रिय विभूतिमा राखेर एउटा सम्मान दिइरहेको छ । भृकुटीले तिब्बतमा ती भोटे राजासँग जीवन मात्र बिताइनन् । राजा स्रोङचोङ गोम्पोलाई खुसी बनाएर बुद्ध धर्मको प्रचार—प्रसार गर्नसमेत सफल भइन । उनको नाउँबाट झोखाङमा ठुलो दरबार बनाउन लगाइन र हरित ताराको नामले प्रख्यात भइन । एउटा सफल नारी बनेर नेपाली इतिहासमा अमर भइन । ती सबै कुरा हेर्ने र बुझ्ने रहर मभित्र एकदमै प्रबल भएको थियो । साथै अमेरिकी डलरको हिसाबले पनि अन्यत्रको भन्दा बढी बचत गर्न सकिन्छ भन्ने सुनेको थिएँ । यिनै रहरहरू र लालसाको अगाडि ल्हासाको चिसो र उच्चाईको समस्याले जीवन थला पर्न पनि सक्छ भन्ने सोच्दै सोचिन । श्रीमतीसँग सल्लाह नै नगरी मैले ल्हासा जाने निर्णय गरेँ ।
त्यो निर्णयबाट मैले जीवनमा उपयोगी हुने धेरै कुराहरूको अनुभवकासाथैैं उपलब्धि बटुलेँ । ल्हासाको भौगोलिक अवस्थिति तथा हावापानीलाई बिचार पुर्याइ सरकारले उक्त नियोगमा काम गर्ने कार्यकाल सामान्यतया २ देखि ४ बर्ससम्मको बनाइएको छ । शायदै अभैm त्यही नियम छ कि ? मैले भनेँ जम्मा २१ महिना त्यहाँ बसेर कार्य गरेँ । त्यो २१ महिने अवधिमा १४ हजार फिटदेखि १८ हजारको फिटको उच्चाईको अनुभव गर्न पाएँ । नेपालमा उकाली—ओराली गर्दै सुसेली मार्दै गतिकासाथ हिँड्न र दौडनसमेत सिपालु यो केटो त्यहाँको सानो थुम्केलो डाँडो चढ्न पनि स्वाँस्वाँ आएर हम्मे हम्मे परेको अनुभव पनि प्राप्त गरेँ । जाबो तीन—चार तल्लाका भवनहरूमा उक्लदापनि बिचबिचमा रोकिएर सास फेर्दै भर्याङ चढ्नु परेको अनुभव पनि मिल्यो । पेय पदार्थको हकमा सानो एकपेगमात्र पिउँदा पनि रातभर सुत्नै नसकेर घरबाहिर अँध्यारोमा भूत बनेर डुलिरहनु प¥यो । लुगा धोएर पारिलो घाममा सुकाउन बाहिर निकालेको चार/पाँच मिनेटभित्र बरफ भएको पनि देखियो ।
घरभित्रको बाथरुमको कमोटको पानी बरफ बनेर ल्फस हुन नसकी तातोपानी उमालेर कमोडमा खन्याएर पगाल्नु परेको अवस्था पनि देखियो । बाहिर निस्केका बेलामा पिसाब फेर्दाफेर्दै तातो पिसाब चिसोमा परिणत भई बरफ बन्नसमेत भ्याएर बिचमै अड्किएको पनि हेरियो । म काठमाडौँ उपत्यकाभित्रकै भए पनि बौद्धस्थित गुम्बा नजिकै पुगेको छु । गुम्बामा पुगेको छैन । हाम्रा बौद्ध धर्मावलम्बीहरू त्यसलाई हिँडेर परिक्रमा गर्छन् कि सुतेर, मलाई थाहा भएन । स्वयम्भूको गुम्बामा भने पचासौँ पटक पुगेको छु । त्यहाँ सबैले हिँडेरै परिक्रमा गरेको मात्र देखेको थिएँ । तर तिब्बतमा पोतला दरबार होस् वा अन्य कुनै गुम्बा होस् धेरैजसो मानिस सुतेरै परिक्रम गर्छन् । त्यस्तो चिसोमा हात जोडेर भुईँमा लम्पसार परेर एक इन्च पनि नबिराई त्यति ठुलो दरबारको परिक्रमा गर्नु चानचुने कुरा हैन । मानिसको विश्वासले के मात्र गर्न सक्दैन । त्यो परिक्रमाको शैली पनि देखेँ ।
पेरिसको ४ बर्से बसाइमा एक पटक, त्यो पनि राजदूत र प्रथम सचिव सहर बाहिर गएको मौकामा, राष्ट्रपति फ्रान्स्वाँ मितेराँको निमन्त्रणामा श्रीमतीसहित जाने अवसर मिलेको थियो । तर तिब्बतमा एउटै मात्र कूटनैतिक नियोग भएका कारणले तिब्बत सरकारले आयोजना गर्ने हरेक सभा—सम्मेलन, जात्रा—उत्सव तथा रात्रि भोजमा नियोगका सबै कूटनैतिक कर्मचारीलाई श्रीमतीसहित आमन्त्रण गर्ने र मान—सम्मान प्रदान गर्दाको खुसी पनि प्राप्त भयो । सहर बजारतिरपनि नियोगमा काम गर्ने कर्मचारी भनेर थाहा पाएपछि मान—सम्मान प्राप्त हुँदा आनन्द लाग्ने रहेछ ।
त्यस्तैगरि चिनिया साम्यवादी व्यवस्थामा समाजका कुलिन वर्ग भनौँ या शासक वर्गको रवैया कस्तो हुने रहेछ, बजार व्यवस्था कस्तो हुने रहेछ , भित्रभित्रको काला बजारी कस्तो मज्जाले चल्दो रहेछ, नेतृत्व वर्ग वा प्रशासकीय प्रमुखहरूको बोलाई र गराइका बिच कस्तो अन्तर हुँदो रहेछ, सोझा र निमुखा जनताको औकात कस्तो हुँदो रहेछ सबै कुरा ऐनाजस्तो प्रष्टपनि भयो र कुनैमा आँफैले भोग्ने अवसर पनि मिल्यो । पैसा र मानिसको स्वास्थ्यको बिच कसरी सोच्न पर्ने रहेछ, पैसा र मृत्यबीच सम्बन्ध छ कि छैन । परिस्थिति अनुसार मृत्युसँग जुध्न कस्तो साहस जुटाउनु पर्ने रहेछ । यिनीहरूको बारेमा म बेग्लै अध्यायहरूमा सविस्तार पाठकबृन्दहरुलाई सुनाउने नै छु ।
यी अनुभवलाई मैले जीवनको एउटा उपलब्धि नै सम्झेको छु । यी सबै कुराको अनुभव र अवलोकन गर्ने अवसर पोतला दरबारको एक झलकले नै मलाई दियो । त्यसको लागि एक पटक भेटिएका चिनिया मित्र र पोतला दरबारप्रति कृतज्ञता तथा आभार प्रकट गर्न चाहन्छु ।