(साइनु, सोली डोली, तेस्रो समर कोरोना कहर, मलाई मन पर्छ, काँचुली)
नेपाली साहित्य जगतका अनगिन्ती साहित्यकारहरूमध्ये एक अग्रज साहित्यकार सुरेश भट्ट धेरै वर्ष शिक्षण पेसामा बिताएर, साहित्यमा पनि उति नै तनमयका साथ अघि पर्दै आउनु भएका व्यक्तित्व हुनुहुन्छ । शिक्षण कालमा शिक्षण प्रमुख र साहित्य दोस्रोमा परे पनि अवकाशपछि उहाँ पूर्णकालीन साहित्यकार हुनुभएको कुरा फेसबुक र विभिन्न अनलाइनमा प्रकाशित उहाँका सुन्दर मूल्यवान् र पृथक् रचनाहरूबाट हामीलाई प्रस्ट हुन्छ । साहित्य मात्र नभएर राजनीति, समाजसेवा, प्राचीन धर्म, कर्म, इतिहास पौराणिक कुराहरू पनि उहाँका रुचिका विषय हुन् । मनभित्र रचनाको बाढी नै भएर पनि लिखित अलिखित रूपमा उहाँका कृतिहरू मनको मझेरीमा धेरै वर्ष सम्म थाँती रहिरहे ।
अहिले आएर एकैसाथ उहाँका पाँच भिन्न भिन्न विधागत कृति बजारमा आएर विमोचन/लोकार्पण भइसकेका छन् । एकैसाथ धेरै कृति प्रकाशन गर्ने श्रष्टाहरूको सूचीको पहिलो पंक्तिमा नभए पनि यस लहरमा कतै उहाँ अटाउनु भएको छ अहिले । सबै श्रष्टा भिन्न भिन्न हुन्छन्, सबैको आ-आफ्नै विचार भाव हुन्छ । जीवन जगतलाई सबैले आ-आफ्नो भोगाइबाट केलाउँछन् । सुरेश भट्टका सिर्जना केही हदसम्म पृथक् छन्, अरू श्रष्टाहरूबाट ।
१) साइनु —- नेपाली जनजिब्रोसँग, लोकसँग गाँसिएको उत्कृष्ट शीर्षक रूपी यस कृतिमा लोकलयमा आबद्ध विविध विषयका रचनाहरू छन् । लेखकमा सबै विषयवस्तुको धेरै नै ज्ञान छ । पिरामिड तथा माने शैलीमा रचनाहरू सिर्जना गरेर सर्जकले आफूलाई पृथक् शैलीमा उभ्याउन सफल हुनुभएको छ यस कृतिका माध्यमबाट । कृतिले लोकलयको, लोक वेदको उत्थान मात्र गरेको छैन, कृति भित्र विविध विषयहरू समेटिएका छन्, पढ्दै जाँदा पाठकले ज्ञान गुण, मात्र नभएर रमाइलो आनन्द पनि अनुभूति गर्न सक्छन् । कतिलाई अचम्म पनि लाग्न सक्छ, के हाम्रो लोक जीवन यस्तो थियो, छ र यस्तो यस्तो पनि बोलिन्छ भनेर । कृति पढेर नै यसको स्वाद लिन सकिन्छ । लोकलय नै हाम्रो साहित्य संस्कृतिको पहिलो ढोका हो । यसमा कसैको दुई मत छैन । साइनु कृति शीर्षक सार्थक र बेजोड छ ।
२) सोली डोली — सोली डोली सर्जकको त्यस्तै गहकिलो दोस्रो कृति हो । यसमा अनुप्रास युक्त हाइकुहरू छन् र मिलाउँदा कतै कतै शब्द तथा वाक्यलाई भाँच्न पुगेका कुरा सर्जक भट्ट स्वयंले स्विकार्नु भएको छ । सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले पुस्तक वजनदार छ । हाइकुहरू प्रशस्त छन् । फरक फरक विषयका, राम्रा, रमाइला, घोचिला, पेचिला, उक्ति, सूक्ति, उपदेश उपाय आदिले निकै ज्ञान वर्धक छ यो हाइकु कृति पनि । लेखकले घर देखि गाउँ सहरसम्म र देश देखि विदेश सम्म, स्वर्ग, मर्त्य, पाताल तीनै लोकको पनि रचनामा वर्णन गर्न सक्नुभएको छ । जे जति भए पनि रचनामा काल्पनिकता एकदमै न्यून र देखे भोगेका यथार्थ सबल छन् । यसर्थ सर्जक सही धरातलमा उभिएको देखिन्छ । निष्पक्ष, निडरता, सत्यता, प्रष्टता लेखकका उचाइ हुन् ।
