अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 20:01

नर्थ क्यारोलाइनामा सांस्कृतिक झाँकी सहित छैटौँ नेपाल दिवस मनाइने

बिआरटीनेपाल २०७९ वैशाख ३ गते १५:१० मा प्रकाशित

यही अप्रिल १६, २०२२ का दिन नेपाली नयाँ वर्षको अवसर पारेर संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित मोरिसभिल टाउनमा सांस्कृतिक झाँकी सहित छैटौँ नेपाल दिवस मनाइने भएको छ । स्थानीय संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले कार्यक्रमको तयारी बारे एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ। संस्थाका अनुसार मोरिस्भिलको स्थानीय चर्चस्ट्रीट पार्कमा नेपाली विविधता झल्किने भेसभुसामा बाजागाजा सहित एक झाँकी प्रस्तुति गरिने छ। कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि, नर्थ क्यारोलाइना प्रान्तीय सरकारका प्रतिनिधिहरू, स्थानीय नगरपालिकाका निम्तालुहरू, नर्थ क्यारोलाइना र छिमेकका अन्य प्रान्तबाट नेपाली मूलका विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथिको रूपमा उपस्थित हुनेछन्। विगत छ वर्षदेखि मनाउन थालिएको नेपाल दिवस कार्यक्रमलाई स्थानीय मोरिस्भिल टाउन र वेक काउन्टीले अप्रिलको तेस्रो शनिवारलाई नेपाल दिवसको रूपमा सरकारी मान्यता दिएका छन्।

नेपाली मूलका स्थानीय समुदायले यो कार्यक्रमलाई गौरवको रूपमा लिएका छन् । कोरोनाको महामारीका कारण विगत २ वर्ष यो कार्यक्रम हुन नपाए पनि यो वर्ष आयोजकहरू उत्साहका साथ कार्यक्रम सफल पार्न लागिपरेका छन् । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका महासचिव डा. विकास शाक्यका अनुसार कार्यक्रममा नेपाली मूलका र नेपाललाई माया गर्ने समुदायका गरी झन्डै एक हजार जना जति सहभागी हुने अपेक्षा गरिएको छ । दिनको ११ बजे सांस्कृतिक झाँकी सहित सुरु हुने कार्यक्रम नयाँ वर्षको शुभकामना आदानप्रदान र रमाइलो सांस्कृतिक कार्यक्रम सहित दिनैभरि चल्नेछ। साथमा नेपाली खाद्य परिकार र नेपाली कला सम्बन्धी स्टलहरू पनि रहने कुरा आयोजकले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । प्रवासमा स्थानीय सरकारको मान्यता सहित यसरी नेपाल दिवस मनाउनु आफैमा गर्वको कुरा भएको बताउँदै यस कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मदत पुग्ने विश्वास गर्छन् आयोजक संस्थाका अध्यक्ष आरपी पौडेल । यस्ता कार्यक्रमले बिदेसिएको दोस्रो पुस्तालाई नेपालसँग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्धन गर्न पनि टेवा पुग्नेमा विश्वस्त छन् अध्यक्ष पौडेल । नेपाल दिवस कार्यक्रममा आफ्नो पहिचान झल्किने भेसभुसा सहित सहभागी भई प्रवासमा नेपाली पहिचानलाई अझ उच्च पार्नको लागि आयोजक संस्थाले सम्बन्धित सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू