कोलोराडो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले लगभग हरेक दिन नयाँ रेकर्ड कायम गरेको छ । यसले विश्वभरका आम मानिसलाई आर्थिक भार थोपरेको छ
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले हरेक सर्वसाधारणको घर खर्च बढाउँछ । वाल स्ट्रिटको अनुमान अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धिले अमेरिकामा हरेक परिवारको वार्षिक खर्च २ हजार अमेरिकी डलरले बढ्ने देखिन्छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि अचानक तातो बहसको विषय बनेको छ । मूल्य वृद्धि धान्न अत्यावश्यक बाहेकका खर्च कटौती गर्नुपर्ने अवस्था बनेको छ । हरेक तीनमध्ये एक अमेरिकीले अघिल्लो महिना खर्च धान्न कारको प्रयोग घटाएको बताएका थिए । । आखिर पेट्रोलियम पदार्थको मूल्य किन यसरी बढेको हो ? अहिले हरेक सर्वसाधारण यसको कारण जान्न चाहन्छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुका तीन मुख्य कारण यस्ता छन् ।
महामारीपछि बढेको माग
कोरोना भाइरसको महामारी नसकिँदै पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ । सन् २०२० को मार्चबाट महामारी सुरु भएसँगै पेट्रोलियम पदार्थको माग करिब ५० प्रतिशतले घटेको थियो । माग घटेसँगै यसको मूल्यमा पनि भारी गिरावट आएको थियो । तर, कोरोनाको महामारी नियन्त्रणमा आउन सुरु गरेसँगै सवारी साधन उपभोक्ता बढेका छन् । जनजीवन सामान्य बन्दै गएको छ । यसले पेट्रोलियम पदार्थको मूल्य ४५ प्रतिशतले बढाएको छ ।
उत्पादनमा कटौती
कोरोना भाइरसको महामारीका बेला माग घटेसँगै ओपेक राष्ट्र र रसियाले पेट्रोलियम पदार्थको उत्पादनमा कटौती गरेका थिए । उत्पादन कटौती दैनिक १० मिलियन ब्यारेलसम्म पुगेको थियो जुन विश्वव्यापी मागको १० प्रतिशत हो ।
कोरोना महामारी नियन्त्रणमा आउन थालेसँगै जनजीवन सामान्य बन्दै गयो । आर्थिक गतिविधि पुर्ववत अवस्थामा आउने क्रम सुरु भयो । तर, ओपेकले पेट्रोलियम पदार्थको उत्पादन बढाएन । यसले माग अनुरूप आपूर्ति हुन नसकी मूल्य वृद्धि हुन गयो ।
रुसमाथिको नाकाबन्दी
युक्रेनमा आक्रमण गरेसँगै अमेरिकाले रसियामाथि आर्थिक नाकाबन्दी घोषणा गरेको छ । त्यससँगै अमेरिकाले रसियाबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द गरेको छ ।
तर, अमेरिकाले आफ्नो कूल मागको १० प्रतिशतभन्दा कम पेट्रोलियम पदार्थ रसियाबाट आपूर्ति गर्दै आएको छ । यस्तो अवस्थामा अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य आकाशिनुको कारण पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्नु हो ।
विज्ञहरूले अमेरिकामा प्रति ग्यालन पेट्रोलियम पदार्थको औसत मूल्य ५ अमेरिकी डलर पुग्न सक्ने बताएका छन् । अहिले क्यालिफोर्नियामा प्रति ग्यालन पेट्रोलियम पदार्थको खुद्रा मूल्य ५ डलर ७२ सेन्टसम्म पुगेको छ । यस्तो अवस्था बढीमा अप्रिलसम्म रहन सक्ने कमर्सिया ब्याङ्कका चिफ इकोनोमिस्ट बिल आडम्सको भनाइ छ ।