पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही पशुपन्छी मरेका छन् भने फलेका तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएका छन् ।
पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताउनुभयो । कडरियाले राज्यले किसानलाई दिएको बिमा सुविधा सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताउनुभएको छ । उहाँले असिनाका कारण ती वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिनुभयो ।
असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भौसी मरेका छन् । फार्मको टिनमा असिनाको भार पर्दा सो भााचिएर थिचिँदा भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फार्ममा २० लाख बराबरको क्षति भएको छ ।