पराई होइन म तिम्रै अंश हुँ ।
छोरी भएर के भो? तिम्रै त वंश हुँ ।
जन्मेदेखि कन्यादानको तयारी गर्छौ,
हुर्काई, पढाई सफल पार्छौ ।
जुन आँगनमा जन्मे, त्यही रम्न चाहन्छु,
तिम्रो काखमा हुर्के, तिमीसँगै जिउन चाहन्छु ।
नपठाऊ बाबा, मलाई पराई घर,
जन्मघर नै अधिकारले भन्न पाउँ मेरो घर ।
गर्भ उही पिडा उस्तै,
कसरी भए फेरि म पराई ?
हुर्काई बढाई दान गर्छौ,
सिन्दूरको भरमा, अरूलाई सुम्पिन्छौ ।
म कुनै निर्जीव बस्तु होइन,
कहिले मेरो, भावना बुझ्छौ ?
कोखको माया मलाई नि लाग्छ,
नौलो घर जाने डर, सधैँ लाग्छ ।
सजिलो छैन, जन्मघर बिर्सन ,
सजिलो छैन, बिरानालाई स्विकार्न ।
मुटु छाडी, शरीर लिई जानु छ,
एउटा घरमा हुर्के अर्कोमा मर्नु छ ।
समय बदली रहेछ,
छोरीले पनि शिखर चुम्दैछन् ।
म पनि छोरा भन्दा, कहाँ कम छु र ?
आँट ममा कहाँ कम छ र ?
घर मात्रै होइन, देश हाँक्न सक्छु,
परे हलो जोती, धान रोप्न सक्छु ।
ममा ममता मात्र छैन ,
परे दुर्गा भई शत्रु नाश गर्न सक्छु ।
॥समाप्त॥