अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 21:00

नेपाल बन्द

गोपीराम भण्डारी 'वटुवा' २०७८ फागुन ११ गते १७:४१ मा प्रकाशित

लघुकथा
आज नेपाल बन्द छ । तँलाई थाहा छैन ? कहाँ माग्न हिँडेको ? ओइ जोगी ! हातमा इट्टा उठाएको एउटा युवकले कडकिदै भन्यो । “हरे कृष्ण ! हरे कृष्ण ! मैले त सबै खुल्लै देख्छु त ” जोगीले जवाफ फर्कायो । कुच्चाइदिम तेरो टाउको ? फुटाइदिम तेरा आँखा ? युवकले हिर्काउनै खोज्यो ।

“शान्ति, शान्ति, आवेगमा हैन नौजवान, वेगमा आऊ । तिमीले सटर बन्द गर्‍यौ, बाटो अवरोध गर्‍यौ, सालिक तोड्यौ, छेक्नेहरूको दाँत फोड्यौ । के अव नेपाल बन्द भयो “? जोगीले प्रतिप्रश्न गर्‍यो ? देख्दैनस् बाटोमा ढुङ्गा मुढा, टायर, नारा, जुलुस, क्रान्ति, अनि के भयो त फकिर? युवकले खाउँला जस्तो गरी भन्यो । “तिमीले बन्द गर्दैमा बन्द हुने भए, दिनलाई रात हुनबाट बन्द गर, हावालाई वहनबाट बन्द गर, प्रसव पिडामा तड्पिएका नारीहरूलाई आमा हुनबाट बन्द गर,रोग र भोकले मृत्यु कुरिरहेकाहरूको मृत्यु बन्द गर, पहिचान नगरी मत हाल्ने तिम्रा बेकम्मा हातहरू बन्द गर ।अनि आफ्नै श्वास बन्द गरेर ढुङ्गा हानी हेर ! सक्छौ “? रिसले चुर हुँदै हातको त्रिशूल नचाउँदै युवक तिरै लम्कियो ।

ए ! ए! यता नआइजा ? युवक थोरै पछि सर्‍यो र सुस्तरी नसुन्ने गरी भन्यो, देशकोलागि आन्दोलन गर्दा पनि जङ्गिने ,यो कस्तो पागल जोगी रहेछ ? जोगीले सुनी हाल्यो । “म हैन, तिमीहरू पागल हौ । सही र गलत छुट्टाउन नसक्ने, गु र गोवर नचिन्ने, राष्ट्र, राष्ट्रियता, नेतृत्व र अस्तित्व पहिचान गर्न नसक्ने ? दाल, चामल, नुन, तेल, बेसारको मूल्य वृद्धि नदेख्ने तर पेट्रोलको मूल्य वृद्धि देख्ने । करोडौँ नेपालीको चुलोमा आगो नबलेको नदेख्ने, बन्द हडतालका नाममा दिनभर सडकमा नाच्ने, रात परेपछि सुरा र सुन्दरी खोज्ने, अनि अरूको दिन चर्चा बन्द गर्ने ? लु बन्द गर त !कसरी गर्दा रहेछौ ? युवक अक्क न बक्क पर्‍यो । त्रिशूल नचाउँदै, फतफताउदै जोगी आफ्नो बाटो लाग्यो । युवक आँखाले देखुन्जेलसम्म जोगीलाई हेरी रह्यो । सायद घैटोमा घाम लाग्यो !

प्रतिक्रिया