अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 13:07

काल महिमा (कालले घूस लिँदैन)

देव भट्टराई २०७८ फागुन १२ गते १६:५६ मा प्रकाशित

कविता

सुन्ने गर्दछु रोज घाटतिरको चित्कार यो कानले
छोडे देह अरे हिजै पनि कुनै सम्भ्रान्त खेतानले
गोल्छाजी मधुमेहबाट थलिई ओछ्यानमा छन् अरे
आजै जान्छ कि भोलि सास तिनको चर्को समस्या छ रे

त्यो पल्ला घर चौधरी पनि कठै छन् रे बिरामी अति।
घाँटी क्यान्सरले खराब छ अरे बोल्नै नसक्ने स्थिति ।
फोक्सोको उपचार बिग्रिन गयो रे केडियाको पनि
भन्छन् रे कति बाँच्छु बाँच्छु बिचरा यो रोग कस्तो छ नि !

बाजे नाति पनाति मित्रजन वा छोरा र आमा बुबा
के ओली अनि के ढकाल अनि के पौडेल के देउवा ?
के दाहाल खनाल पन्त घिमिरे रेग्मी सुवेदी थरी
पालो आउँछ मर्नुपर्छ सबले संसारमा क्यै गरी ।

के केसी कटुवाल गौतम जिसी थापा थकाली पुरी
के अर्याल धिताल गौचन विसी के लोहनी के गिरी
रानाभाट भुसाल भट्ट अथवा के भट्टराई थरी
सारा मानिस कालको नजरमा जोगी भिखारीसरि

शाही श्रेष्ठ प्रधान के मगर के तामाङ लामा अनि
के शेर्पा अनि के घले गुरुङ के राई र लिम्बू पनि
मर्नैपर्छ ढिलो छिटो यदि सबै नाङ्गै भुतुङ्गै बनी
केका लागि गरिन्छ कुन्नि त यहाँ बेकारको दुश्मनी !

क्षेत्री ब्राह्मण वैश्य शूद्र मनुवा सारा धनी निर्धनी
मन्त्री उच्च पदस्थ राष्ट्रपति वा राजा र रानी पनि
जानै पर्दछ एकवार सबले संसार छोडीकन
कैल्यै घूस लिँदैन काल जसले चिन्दैन कालो धन !

 

#लमजुङ /हाल अमेरिका