संस्मरण
चार पाँच कक्षामा पढ्दा हामी ‘आँपको ढुङ्गा’ मा बसेर पढ्दै थियौँ । पिताजी त्यहीँ बसेर डोको बुन्दै हुनुहुन्थ्यो । अचानक उहाँले हामीलाई सोध्नुभयो – ‘ल भन केटा हो !खानमा राम्रो के ? लाउनमा राम्रो के ? मार्नमा राम्रो के ? ‘ हामी सबै मुखामुख गर्यौँ । एक जना उट्पट्याङ खालको साथीले प्याच्च भनिदियो -‘ खानमा राम्रो मासु भात ,लाउनमा राम्रो कोट्पाइन्ट र मार्नमा राम्रो जुम्रा । ‘ यस्तो उत्तर सुनेर पिताजी हाँस्नुभयो र भन्नुभयो – ‘ गलत ! खानमा राम्रो गम ,लाउनमा राम्रो गुन र मार्नमा राम्रो रिस । ‘ अनि अर्थ लगाउनुभयो -‘गम खानु अर्थात् सोचविचार गरेर मात्र काम गर्नु । गुन लाउनु अर्थात् सेवा सहयोग र भलो गरी मन जित्नु । रिस मार्नु अर्थात् रिसलाई दबाएर अप्रिय घटना हुनबाट जोगिनु । ‘ पिताजीले पछिसम्म हामीलाई यस्ता कुराहरू बताइरहनूहुन्थ्यो ।
हाम्रो घरछेउमा एउटै विशाल ढुङ्गाको चौतारो छ ,जसलाई हामी सबैले ‘आँपको ढुङ्गा ‘ भनेर चिन्दछौँ । त्यो ढुङ्गाको डिलमा विशाल आँपको रुख थियो । हामी बच्चा छँदा त्यो ढुङ्गामा खेल्ने गर्थ्यौँ र पढ्ने उमेरमा पनि फुर्सदमा त्यहीँ गएर पढ्थ्यौँ । त्यो ढुङ्गामा हरेक एकादशीमा पुराण लगाइन्थ्यो, ॠषिपञ्चमीमा आमादिदीहरुले पञ्चमी पूजा लगाउँथे , बेला बेलामा अद्वैत संस्थाले सत्सङ्ग पनि चलाउँथ्यो । भेला ,बैठक र कचहरी पनि त्यहीँ हुन्थ्यो । हजुरबा हजुरआमाको श्राद्ध पनि त्यही गरिन्थ्यो । बुढापाकहरु शीतल ताप्दै बाँसको चोया काढ्ने , डोको नाम्लो बुन्ने , जनै बाट्ने र बनाउने (गरन्त्याउने ) काम पनि त्यही हुन्थ्यो । सबैको प्रिय त्यो आँपको ढुङ्गोमा अहिले आँपको रुख भने छैन । गाउँमा हुने धार्मिक , सामाजिक, सांस्कृतिक र आध्यात्मिक गतिविधि पनि विरलै मात्रामा हुने गरेको पाइन्छ । अहिले हाम्रा परम्परागत मूल्य र मान्यताहरू खस्किँदै जान थालेको महसुस हुँदैछ ।
पिताजीले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । म सानो छँदा भन्नुहुन्थ्यो – ‘बाबु ,किताबी ज्ञान भएर मात्र हुँदैन ,व्यवहारिक ज्ञान पनि उत्तिकै मात्रामा सिक्नु जरुरी हुन्छ।’ ‘शनिवार बिदाको दिन हामी गाई बस्तु चराउन जान्थ्यौँ । असारदेखि मङ्सिरसम्म बनमा र मङ्सिरदेखि असारसम्म खेतमा बस्तु चराउने गरिन्थ्यो । असार साउनको वर्खे बिदामा बाबाले मलाई खेतबारीमा सँगै लगेर काम सिकाउनुहुन्थ्यो । १०-१२ वर्षको उमेरमा म खेतको आली लगाउन पोख्त भएको थिएँ । साथै विद्यालयमा पूर्वव्यवसायिक शिक्षा र कृषि शिक्षा पढेपछि म धेरै काममा बुवालाई सघाउने गर्दथें ।
बाबा बिहान सबेरै उठेर खेतबारी र गोठमा काम गर्न जानुहुन्थ्यो । हामी चाँहि खरानीले पूजासामाग्री माझेर चोखो बनाएर राख्ने गर्थ्यौँ । खाना खानु अघि सधैँ नुहाइधुवाइ गरी पाञ्चायन देवताको पूजाआजा गर्नुहुन्थ्यो । चौकामा बसेर गायत्री जप गर्नुहुन्थ्यो । उहाँले होटेल पसलमा कहिल्यै पनि खाज वा खाना खानुभएन । जहाँ गए पनि आफै खाना पकाएर खानुहुन्थ्यो । सात्त्विक र शाकाहारी भोजन गर्नुहुन्थ्यो । उहाँले अद्वैत संस्थाका प्रवर्तक डा क्षितीशचन्द्र चक्रवर्तीले लेख्नुभएका आध्यत्म दर्शनका पुस्तकहरू सँगालेर राख्नुभएको थियो । साथै कापीमा गीत ,कविता र विविध लेखहरू लेखेर राख्नुभएको थियो । हरेक वर्ष हिमाल पञ्चाङ्ग (पात्रो) साथमा राख्नुहुन्थ्यो । फुर्सदको समयमा मलाई पनि किताबहरू र आफूले लेखेका लेख्रचनाहरु पढ्न लगाउनु हुन्थ्यो । म इन्जिनियरिङ पढ्दै गर्दा घरमा आउँदा पढाई छुट्छ भनेर आफै पोखरामा छात्रावासमा भेट्न आउनुहुन्थ्यो । होस्टेलका साथीहरूले अहिलेसम्म उहाँको कुरा गरिरहन्छन् ।