३) काँचुली — काँचुली कृति खण्ड क ऊक्त क र खण्ड ख मुक्तक गरी दुई भागमा छ । मुक्तक धेरैले लेखे पनि उक्त कमा सायदै कलम चलेको होला र त्यो पनि ठेट नेपाली लोक, लय, झर्रा, गाउँ घरमा, पहाडी कुना काप्चामा बोलिने ठेट नेपाली शब्दावलीहरूका साथै पौराणिक, धर्म सूक्ति, उपदेश र उपयोगी । मलाई जानकारी भए सम्म यो नै नेपाली साहित्यमा पहिलो उक्त क सँग्रह होला । उक्त क सामाजिक, राजनीतिक, आर्थिक तथा समग्र विषयका काम लाग्ने उपदेशका, उपायका, ब्यङग वाणका रूपमा पनि छन् । यसैले पनि मुक्तक भाग एक र उक्त क भाग दुई नामक साइनु कृति पृथक् र महत्त्वपूर्ण छ । काँचुली/उक्त क कवितामा नयाँ विधाको प्रवर्तन हो । मुक्तकको काँचुली/बाहिरी आवरण भएता पनि मुक्त र मौलिक जब हुँदैन भने उक्ति सूक्ति कहावत उखान टुक्का भनाई आदि उद्धरण गरी चतुश्पदीय लेखिन्छ भने त्यो कविको मौलिक नहुने हुँदा उक्तक हो मुक्तक हैन भन्ने प्रवर्तक भट्टको भनाई छ । भाषागत रूपमा युगौँ देखि र लोकमा चलिआएको सूक्ति टुक्का जुन छन् त्यो कविको मौलिक हैनन् भन्ने भट्टको दाबी सही हो भन्नेमा भाषा विज्ञ साहित्यकारहरूको पनि मत भेटिन्छ । जे भए पनि उक्त कलाई अलग र मुक्तकलाई अलग किताब बनाएको भए हुने भन्ने लाग्दछ मलाई चाहिँ ।
४) तेस्रो समर, कोरोना कहर —आकारले, सँख्याले सानो यस कृतिले पहिलो, दोस्रो र तेस्रो गरी फैलँदै गएको कोरोना कहरको चित्रण गरेको छ । सबैले भोगेका महामारीका दुःख छोटो, मीठो र मार्मिक रूपमा चित्रण छन् । सरल भाषा शैलीमा छ । यसले हामी र हाम्रो देशलाई मात्र नभए सारा विश्व र मानवलाई नै आतङ्कित गरेको छ भनेर हामी सहजै बुझ्न सक्छौ । लेखक स्वयंले विदेश र स्वदेशका कोरोना कहर आफ्नै आँखाले प्रत्यक्ष नियाल्नु भएको छ ।
५) “मलाई मन पर्छ”— नामक बाल कविता कृति पनि आकारमा सानो भईकन निकै गहकिलो खुराक युक्त छ यो पुस्तक बालबालिकाहरूको लागि । यसले बालबालिकालाई पठनमा निकै आनन्द आउनेछ, ज्ञान पनि दिनेछ । लय हालेर पढ्न गाउन राम्रोसँग सक्नेछन् बालबालिकाहरूले । शिशु तथा नर्सरी कक्षा देखि तीन कक्षा सम्मका कुनै पनि पाठ्यपुस्तकमा यस भित्रका कुनै एक/दुई कविता समावेश गरिदिए राम्रो हुनेछ ।
यसरी सरसर्ती हेर्दा पनि, साहित्यकार सुरेश भट्टका पाँचै कृतिहरू लोक बोलीका मीठा शीर्षकमा छन् । मै हु भन्ने पण्डित, विशिष्ट ज्ञाता देखि लिएर नेपाली भाषा पढ्न सक्ने जो कोही सामान्य व्यक्तिलाई पनि पढ्न, बुझ्न सहज छ । सच्चा स्रष्टा यस्तै हुनुपर्छ, जसलाई सबैले ग्रहण गर्न सकुन्, सबैले बुझ्न सकुन् । डोका, ढोका सबैतिर कृति र कृतिकार उस्तै सुगन्धित हुन सकियोस् । यो विशेषता सर्जकमा छ । स्पष्ट वक्ता, प्रस्ट स्वभावका धनी सुरेश भट्ट साँच्चै उदार र निश्चल हुनुहुन्छ भन्ने कुरा कृति पढेपछि हामी सबैलाई थाहा हुनेछ । उहाँ दुई व्यक्ति भएर देखिनु भएको छैन । हात्तीको चपाउने र देखाउने अलग अलग दाँत जस्तो उहाँको कृति छैनन् । सही सत्य, यथार्थ, उपयोगी, सहज सरल, थोरै पृथक् जस्तो शैली र अनेक विषय वस्तु र चेतनामूलक उपयोगी छन् उहाँका सबै कृतिहरू । पुरातन र गाउँ घरलाई माया गर्ने व्यक्तिले यसको मूल्य झनै बुझ्नेछन् भने आधुनिक, सहरिया तथा प्रवासमा मुटुमा देश, भेष, साहित्य, संस्कृति राखेर बाच्ने सबैले । प्रौढाबस्थामा आएर पनि साहित्यमा यति सक्रिय, ऊर्जाशील सुरेश दाइका साहित्यले शिखर चुमुन् । नेपाली साहित्यको भण्डार वृद्धि हुँदै जाओस्, अरू धेरै कृतिहरू आउन् । साहित्यिक हिसाबले र एक शुभेच्छुक बहिनीको हिसाबले पनि साहित्यकार दाइ सुरेश भट्टलाई धेरै धेरै बधाई र शुभकामना मेरा तर्फबाट । अहिलेलाई एकै पटक निस्केका उहाँका यी पाँच कृतिहरूबारे यति नै ।