अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 11:23

चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रूपैयाँले घाटामा– राष्ट्र बैंक

बिआरटीनेपाल २०७९ जेठ २७ गते ७:३८ मा प्रकाशित

चालु आर्थिक वर्ष २०७८ ÷ ७९ को १० महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रूपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत साउनयता देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिमार्फ राष्ट्र बैंकले सो तथ्याङ्क सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । १० महिनामा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।

वैशाख मसान्तसम्म पुँजीगत ट्रान्सफर ४१ दशमलब ३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १८ दशमलब २ प्रतिशतले वृद्धि भइ १६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रहेको थियो । चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।

पछिल्लो समय देशको आर्थिक अवस्था अझ कमजोर हुँदै गएको छ । नेपालको शोधनान्तर घाटा र मुल्य वृद्धि बढ्दै गएको छ । यसले नेपालको आर्थिक अवस्था झन् कमजोर हुँदै गएको देखाएको छ । नेपाल राष्ट्र बैंकद्वारा आज प्रकाशित तथ्याङ्कले यस्तो देखाएको हो । मुल्यवृद्धि ७ दशमलब ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा हाल मुद्रास्फीति ३ दशमलब ६५ प्रतिशत थियो । शोधनान्तर घाटा पनि वृद्धि हुँदै गएको छ ।

शोधनान्तर स्थिति २८८ अर्ब ५० करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको छ । गत वर्षको वैशाख महिना सम्ममा कुल वस्तु निर्यात ५९ दशमलब ८ प्रतिशतले वृद्धि भई १ खर्ब ७३ अर्ब ३५ करोड रूपैंया पुगेको छ । हालसम्स वस्तु आयात २८ प्रतिशतले बढेर १६ खर्ब ४ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू