अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 04:35

बढ्दो दलाली घट्दो मलामी

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७८ फागुन २३ गते २१:२५ मा प्रकाशित

यसपटक स्वतन्त्र रूपले पूर्वतिर घुम्ने सल्लाहअनुसार २०७६ माघ ३ गते बिहानै स्वयम्भूबाट छवि लुइटेल र गोविन्द लुइटेल बिहानै कीर्तिपुर आइपुगे । खलु, छलु र गोलु गरी तीन लुइटेल एउटा गाडीमा पूर्वतिर लागियो । एकै चोटि तीन थरी तीनजना पो हिँड्न हुन्न भनिएको छ त एकै थरी तीनजना हिँड्न हुन्न त भनिएको छैन । यसरी तीन लुइटेलले लामो यात्रा गरेको यो पहिलो पटक हो । मौसम चिसै भएकाले बाक्ला लुगा लाएर हिँडियो । छलुसँग छोटो यात्रामा प्रशस्तै हिँडेको भए पनि उनको ड्राइभमा लामो यात्रा गरेको यो पहिलो पटक भएकाले सुस्त गतिमा यात्रा गर्ने सल्लाह गरी ‘यो तिम्रो परीक्षा हो है’ भन्दै अगि बढियो । हामी रिङरोडबाट बल्खु हुँदै कोटेश्वर पुग्यौँ । कोटेश्वरबाट जडिबुटीतिर मोड्दा गाडीको चक्का एक्कासि फुटपाथमा उक्लियो । सबजना झस्कियौँ । छलुले बिस्तारै गाडी बाटामा ल्याए । उनी ड्राइभमा यति छिटै फेल भएकामा म चिन्तित भएँ तर उनलाई फेल गराउने कुतत्व हुस्सु थियो… । छलु मलाई मन पर्नेमध्येका मान्छे भएकाले उनीसँग यात्रा गर्न रमाइलो हुनेमा म ढुक्क थिएँ ।

हामी कोटेश्वर पार गरेर सुस्त गतिमा बनेपा धुलिखेल हुँदै अगि बढ्यौँ । नेपालथोकमा पुगेपछि लुइटेलकैमा खाजा खाने सल्लाह गरी केही समय रोकिएर भीम लुइटेलका पसलमा खाजा खाइयो । त्यहाँबाट खुर्काेट हुँदै अगाडि बढ्दा सिमसिम पानी र हुस्सुले बाटो नदेखिएर रोकिँदै जानुप¥यो । यो बाटो धेरैपटक हिँडिएको भए पनि यस्तो ठ्याम्मै बाटै नदेखिने गरी हुस्सु लागेको पहिलो पटक भोगियो । जिन्दगी सोचेजस्तो नभएर भोगेजस्तो हुन्छ भनेको यस्तै त हो । ऐनेभिर हुँदै सेल्फीडाँडामा पुग्दा पनि सिमसिम पानी परिरहेकै थियो । गोलुले फोटो खिच्ने भनेपछि हामी ओर्लिएर भिज्दै हतारहतारमा केही फोटा खिची अगाडि बढ्यौँ । त्यहाँ अरू पनि भिज्दै हतारमै फोटा खिच्दै थिए ।

भिमानमा पुगेर हामीले शिखर होटलमा खाना खायौँ । होटलको सरसफाइ र खाना ठीकै लाग्यो । हाम्रो यात्रा सुस्तरी लाहान हुँदै मौलीमा पुगेर रोकियो । त्यहाँ भड्डुमा पकाएको खसीको मासु र चिउरा बजाइयो । त्यहाँबाट अगि बढेपछि सप्तकोसी पुलमा एकछिन रोकिएर इनरुवा पुगियो । गोलुकहाँ उसिनेको तरुल खाएर उनलाई त्यहीँ छोडी छलु र म इटहरीतिर लाग्यौँ । इटहरीमा छलुका नातेदार माधव वन तालिम केन्द्रका लेखा अधिकृत पोख्रेलकहाँ पुगियो । उनले यातायातका लेखा अधिकृत बोधराज निरौला र गङ्गा केसीलाई बोलाए र हामीलाई खानपिनका लागि बाहिर लिएर गए । खानपिन गरी फर्केर त्यहीँ सुतियो ।

अर्को दिन बिहानै प्रातभ्रमण गर्ने निहुँमा मापोले खनारमा जग्गा देखाए भने बोनिले इटहरीमा घर पनि देखाए । त्यसपछि याम घिमिरेलाई लिएर बक्लौरीको जग्गा हेर्न गइयो । त्यहाँबाट फर्केर इटहरी आइपुग्दा हामीलाई भेट्न ईश्वर चौहान र ईश्वरा ओझा आइपुगे । अझ पूर्वतिर जग्गा हेर्ने योजना बन्यो । अनेक ठाउँमा गाडी रोक्दै जग्गा हेर्दै गोठगाउँ पुगियो र त्यहाँ धेरैवटा जग्गा हेरियो । कतै जग्गामा उभिएको देख्नेबित्तिकै वरपरका सब जम्मा भइहाल्दा रहेछन् । जग्गा देखाउने सबैले सबैतिरको जग्गा आफ्नै हो सस्तोमा मिलाइदिन्छु भन्न बाँकी राखेनन् । गोठगाउँमै खाना खाएर पूर्वाञ्चल विश्वविद्यालयको पनि अवलोकन गरियो ।

त्यहाँबाट फर्कँदा पनि दलालले हामीलाई छोडेनन्, बाइकमा पछ्याइरहे । श्रवण घिमिरेले हाइवेमा मुख ठूलो भएको धेरैवटा सटर बन्ने जग्गा निकै राम्रो जग्गा देखाए । मेनरोडबाट ८२ फिट छोडेर निर्माण गर्न सकिने भनी पिलरसमेत गाडिएको रहेछ । जग्गा निकै राम्रो भए पनि वरतिरपरतिरभन्दा निकै कम दाम भनेकाले मेरा मनमा शङ्का उत्पन्न भयो । नगरपालिकाका इन्जिनियरलाई फोन गरेर सोद्धा पो वास्तविकता थाहा भो त । त्यहाँ पुरानो मापदण्ड ८२ फिट भए पनि नयाँ मापदण्ड १२० फिट रहेछ । नयाँ मापदण्डअनुसार त्यो जग्गामा घर बन्ने त के कुरा जग्गा पूरै सकिएर पछाडिपटि अर्कैको जग्गासमेत केही फिट जाने रहेछ । मैले यो सब कुरा पत्ता लगाइसक्दा पनि ‘जग्गा राम्रो छ, यस्तो राम्रो जग्गा अन्त पाइँदैन, तपार्इँ आफ्नै मान्छे बरु अझ दाम मिलाइदिन्छु’ पो भन्दै थिए । चिन्नु न जान्नु केको आफ्नो मान्छे नि । त्यतातिरको बढ्दो विकृत दलाली मानसिकता देख्दा अचम्मै लाग्यो ।

काठमाडौँबाट आएको केही थाहा छैन भनेर कतिसम्म ठग्ने प्रयत्न गरेको होला भन्ठानी म छक्क परेँ । म त्यतैतिर खाइखेलेको, जग्गासमेत भएको र कुनै बेला अमिनसमेत भइखाको मान्छेलाई त यतिसम्म ठग्न खोज्छन् भने नयाँ मान्छेलाई के गर्दा हुन् ? त्यो जग्गा छलुले पनि निकै मन पराए, जग्गा मनपर्दाे पनि थियो । उनले ‘जग्गा सारै राम्रो र सस्तो छ काका, तपाईं नलिने भए म लिन्छु यो जग्गा’ भने । मैले सबै कुरा बताएपछि उनी त झन् तीनछक परे ।

हामीलाई काठमाडौँबाट गाडी नै लिएर जग्गा किन्न आएका यिनीहरूलाई केही थाहा छैन जे भने नि हुन्छ भन्ठानेर होला त्यहाँ जग्गा देखाउने थुप्रै मान्छे जम्मा भए र हामीलाई अनेकतिर जग्गा हेर्न कर गरे तर हामी गाडी चढेर हिँडेपछि सबै खिस्रिक्क परे । ईश्वर र यामलाई भने त्यताका धेरै कुरा थाहा रहेछ, फर्कँदा मात्र बताए… ।

गोठगाउँतिरबाट फर्केर हामीले इटहरी चोकको दक्षिणपटि साथी फ्युलकै छेउमा रहेको छलुको साथी गोपाल शर्माको जग्गा हे¥यौँ । जग्गा राम्रै भए पनि दाम अति चर्को र दामभन्दा पनि डुबानमा पर्ने ठानेर कुरो अगि बढाइएन । इलामबाट छलुका भाइ विष्णु लुइटेल इटहरी आइपुगेर लुइटेलको सङ्ख्या बढाए । मलाई विराटनगर छोडेर छलु र विलु इनरुवा गोलुकहाँ गए । म विराटनगरमा केही मान्छेसँग भेटघाट गरी इटहरी फर्किएँ । मलाई लिन याम आए र उनकै घरमा लिएर गए । राती उनकैमा बसियो ।

अर्को दिन बिहानै यामले हुस्सुको बेवास्ता गर्दै त्यहाँको पर्यटकीय स्थल तालतलैया घुमाए । तालतलैया विकास तथा संरक्षण समिति गठन गरी पहिलेभन्दा निकै सुन्दर बनाइएछ । त्यहाँ पनि धेरैतिर जग्गा देखाए र हेरियो पनि । इनरुवाबाट छलु र विलु इटहरी आइपुगेपछि पूर्वतिर लागियो । मापो पनि हामीसँगै गए । दमक पुगेर जगन्नाथ लुइटेलकहाँ खाना खाइयो । त्यहाँबाट माईधारमा पुगी लुइटेल बन्धु प्रतिष्ठानको कार्यालय अवलोकन गरियो ।


बिर्तामोडमा जल खाएर अनि गाडीलाई पनि खुवाएर हाम्रो यात्रा इलामतर्फ अगि बढ्यो । प्राकृतिक सौन्दर्य हेर्दै र जग्गा दलालीका चर्तीकलाबारे गफ गर्दै कन्याममा पुगेर गाडी रोकी स्पेसल चिया बनाउन लगाएर खाइयो । मौसम सफा भएकाले आँखाले देखेसम्मको सौन्दर्यपान गर्न बाँकी राखिएन । त्यहाँ टाँगिएको प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ लेखिएको ब्यानरले पनि मानिसलाई आकर्षित गरेको देखिन्थ्यो । त्यतातिरको विशेष खाले पोसाक लगाई घोडा चढेर फोटो खिच्ने कष्टचाहिँ गरिएन, कतिपय खिच्दै थिए…। ती सब उमेरका रहर हुन्… । त्यहाँबाट अगि बढेको हाम्रो यात्रा इलाममा विलुकहाँ पुगेर रोकियो र त्यहीँ बास बसियो । छापाखाना व्यवसायी विलुको फूलबारी सप्लायर्स अफसेट प्रेस राम्रै चलेको देखियो ।

अर्काे दिन बिहान सबेरै चिया खाजा खाई विलुलाई पनि लिएर पाँचथरतिर लागियो । हाम्रो यात्रा कतैबाट निर्देशित थिएन । यात्रालाई हामी नै निर्देशित गरिरहेका थियौँ । जमिन सिञ्चनको बेला नभए पनि हामीलाई जमिन टेक्न मन लाग्नेबित्तिकै गाडी रोकेर ओर्लिहाल्थ्यौँ र वरपरका डाँडाकाँडा र हिमालको दृश्यावलोकन गर्ने र फोटा खिच्ने काम गरिहाल्थ्यौँ । राँकेमा पुगेर त्यहाँको सफा मौसममा वरपरका डाँडाकाँडा र हिमालको दृश्यपानकासाथ चियापान पनि गरियो । हाम्रो यात्रा पाँचथरको सदरमुकाम फिदिमतिर ओरालो लाग्यो । जोरसाल बजारमा अवस्थित सशस्त्र प्रहरीको हिमशिखर गुल्ममा पुगियो । त्यहाँको गुल्मपति डिएसपी शैलेश श्रेष्ठले बाहिरै आएर हाम्रो स्वागत गरे । खाना पाकिसकेको रहेछ । खाना खाएर एकछिन आराम गरियो ।

हाम्रो गाडी ब्यारेकमै राखेर निकै माथि लब्रेकुटी भन्ने डाँडामा निर्माण गरिएको फाल्गुनन्दको सालिक देखाउन सशस्त्रको गाडीमा गुल्मपति शैलेशले दलबलसहित लगे । त्यहाँ जाने बाटाको अवस्था हेर्दा विशेष खालकै गाडी चाहिनेरहेछ ।

१९४२ साल कार्तिक २५ गते इलाम जिल्लाको इभाङ, चुक्चिनाम्बामा सामान्य किसान परिवारमा जन्मिएका नरध्वज लिङ्देनलाई केहीपछि फलामसिंह भन्न थालिएको र बेलायती सेनामा भर्ती हुँदा फाल्गुनन्द भएको रे । यिनले बेलायती सेनाबाट फर्किएपछि त्यस क्षेत्रमा सामाजिक, आर्थिक, शैक्षिक, भाषिक, धार्मिक सुधारका साथै आफ्नो मौलिक धर्म, संस्कृतिको जगेर्नाका लागि सामाजिक चेतना फैलाउने काम गरेकाले यिनलाई किराँत जातिका महागुरु भन्ने गरिन्छ । किराँत जातिका लिम्बू समुदायमा अधिक भोजभतेर गर्ने र जाँडरक्सी सेवन गर्नेलगायत अनेक प्रकारका विकृति र विसङ्गतिका कारण समाज बिग्रिएको भनी त्यसको सुधारका लागि यिनले १९८८ वैशाख २४ गते दस लिम्बूवान सत्रथुमका व्यक्तिहरूको धार्मिक भेला गरेर यही लब्रे कुटीमा सत्यहाङमा मुचुल्का पारित गरी प्रचारप्रसार गरे–गराएकाले यही ठाउँमा उनको सालिक बनाएको जानकारी पाइन्छ ।

फाल्गुनन्दको सालिक राखिएका परिसरमा यस्तो शिलालेख रहेको छ:
मुहिगुम अङ्सिमाङ निस्से सेक्खा सत्यहाङ्मा
महागुरु फाल्गुनन्द लिङ्देन ।
सत्यधर्म मुचुल्का समाज सुधार (स्मारक)
वि.सं. १९८८ साल वैशाख २४ गते यस
स्थानमा मुहिगुम अङ्सिमाङ महागुरु
फाल्गुनन्द लिङ्देनद्वारा ७ बुँदे सत्यधर्म
मुचुल्का पारित गरिएको थियो ।
८६ औँ समाज सुधार दिवसको अवसरमा
२०७३ साल वैशाख २४ गते मुहिगुम अङ्सिमाङ
आत्मानन्द लिङ्देन सेइङ मुहिगुम
अङ्सिमाङमा पवित्राहाङमा साँवाज्यूहरूद्वारा
समुद्घाटन भयो ।

२००५ सालमा यस भर्तीबाट बिदा भएका समाज सुधारक तथा किराँत धर्मका महागुरु मानिने फाल्गुनन्दलाई २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरिएको हो ।

पूर्वका धरोहरकै रूपमा लिन सकिने फाल्गुनन्दको सालिक, शिलालेखका साथै वारिपारि आँखाले भ्याएसम्मका दृश्यको अवलोकन गरी त्यही डाँडामा निर्मित भ्युटावरमा पुगियो । अग्ला डाँडामा भ्युटावर बनाउने नेपाली विकासे रोग त्यहाँ पनि देखियो । अग्ला डाँडामा किन चाहियो भ्युटावर ? अनावश्यक खर्च तर यो रोग त्यहाँ मात्र होइन अन्यत्र पनि देखिन्छ । उहिले बाँदर धपाउन बारीका डिलमा बनाइने मचानजस्ता… । भ्युटावर नजिकको भिरमा जग्गा बिक्रीमा भन्ने बोर्डमा आँखा पुग्यो । त्यस बोर्डमा भएको फोन नम्बरमा फोन गरेर कुरा पनि गरियो । छलु र मापोलाई जग्गा किन्ने हो भनेर जिस्क्याइयो । त्यस्ता ठाउँमा पनि जग्गा दलाली हुन थालेको देख्दा अचम्म लाग्यो । त्यस्ता भिरमा जग्गा किन्न को आउँछ भनी बोर्ड राखिएको होला…। त्यहाँको प्रकृति सुन्दर भए पनि निर्मिति भने कुरूप देखियो तर व्यवस्थापन गर्ने हो भने राम्रो पर्यटकस्थल बन्ने देखिन्छ ।

अरू जेजे भए पनि त्यहाँबाट देखिने फिदिम बजार र वरपरको दृश्य भने मनमोहक नै थियो । पहिले मैले देखेको फिदिम बजारभन्दा अहिले धेरै विस्तार भइसकेछ । हामी त्यहाँ पुगेको थाहा पाएर त्यहाँका सिडिओ मेरा पुराना मित्र मुरारी वस्तीले हामीलाई क्वार्टरमै बोलाए । हामी त्यहाँ निकैबेर गफिएर बस्यौँ । त्यहीँ खाना खाने र बस्ने उनको प्रस्तावलाई स्वीकार गर्न सकिएन किनभने हाम्रो खाने र बस्ने सम्पूर्ण व्यवस्थापन डिएसपी शैलेशले ब्यारेकमै गरिसकेका थिए । रात छिप्पिँदै थियो, मौसम चिसिँदै थियो हामी भने तातिँदै थियौँ । ज्यान राम्रैसँग तताएर सुतियो । मापो चौपट्टै घुरेर हैरान…।

अर्काे दिन बिहान चियाखाजा खाएर हामी ताप्लेजुङतिर लाग्यौँ । त्यतातिरका धेरैजसो ठाउँका नाम लिम्बू भाषामै राखिएका छन् । बाटामा सल्लेरी भन्ने बोर्ड देखियो । सोलुलगायत अन्यत्र पनि यस्ता नाम धेरै ठाउँमा भेटिन्छन् । त्यहाँ ओर्लिएर प्रकृतिमा जलसिञ्चन गरी सल्लेरीलाई पृष्ठभूमिमा राखेर फोटो खिची हामी अगि बढ्यौँ । काबेलीका किनारमा चिया खाई पुल तरेर अगि बढियो । काबेलीपारि सेशम्भु भन्ने ठाउँमा मापोका आफन्त रहेछन् । त्यहाँ उनले डेढ चम्चाजति मह खुवाए र बाटामाथिको भिर डेढ करोडमा बिक्रीमा रहेको बताए । त्यतातिर पनि कोही नयाँ मान्छे देख्नेबित्तिकै जग्गा बिक्रीमा छ भनिहाल्दा रहेछन् । त्यस्ता ठाउँमा पनि जग्गा दलाली…!!

त्यहाँबाट हाम्रो यात्रा फुङलिङ बजारतिर उकालियो । फुङलिङ बजारमा गाडीबाट ओर्लिएर एकछिन बजार डुल्ने, एअरपोर्टतिर जाने, वरपर डुल्ने र त्यतै बास बस्ने योजना बनाइयो । अलिकति अगि बढ्नेबित्तिकै विलु अचानक बिरामी भए । बिराम पनि अनौठो अनुमानै नगरिएको । उनको समग्र शरीर र अनुहार डाबरैडाबरले पूरै सुन्निएजस्तो देखियो । उनी खप्न नसक्ने गरी चिलायो भन्दै जताततै कनाउन थाले र आलसतालस भए । अनुहार, जिउ सबै रातै देखियो । केहीछिन अगिसम्म केही नभई सहीसलामत रहेका विलुको यस्तो हालतले हामीलाई निकै चिन्तित तुल्यायो । त्यहीँ नजिकै देखिएको औषधी पसलमा गएर प्रेसर जाँच्न लगाइयो । उनको प्रेसर यति लो देखायो कि हामी एकछिन त छक्कै पर्‍यौँ । पे्रसर पत्याइनसक्नु भएकाले मैले औषधी पसले भाइलाई यो मेसिन ठीक छैन एकचोटि राम्ररी बुझ्नू भनेँ । त्यहाँ नजिकै अर्काे औषधी पसल र अस्पताल पनि थिएन । विलुलाई एकछिन त्यहीँ बेन्चमै सुताएर सिटामोल आदि सामान्य औषधी खुवाइयो । उनको अवस्थामा सुधार नआएकाले हामी एअरपोर्टलगायत अन्य ठाउँमा घुम्ने योजना रद्द गरी त्यहाँबाट तत्काल फर्कने निर्णयमा पुग्यौँ । उनको प्रेसरमा मलाई पटक्कै विश्वास भएन, त्यति कम प्रेसर हुनै सक्दैन भएमा मान्छे नै हुँदैन । फुङ्लिङ बजारमा आधा घण्टाजतिको सकसपूर्ण बसाइपछि कफी खुवाएर–खाएर हामी फर्कियौँ । त्यहाँ बाटामा बेच्न राखिएका साना कागतीका दाना जत्रा सुन्तला देखिए । तिनै सुन्तला अलिकति किनेर गाडी हुइँक्याइयो ।

विलुको हालत उस्तै भएकाले हाम्रो चिन्ताको पारो झन् बढ्दै गयो । उनलाई सुन्तला खुवाउने विचार गरियो र दुईचार केस्रा खुवाइयो । हामीले पनि मन नलागीनलागी सुन्तला खायौँ, साना सुन्तला त सारै मिठा पो रहेछन् । थोरै किनिएछ भन्ने भयो । अरू किन्न हामी धेरै पर पुगिसकेका थियौँ । विलु इन्तु न चिन्तु भएकाले गाडीको गति बढाइयो । काबेली पुल तर्नेबित्तिकै अचम्मै भयो, उनी निको भएजस्ता देखिए । उनका शरीरमा अगि देखिएका डाबर मात्र होइन चिलाउने पनि सबै हरायो । हामी छक्कै प¥यौँ । काबेलीका ताजा माछा पकाउन लगाएर खाना खाइयो । विलुले त माछासँग एक बोतल खोबि नै सुइँक्याइदिए । खाना पनि टन्नै खाए ।

यो सब डेढ चम्चा महको एलर्जीको करामत जस्तो लाग्यो । जे होस् ताप्लेजुङ घुम्न नपाए पनि विलुलाई जादुजस्तै गरी आएको डाबर र चिलाउने जादुजस्तै गरी नै निको भएकामा हामी खुसी भयौँ । त्यहाँबाट फुङलिङ बजारतिरै फर्कने कि भनी ठट्टा गर्दै हामी फिदिमतिर लाग्यौँ ।
हामी जोरसालको सशस्त्र गुल्ममा आइपुग्यौँ । गुल्मपति शैलेशले त्यस दिन त्यहीँ बस्ने कुरा गरे पनि त्यहाँ नबसी इलाम जाने निधो गरियो र गुल्मपति शैलेशसँग बिदा भएर हिँडियो । जोरसाल बजारका पुराना र नयाँ घरहरू हेर्दै अगि बढियो । २०४० सालतिर पाँचथरमा शिक्षण गर्न पैदल गएका बेलामा देखिएको जोरसाल र अहिले गाडीमा गएको जोरसालमा निकै परिवर्तन भए पनि कतिपय पुराना घर उस्तै रहेछन् । त्यस समय सल्लाको शीतलमा सुस्ताएको र सल्लीपिरमा सुरुली खेलेको सम्झनाले शरीरै सनन भयो ।

कविता आलेले गाएको त्यस बेलाको चर्चित यस गीतको सम्झना आयो:
…जोरसाल बजार जाँदैमा भेट भाको,
बसी खर काटौँ उठी खर काटौँ,
चिठी खसालौँ माया बसालौँ…. ।

यही गीत गुनगुनाउँदैै हामी इलामतिर लाग्यौँ । बाटामा डेढ चम्चा महको करामत, विलुका जादुमय डाबर, बढ्दो जग्गा दलाली र घट्दो मलामी आदि तालबेतालका अनेक गफ गर्दै बेलुकातिर विलुकहाँ पुगियो र ज्यान तात्ने गरी खानपिन गरेर मस्तसँग सुतियो ।

अर्को दिन बिहान विलुकी सानी छोरीलाई समेत लिएर इलामको चियाबगान हेर्न गइयो । फुच्ची निकै हँसिलीरसिली रहिछ । फर्केर इलामका बुद्धिजीवीका रूपमा परिचित युद्ध वैद्यसँग केही क्षण कुराकानी गरियो । त्यहीँ खाना खाएर विलुलाई छोडी हामी तराईतिर झ¥यौँ । यात्रामा विलु पनि निकै रमाइला रहेछन् ।

फर्कँदा जलुकहाँ खाजा खाएर इटहरीतिर जाँदा बाटोबाट मोडिएर पूर्वाञ्चल विश्वविद्यालय छेउको जग्गा पुनः हेरियो । मापोले त्यो जग्गा किन्नु हुँदैन भने, कुरो ठीकै लागेर छोडियो । उनले पहिले नै खनारमा एउटा जग्गा देखाएका थिए । उनका घरमा पुग्नेबित्तिकै जग्गाधनीलाई घरमै बोलाए । त्यसको नक्सा गोजीमै बोकेका रहेछन् तर त्यो त्यति लामो यात्रामा नदेखाई घर फर्केपछि मात्रै देखाए । म छक्क परेँ । जग्गाको नक्सा हेर्नेबित्तिकै मैले नलिने भनिहालेँ । म पुरानो अमिन भएको र नक्सा हेर्न राम्ररी जानेको कुरा उनलाई पनि थाहा भएनछ । बेलुका त्यहीँ खानपिन गरी सुतियो ।

अर्काे दिन बिहान अचानक मोतीपुर कृषि फर्म जाने योजना तय भयो । बिहानै निस्कँदा एउटा जग्गा देखाएर मापो फर्किए हामी विराटनगरतिर लाग्यौँ । विराटनगर पुगेर गुरु बराल र रवीन्द्र वस्तीलाई लिएर त्यहाँबाट दक्षिणपूर्व बाईस किमीजति टाढा रहेको मोतीपुर कृषि फर्ममा गइयो । निकै फराकिलो क्षेत्रमा सञ्चालित कृषि फर्मको रेखदेख र व्यवस्थापन छलुका मामाले गर्दारहेछन् । निकै गफी खालका मामाजीका गफ सुन्दै खाना खाइयो । कृषि फर्मका हाँस, कुखुरा, गाईबाख्रा, माछाको अवलोकन गर्दै वरपर जग्गा पनि हेरियो । त्यहाँबाट विराटनगर–इटहरी फर्कँदा जग्गा हेर्दै इनरुवातिर लागियो, इनरुवामा गोलुले पनि जग्गा देखाए । त्यस रात उनैकहाँ बसियो ।

यतिखेर पूर्वतिर तराईदेखि पहाडसम्म नै जग्गा दलाली पेसाकै रूपमा खुब फस्टाएको देखियो । काठमाडौँको र पूर्वतिरको जग्गा दलालीमा प्रक्रियागत भिन्नता रहेको बुझियो । काठमाडौँमा दलालले जग्गाधनी देखाउँदैनन्, पास गर्ने दिन मात्र भेट गराउँछन् र कमिसनको कुरा पनि सुटुक्क मिलाउँछन् तर पूर्वतिर त कसैले टाढैबाट उ…त्यो जग्गा हो भनेर देखाइदियो वा जग्गाधनीको फोन नम्बर दियो भने मात्र पनि ५ प्रतिशत कमिसन पक्का हुन्छ रे । त्यहाँ को दलाल हो र को दलाल होइन भनेर छुट्ट्याउनै नसकिने अवस्था बनिसकेछ । अरूको त के कुरा आफ्नै भनिएकाको पनि भरोसा नहुने अवस्था, हैट कति गिर्दो मानवीय सम्बन्ध… । बाबुले छोरालाई र छोराले बाबुलाई पनि दलाली गर्छन् रे । आफन्तसमेत जोसुकैले पनि जग्गाको कुरा गरे भने त्यो दलालै होजस्तो लाग्ने वातावरण बनेछ । कतिपयसँग भएको सम्बन्ध र विश्वास पनि जग्गाकै कारण बिग्रिएर मलामी घट्ने अवस्थासमेत देखियो । बिना लगानी राम्रो आम्दानी हुने पेसा बनेछ त्यतातिर जग्गा दलाली । यसपटक बढ्दो दलाली र घट्दो मानवीय सम्बन्धको अनुभव राम्रैसँग गरियो । हुनत अहिले आफन्तपन र मानवीय संवेदना जताततै गिर्दो अवस्थामै छ…।

यतिबेलासम्म हाम्रो गन्तव्यको खासै टुङ्गो थिएन भने अबको गन्तव्य टुङ्गो लागिसकेको थियो । माघ ११ गते दुधौली प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित साहित्यिक तथा भाषिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा मलाई पहिले नै त्यस प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले निम्ता गरिसकेका थिए । हामी बिहानै त्यतातिर लाग्यौँ । तराईको हुस्सु र शीतलहरको कुरा प्रशस्तै सुनिए पनि प्रत्यक्ष अनुभूति गरिएको थिएन । यसपटक त्यसको पनि अनुभूति गरियो । छेवैका गाडी, मान्छे, वस्तु केही पनि नदेखिने गरी हुस्सु लागेकाले अति सुस्त गतिमा हामी अगि बढ्यौँ ।

सप्तकोसी पुल तरेपछि हुस्सु हरायो । दुधौलीकै कार्यक्रममा काठमाडौँबाट गएका पुष्करराज भट्ट र महेश प्रसाईंका परिवारले हामी आउँदै गरेको थाहा पाएर फोन गरे । उनीहरूको जनकपुर घुम्ने योजना रहेछ । मलाई पनि जान आग्रह गरे । हामी मिर्चैयामा भेट्ने सल्लाह भयो । मिर्चैयामा न्यु खुश्बु होटल एन्ड लजमा खाजा खाइयो ।

हाम्रो यस पटकको पूर्वको यात्राका बीचबीचमा अन्य केही व्यक्तिलाई संलग्न गराइए पनि पूरै यात्रा लुइटेलमय थियो । यो लुइटेलीय यात्राको अन्तिम बिन्दु मिर्चैया बन्यो ।

यसपटकको लुइटेलीय लामो यात्रा सुरु गर्दैगर्दाको ड्राइभिङमा छलु फेल भए पनि सप्ताहाव्यापी लामो ड्राइभिङमा विशिष्ट श्रेणीमा पास भए । सारै सुन्दर ढङ्गले गाडी चलाए । अरू जेजे भए पनि मन परेका मान्छेसँगको यात्रा रमाइलो नहुने कुरै भएन, सोचेभन्दा धेरै रमाइलो भयो ।

मिर्चैयाबाट जरुरी काम परेर छलु एक्लै काठमाडौँतिर लागे भने हामीचाहिँ जनकपुरतिर लाग्यौँ । जनकपुरधाम पुगेर रामजानकी मन्दिरको दर्शन र त्यहाँका सन्तमहन्तसँग गफगाफ गरी एकछिन बजार परिक्रमा गरेर हामी दुधौलीतिर लाग्यौँ । म बिए पढ्दा एकजना साथीसँग जनकपुर गएको सम्झिएँ । त्यसबेला बसेका होटलको छेउको पोखरीलाई सङ्केतक मानी डुल्दा जताततै पोखरी देखेर हराइएको थियो । यसपटक त्यसको झझल्को आए पनि हराउनचाहिँ हराइएन । बेलुकीपख दुधौली पुग्दा सबैजसो निम्तारुहरू आइसकेका रहेछन् । मेरी चेली इन्दिरा काफ्ले पनि कामाडाँैबाट आइछन् । उपमेयरमा उठेर पराजित भएकी उनी त्यहाँकी नेतै रहिछन् ।

माघ ११ गते दुधौली प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित साहित्यिक तथा भाषिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भइयो । यो दुधौली प्रज्ञा प्रतिष्ठान गठन भएपछिको पहिलो कार्यक्रम थियो । मैले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेपछि लोकेन्द्र पौडेलको सन्की सिपाही नामक कृतिको विमोचन गर्नाका साथै विभिन्न व्यक्तिलाई प्रमाणपत्र पनि वितरण गरेँ ।

मैले मानक नेपाली भाषासम्बन्धी भएका आन्दोलन र प्राप्त उपलब्धिका साथै वर्तमान विविध विषयमा लामै भाषण गरेँ । कार्यक्रम लामै भए पनि कार्यक्रम नसकिउन्जेल हलभरिका मान्छे मन्त्रमुग्ध भएर बसिरहे । कार्यक्रममा मलाई दुधौली प्रज्ञा सम्मानद्वारा विशेष सम्मान गरियो । पूर्वसासद् गङ्गाप्रसाद नेपाल, उपमेयर बालकुमारी अधिकारी, डा पुष्करराज भट्ट, डा दुर्गाप्रसाद दाहाल, महेश प्रसाईंलगायतले मन्तव्य राखे । स्थानीय नेता र वक्ताहरूले मलाई फेरि बोलाएर भव्य कार्यक्रम गर्ने योजना बताए । सिन्धुलीतिरकाले पनि कार्यक्रम आयोजना गरेर बोलाउने भने । कार्यक्रममा स्थानीय साहित्यकार चेतप्रसाद उपाध्याय, जानुका अञ्जान, टङ्कध्वज थापा, दीपेन्द्र बुढाथोकी, पवित्रा गौतम, रवीन्द्र भट्टराई, रोहित गुरुङ, शारदा पहाडी, हरिकृष्ण काफ्लेलगायत थुप्रै उपस्थित थिए । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मणि काफ्लेले गरेका थिए ।

त्यस दिन त्यहीँ बस्न धेरैले आग्रह गरेका थिए । घर छोडेको निकै दिन भएकाले हिँड्नु नै उपयुक्त ठानियो । कार्यक्रम सकिएपछि केहीछिन चिनजान गर्ने र फोटो खिच्ने काम गरेर हामी नगरपालिकाको गाडीमा काटमाडौँतिर लाग्यौैँ । बीच बाटोमा खाना खाएर घर आइपुग्दा निकै राती भइसकेको थियो । सुरुमा पूरै अनौपचारिक र अन्त्यमा औपचारिक बनेको यसपटकको यात्रा स्मरणीय रह्यो ।