मेरो बाबा आमाबाबु दुवैको टुहुरो हुनुहुदो रहेछ । आठ वर्षको उमेरमा आमा र अठार वर्षको उमेरमा बुवालाई गुमाउनुभएका मेरा पिताजीलाई बन्धुबान्धबहरुले सहयोग गरेको कारण गृहस्थी चलाउन केही सजिलो भएको थियो । विवाहको बेला मेरो बाबा १६ वर्ष र आमा ११ वर्षको हुनुहुन्थ्यो रे । विवाह भएको २ वर्षमै अंशबन्डा गरी उहाँहरू अलग बन्नुभएको रहेछ । न्यौपाने परिवारमा सबै छोरा नातिलाई घरमा नै लेखपढ गर्न सिकाइदै आएको परम्परा रहेछ । विसं १९९९ सालमा चुँदी रम्घामा भानु संस्कृत पाठशाला खोलिए पनि अलिक टाढा भएको र घरायसी समस्याले गर्दा त्यहाँ नाबरुङ ओकलाङबाट कोही पनि पढ्न जान सकेनन् । मेरो बाबाको साँहिलाबाको छोरा( मेरा जेठाबा ) माधवलाल न्यौपाने असल समाजसेवी र कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो । उहाँले नै विसं २०१५ सालमा ओकलाङमा श्री सूर्योदय प्राथमिक विद्यालयको स्थापना गरेर सबैलाई पढ्न प्रेरित गर्नुभएको रहेछ । पछि सबै भेगका बासिन्दा मिलेर विसं २०२१ पौष छ गते चुँदी टुहुरे पसलमा चनद्रावती मा वि स्थापना गरेका रहेछन् ।
मेरो पिताजीको नाम ढबुलाल न्यौपाने । राशिको नाम भने ऋषिराम न्यौपाने । स्वाध्ययनबाट नै धेरै धेरै धर्मग्रन्थ र आध्यात्मिक पुस्तक अध्ययन गर्नुभएको थियो । हामीहरू सानो छँदा गल्ती गरे गाली त गर्नुहुन्थ्यो तर कहिल्यै कुट्ने पिट्ने काम गर्नुभएन । बरु सम्झाइबुझाई गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो – ‘काग बाठो हुन्छ तर बिष्टा पनि खान्छ । बाठो मान्छेले जे पनि गर्छ । असल मान्छेले मात्र विवेक प्रयोग गर्छ ।’
पिताजी भन्नुहुन्थ्यो -‘जसले धर्म मान्दैन , उसले पाप के हो भन्ने पनि जान्दैन । पापको गुरु लोभ हो । यही लोभले मनुजता नष्ट हुँदै गएको छ । ‘अहिलेको बदलिंदो परिस्थिति र परिवेशको सन्दर्भमा भन्नुभएको थियो -‘पहिले पैसा कसैको थिएन ,सत्य थियो । पैसा नभए पनि सत्यको आधारमा जिन्दगी चलिरहेकै थियो । अहिले पैसा नभए जिन्दगी चल्दैन र पैसाको लागि मान्छेले जे पनि गर्न तम्सन्छ । ‘ घोत्लिएर सोच्छु – एउटा निम्न मध्यम वर्गीय किसान परिवारको मान्छेले आफ्ना नौ जना सन्तति ( ५ भाइ छोरा र ४ बहिनी छोरी ) लाई कसरी पालनपोषण गर्नुभयो र कसरी शिक्षादीक्षा दिनुभयो होला ? जब कि अहिले एकदुइ सन्तान हुर्काउन पढाउन पनि कि जागिर खानुपर्ने , कि खाडी मुलुक भासिनु पर्ने बाध्यता छ । पहिलेको जस्तो सामाजिक संरचना किन कायम रहन सकेन ? प्रश्न अनुत्तरित रहेको छ । पिताजी २०६५ सालमा ७४ वर्षको उमेरमा गोलोक धाम प्रस्थान गर्नुभयो र आमा अहिले ८४ वर्षको उमेरमा पाइला टेक्दै हुनुहुन्छ । सबैका बाबु आमालाई छोरा नातिको भविष्य सम्झेर विरक्त लागेर आउने रहेछ । आमाबुवाको सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी हुन आउँछ ।