अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

नेपालकाे अर्थतन्त्र श्रीलङ्काकाे बाटाेमा पुग्ने अवस्थामा छैन : उपाध्यक्ष ढकाल

बिआरटीनेपाल २०७८ चैत २३ गते ६:५६ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशकाे अर्थतन्त्र श्रीलङ्काको बाटाेमा पुग्ने अवस्था नभएको बताउनुभएको छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले देशकाे अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलङ्काको बाटाेमा भने नपुग्ने बताउनुभएको हो । उपाध्यक्ष ढकालले अहिले देशकाे अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताउनुभयो । उहाँले बैंकहरूले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याज दर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गर्नुभयो । उपाध्यक्ष ढकालले बैंकहरूले जबसम्म व्यवसायले थाम्न सक्ने ब्याज दर हुँदैन तबसम्म व्यावसायिक गतिविधि अगाडि बढ्न नसक्ने बताउनुभयाे ।

कार्यक्रममा पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री मोती दुगडले देशको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले निजी क्षेत्रसँग कुनै छलफलसमेत गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरूको मनोबल खस्काउने काम गरेको दुगडले बताउनुभयो । सरकारले निजी क्षेत्रलाई हेपेर अपराधीको जस्तो व्यवहार गरेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू