अस्ट्रेलिया, नयाँ वर्ष २०७९को अवसर पारी सुदूरपश्चिम समाज अस्ट्रेलियाले सिड्नीमा आयोजना गरेको चर्चित नेपाली गायक, गायिकाहरू सम्मिलित सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रम न्यु यर धमाका २०७९ सम्पन्न भएको छ ।
स्थानीय मेयर निका कार्टिश प्रमुख अतिथि रहेको कार्यक्रममा चक्र बम, डिल्ली फोम्बो, शिव परियार, ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार लगायतका चर्चित नेपाली गायक- गायिकाहरूले आफ्ना चर्चित गीतहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा उनीहरूका साथै अस्ट्रेलियामा रहेका स्थानीय कलाकारहरू पनि सहभागी जनाएको थिए । कार्यक्रम मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि विजेता तथा चर्चित मोडल, कोरियोग्राफर प्रिया रानी लामाले सञ्चालन गरेकी थिइन् । प्रिया रानी लामाको कोरियोग्राफीमा स्थानीय मोडलहरूले कल्चरल ड्रेसमा र्याम्पमा क्याटवाक समेत गरेका थिए।
कार्यक्रममा सुदूरपश्चिमका देउडा भाका, छलिया नाच लगायतका कला प्रस्तुत गरिएका थिए । पूर्व देखि पश्चिमको कलाकारहरू सम्मिलित गरी आयोजना गरिएकोले कार्यक्रम भव्य र उल्लासमयरुपमा सम्पन्न भएको थियो। सुदूरपश्चिम समाजका अध्यक्ष मोहन देव भट्टका अनुसार कार्यक्रममा एक हजार भन्दा बढी दर्शकहरूले सहभागी जनाउँदै नयाँ वर्षको शुभकामना सहितको नेपालीहरूको एकताको भावना साटेका थिए।
माराना अडिटेरियममा आयोजित कार्यक्रममा सहभागीलाई सहजीकरणको साथै भरपर्दो सुरक्षा व्यवस्था सहित कार्यक्रम सफल पूर्वक समापन गरिएको बाउ एवेंट्स एण्ड इन्टरटेनमेन्टका म्यानेजिङ डाइरेक्टर राकेश जोशीले बताए ।
नेपालबाट आएका कलाकारहरू डिल्ली फोम्बो, शिव परियार, तृष्णा गुरुङ र मिलन नेवारले मेलबर्नको लव मेसिन क्लबमा आयोजित अर्को कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिएका थिए ।