अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 01:36

सरकारले अर्थतन्त्र सुधार्न चासाे नदेखाउँदा श्रीलङ्काकाे झल्काे आयाे : अर्थविद्

बिआरटीनेपाल २०७८ चैत २२ गते ८:४६ मा प्रकाशित

अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन् । आज मङ्गलवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै अर्थविद्हरूले नेपालको अर्थतन्त्र सङ्कटोन्मुख हुँदासमेत सरकारले उपेक्षा गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।  अर्थविद् डा. डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका सङ्केतहरू राम्रो नभएको र अर्थतन्त्र गम्भीर सङ्कटतर्फ गइरहेको बताउनुभयो । उहाँले सरकारले अहिलेबाट नै बढी सजग भएर नीति निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयाे ।

अर्थविद् खनालले भन्नुभयो, ‘अर्थतन्त्रका सङ्केतहरू राम्रा छैनन्, गम्भीर सङ्कटतर्फ अर्थतन्त्र जाँदैछ । एकातिर अर्थतन्त्र ह्रासमूलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर आयात व्यापक रूपमा बढ्ने र मूल्य वृद्धि पनि व्यापक हुने यस्तो किसिमको जटिल र एकले अर्कोलाई अन्तरसम्बन्ध झनै गहिरो बनाएर जाने प्रवृतिहरू देखिएका छन् । हामीले यसबारे धेरै पहिलादेखि भन्दै आएका थियौँ । तर सरकारका जिम्मेवार मान्छेहरूले सात प्लस प्रतिशत आर्थिक वृद्धि गर्छाैँ भन्ने ढङ्गले प्रपोगान्डा फैलाए । सरकारले सम्बन्धित सरोकारवाला, निजी क्षेत्र र त्यसका विज्ञहरू सबैलाई राखेर छलफल गर्नुपर्नेमा त्यसमा चासो दिएको देखिएन । यसले कता–कता श्रीलङ्काको झल्को दिन्छ ।’

त्यस्तै अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले सरकारको रेमिट्यान्स कुन गतिमा गइरहेको छ भन्ने कुराको आँकलन गर्न नै गाह्रो हुन थालेको बताउनुभयो । उहाँले नेपालमा अहिले अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय नभइरहेको भन्दै यी तीनै अङ्ग एकै ठाउँमा उभिएर अर्थतन्त्र सुधारका लागि नयाँ नीति ल्याउनुपर्नेमा जाेड दिनुभयाे ।

अर्थविद् प्याकुरेलले भन्नुभयो, ‘सरकारमा भएका मूलभूत तीन अङ्ग एकाकार भएको देखिँदैन । योजना आयोग एकातिर छ, राष्ट्र बैंक एकातिर छ, अर्थ मन्त्रालय एकातिर छ । यस्तो बेलामा देशलाई सङ्कटमा नधकेल्ने हो भने यी निकायहरूकाे बीचमा समन्वय कायम भएर उनीहरूले लिने नीतिले देशको समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने हुनाले त्यतातिर हामीले दृष्टिगत गर्न जरुरी छ । श्रीलङ्कामा पनि भ्रष्टाचार बढ्यो, त्यसलाई नियन्त्रण गर्न सकिएन । त्यहाँ राजनीतिक पार्टीहरूले परिवारवादलाई छोड्न सकेका छैनन् । नेपालमा पनि त्यही नै छ ।’

त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर सङ्कट देखिएको बताउनुभयो । उहाँले भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको बताउनुभयो ।

अर्थविद् अधिकारीले भन्नुभयो, ‘हामी अन्तरनिर्भर होइन कि परनिर्भर भयौँ । विश्वको अर्थतन्त्रमा अहिले आईएमएफको प्रमुखककाे कुरा मात्र होइन, कसैले पनि भोलि ठ्याक्कै यसो हुन्छ भनेर सम्भावना गर्न सक्ने, अनुमान गर्न सक्ने अवस्था छैन । त्यति अनिश्चितता आइसकेको हुनाले अब त्यसको प्रभाव विश्वमै पर्छ । त्यसको अग्रपङ्क्तिमा श्रीलङ्का देखिएको छ ।’

अर्थविद् अधिकारीले राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र अन्य मन्त्रालयहरु मिलेर मौद्रिक नीतिबाट भएको नकारात्मक कुरालाई आर्थिक र वित्तीय नीतिबाट हस्तक्षेप गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले विदेशबाट आउने रेमिट्यान्स किन घट्यो भन्ने कुरा पत्ता लगाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय